भट्टा चलाउन ब्यवसायीद्वारा गलत प्रचार



मोतीराम तिमल्सिना, काभ्रे ।

इट्टा भट्टा उद्योगले बातावरणमा पारेको प्रभाव र मापदण्ड विपरित संचालन भएको भन्दै स्थानीय सरकारले बन्द गर्न दिएको निर्देशन अटेर गर्दै ब्यवसायीहरुले गलत प्रचार गर्न थालेका छन् ।

ब्यवसायी केदार आचार्यले स्थानीय प्रशासन, सरकार तथा सरोकारवाला समेत खरिद गरेकाले जसरी भए पनि भट्टा चलाउने उद्घोष गरेको एक स्थानीयले बताए । श्रोतका अनुसार प्रशासनलाई पैसाकै आधारमा खरिद गर्न सकिन्छ भन्ने आशय ब्यक्त गर्दै भट्टा संचालनका लागि उनले जिम्मेवारी लिएका छन् ।

पछिल्लो पटक नगरपालिकाले प्रहरी राखेरै माईकिङ्ग गरेको समयसिमा आईतबार सकिदै छ । भट्टा उद्योबाट निस्किएको कालो धुँवा र कणले स्थानीयहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याएको प्रमाण सहित नगरपालिकामा गत वर्ष ३३ वटा संस्थाका हजारौ ब्यक्तिहरुले ज्ञापन पत्र बुझाएका थिए ।

खोलाको पानी फोहोर भएको, पानीका मुहानहरु सुक्दै गएको, खेतियोग्य जमिन मरुभूमिमा परिणत भएको तथा मानव स्वास्थ्यमा गम्भिर खेलवाड गरेको स्थानीयहरुको ज्ञापनपत्र उल्लेख गरिएको थियो ।

नमोबुध्द नगरपालिकामा अबस्थित इटटा उद्योगहरुबाट निस्कने धुवाँको परिक्षण सम्बन्धी कार्यको अध्ययन ÷अनुगमन प्रतिवेदन मार्फत भट्टाहरुले संचालन अनुमति प्राप्त गर्दा पालना गर्नु पर्ने कुनै पनि शर्तहरु पालना नगरेकाले तत्काल बन्द गर्न निर्देशन दिईएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।

वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण विभागका प्राविधिक उपसचिव पदमिरा डंगोलले नमोबुद्धमा संचालन भएका इटा उद्योगहरुले नेपाल सरकारले जारी गरेका ऐन, नियम, मापदण्ड उद्योगिहरुले कार्यान्वयन गरेको नपाइएको, उद्योगहरुबाट निस्कने धुवाँको परिक्षण गर्नको लागि चिम्नीमा हुनुपर्ने भ¥याङ र पेलेटफर्म नहुदाँ सवै उद्योगहरु बाट नमूना संकलन गर्न नसकिएको, उद्योगिहरुले उक्त मापदण्डको बारेमा जानकारी नभएको बताएको, शिब शक्ति इटा उद्योग, नमोबुध्द नगरपालिका २ मा स्याम्प्लीङ होल भए पनि नेपाल सरकारले जारी गरेका ऐन, नियम, मापदण्ड अनुरुप स्याम्प्लीङ प्वाईन्ट र स्याम्प्लीङ प्लेटफर्म नभएको, आईईको प्रतिबेदनमा प्रतिबद्धता गरिए अनुसार पालन नगरिएको प्रतिवेदन बुझाएको थियो ।

इट्टा उद्योग बन्द गर्न ३३ वटा संघ संस्थाले ज्ञापन पत्र बुझाएका थिए । स्थानीयहरुले स्वास्थ्यमाथी खेलवाड गर्ने उद्योगलाई तत्काल बन्द गर्न पटक पटक नगरपालिकालाई माग गर्दै आएका थिए ।

बस्ति क्षेत्र र खेतियोग्य जमिनमा भट्टा उद्योग संचालन भएकाले श्वासप्रश्वास सम्वन्धी तथा आँखा सम्वन्धी रोगका विरामीहरुको संख्या थपिन थालेको नगरपालिकाले बताएको छ ।

भट्टाकै कारण अङ्ग प्रत्यारोपण सम्वन्धी अस्पताल निर्माण गर्ने योजना भएर पनि फर्किएको छ भने जसरी भए पनि उद्योग संचालन गर्न पाउनु पर्छ भन्दै ब्यवसायीहरुले जनप्रतिनिधिहरुलाई थ्रेट गर्दै आएका छन् ।

भुकम्प गएको बखत दुई उद्योगलाई दुई वर्षका लागि संचालन गर्न दलिय संयन्त्रले दिएको अनुमतिको दुरुपयोग गर्दै ति उद्योग र अन्य उद्योगले समेत स्थानीयहरुको स्वास्थ्य माथी खेलवाड गरिरहेको नगरपालिकाले जानकारी दिएको छ । पुर्व कर्मचारीहरु यज्ञप्रसाद थपलिया, सरस्वती कार्की र मुरारी सत्यालले समेत ब्यवसायीहरुको प्रलोभनमा ८ वर्ष अघि वितेका ब्यक्तिहरुको नाममा रहेको उद्योग समेत नामसारी गरी संचालन अनुमति दिएको खुलासा भएको छ ।

नमोबुद्धमा भट्टा उद्योगले पारेका असरका बारेमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले नमोबुद्ध नगरपालिकालाई २०७५ जेष्ठ २ गते निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको छ ।

मन्त्री स्तरको निर्णयबाट इट्टा भट्टा उद्योगको दर्ता नविकरण गर्दा स्थानीय तहको कार्यपालिकाको बैठकको निर्णयबाट भएको सिफारिस मात्र गर्न घरेलु विभाग तथा समितिलाई पठाउने, वातावरण विभागबाट अनुमगन गर्दा मापदण्ड पालना नगरेको पाईएमा पालना गरेको ब्यहोराका प्रमाणपत्र नआएसम्म उद्योगको नविकरण नगर्ने निर्देशन दिएको थियो ।

नमोबुद्ध नगरपालिकालाई वातावरण मैत्री नगर बनाउने २०७४ जेष्ठ १० गतेको प्रतिवद्धता पु्रा गर्ने नगर प्रमुख टिपी शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्