प्रसिद्ध त्रिपुरा सुन्दरी मेला बिहीवारदेखि



विनोद सिंह विष्ट, बैतडी ।
सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यमा पर्न सफल बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा बिहीवारदेखि भव्य जात्रा लाग्ने भएको छ ।

दशरथ चन्द नगरपालिका ८ स्थित त्रिपुरा सुन्दरी भगवती मन्दिरमा बिहीवार र शुक्रवार गरी दुई दिनसम्म जात्रा लाग्ने जनाएको छ । त्रिपुरा सुन्दरीको दर्शन गरेमा मनोकामना पूरा गर्ने, घमण्डी र दुष्टको मानमर्दन गर्ने, निर्धा र गरीवको कल्याण गर्ने विश्वास गरिएको छ ।

मेलालाई व्यवस्थित र मार्यादित बनाउन मेलास्थलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको त्रिपुरा सुन्दरी मेला ब्यवस्थापन समितिका गणेश सिंह थापाले बताए ।

कार्तिक जातको रुपमा मानिने त्रिपुरा सुन्दरी मेलामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत हजारौको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नौ महत्व रहेको छ । शक्तिशाली भगवती त्रिपुरा सुन्दरीको मन्दिरमा अषाढ महिनामा अषढी जात, साउन अथवा भदौमा रक्षावन्धनका दिन वोगाल, कार्तिक शुक्ल नवमीका दिन कार्तिक जात खोलिन्छ । असोज र चैत्रको नवरात्रीमा परेवोखी दशमीसम्म नियमित पूजा लाग्दछ । कार्तिकको जातका अवसरमा माताको सम्मानमा रांगावली र वोकावली समेत गरिन्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि छनौट गरेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यमा बैतडीको त्रिपुरासुन्दरी स्थापितमा परेको छ ।

बैतडीको त्रिपुरासुन्दरी सहित सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १० वटा नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय क्षेत्र छनौट गरिएको हो । यस्तै १० वटा स्थापित तथा प्रवद्धन गर्नुपर्ने पर्यटकीय क्षेत्र पनि छनौट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्