आर्मीको जित

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
री सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत त्रिभुवन आर्मी क्लबले टेकबहादुर बुढाथोकीको निर्णायक गोलमा जित हासिल गरेको छ।

शुक्रबार एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराएको हो। टेकले ३१औं मिनेटमा दायाँ विंगबाट टंक बस्नेतले गरेको क्रसमा टेकले पुलिसका गोलकिपरलाई बिट गर्दै गोल गरेका थिए। यो आर्मीको दोस्रो जित हो भने पुलिसले पहिलो हार बेहोरेको छ।

यसअघि भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–१ गोलअन्तरले हरायो। सबै गोल दोस्रो हाफमा भएका थिए। रुपबहादुर लामाले ६०औं मिनेटमा गोल गरेर एपीएफलाई १–० ले अग्रता दिलाए तर ११ मिनेटको अन्तरालमा ३ गोल फर्काएर बीबीसीले जित हात पारेको थियो। ६४औं मिनेटमा मनोज राईले करिब २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएपछि खेल १–१ बराबरीमा पुग्यो। त्यस्तै ६९औं मिनेटमा ताजुडिन अडुकुनीले ६ यार्डबाट गोल गर्दै बीबीसीलाई २–१ को अग्रतामा राखे। ७५औं मिनेटमा काजिन अडेगोकेले थप गोल गरेपछि एपीएफले हार बेहोर्न बाध्य भयो। साथै अन्तिममा विश्वास उदासले रातो कार्ड पाएपछि एपीएफले अन्तिममा १० खेलाडीबाट खेल्नुपरेको थियो।

यसै गरी हल्चोकस्थित सशस्त्र मैदानमा भएको खेलमा संकटा क्लबले मच्छिन्द्र क्लबलाई २–० गोलअन्तरले हरायो। यो जितसँगै प्रतियोगितामा तीनै खेलमा जित हात पार्ने संकटा दोस्रो टोली बनेको छ। पहिलो टोली मनाङ मस्र्याङ्दी क्लब हो। ६४औं मिनेटमा नितिन थापाले लक्ष्मण रुचालको क्रसमा डाइभ गर्दै हेडमार्फत गोल गरेका थिए। ८५औं मिनेटमा अमित तामाङले पेनाल्टी गोल गरेपछि संकटाको जारी लिगमा शतप्रतिशत यात्रा बनेको छ। मच्छिन्द्रका गोलकिपर दीप कार्कीले सेडरिक अबालाई पेनाल्टी क्षेत्रमा लडाएपछि संकटाले पेनाल्टी हान्ने मौका प्राप्त गरेको थियो।

अंक तालिकामा ९÷९ अंकका साथमा मनाङ र संकटा क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्। आर्मी ७ अंकसहित तेस्रो स्थानमा छ भने थ्रीस्टार ६ अंक बनाएर चौथो स्थानमा रहेको छ। हारपछि पुलिस र एपीएफ ४ अंकसहित क्रमशः सातौं र आठौंमा तथा मच्छिन्द्र २ अंकसहित १०औं स्थानमा छन्।

Skip This