पर्वतका सबै स्थानिय तहमा टेलिफोनसेवा बिस्तार



नेपाल समाचारपत्र, पर्वत ।
विगतमा यहाँको सदरमुकाममा मात्रै सीमित नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा अब ग्रामीण क्षेत्रमा विस्तार हुन लागेको छ।
सेवा विस्तार गर्न जिल्लाका सबैजसो स्थानीय तहमा प्राविधिक टोली र उपकरण र्पुयाइसकेको टेलिकमको पर्वत शाखाले जनाएको छ ।

स्थानीय तहको व्यवस्था कार्यान्वयनसँगै गाउँ गाउँमा खुलेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा व्यावसायिक कारोबारका लागि ल्यान्डलाइन फोन र इन्टरनेटको माग छ ।

मागअनुसार स्थानीय तह कार्यान्वयन भएको डेढ वर्षको अवधिमा जिल्लाका दुई बाहेक सबै स्थानीय तहमा फोन र इन्टरनेटको सेवा विस्तार भइसकेको शाखाका निमित्तप्रमुख केशव
भुसालले बताए ।उनका अनुसार पैयुँ, मोदी र जलजला गाउँपालिकामा टेलिकमका सबै सुविधा र्पुयाइएको छ ।

‘माग भएका सबै स्थानीय तहमा हाम्रा सेवा पुगेका छन्’ उनले भने, ‘अहिले हामी फलेवासमा काम गर्दैछौं । प्राविधिक काम सकेर तिहारभित्रै सेवा दिने तयारी साथ लागेका छौं ।’ फलेवासको मुख्य बजार देवीस्थान, खानीगाउँ, राहाले, कमलेबजार र मुडिकुवा लगायतमा दुई सयवटा ल्यान्डलाइन फोन वितरण गर्न लागिएको उनले बताए ।

यसअघि टेलिकमले पैयुँ, मोदी र जलजला गाउँपालिकामा समेत ल्यान्डलाइन सेवा विस्तार गरिसकेको जनाएको छ । सदरमुकाम कुश्मामा पुरानै सेवा छ । टेलिकमका अनुसार कुश्मामा ल्यान्डलाइन प्रणालीको फोनका करिब १ हजार ५ सय उपभोक्ता छन्।

त्यस्तै पैयुँमा दुई सय, जलजलामा १ सय ५० र मोदीमा तीन सय लाइन फोन विस्तार गरेको छ । ल्यान्डलाइन टेलिफोनसँगै एडीएसएल इन्टरनेट वितरण गर्ने भएकाले उपभोक्ताको माग बढेको टेलिकमका प्राविधिक बताउँछन।

‘टेलिफोनभन्दा इन्टरनेटको माग बढी आएको छ,’ प्राविधिक जगन अधिकारीले भने, ‘फोनको पैसाले इन्टरनेट चलाउन सकिने भएकाले उपभोक्ता इन्टरनेटका लागि फोनको माग गर्छन्।’
घरघरै टेलिफोन र इन्टरनेटको सहज भएपछि यसअघि सञ्चारका लागि महँगो शुल्क तिर्दैआएका उपभोक्ताहरु खुसी छन् । ‘फोनका लागि घण्टौं हिँडेर कुश्मा पुग्नुपर्ने अवस्था भोगियो,’ फलेवास ६ खानीगाउँकी इन्द्रावती क्षत्रीले भनिन्, ‘हातहातै मोबाइल भएर सजिलो थियो । अब घरघरै इन्टरनेट भएपछि झनै सहज हुने भयो ।’

विदेशिएका परिवारका सदस्य र टाढा रहेका आफन्तसँग बातचित गर्न सहज हुने भएपछि अहिले गाउँमा फोन लाइन जडानमा चासो बढेको छ । देवीस्थानका पूर्णकुमार श्रेष्ठले घरघरै टेलिफोन र इन्टरनेट आउने खबरले खुसी लागेको बताए ।

टेलिकमले ल्यान्डलाइन सेवा नपुगेका गाउँमा समेत वाईम्याक्सको इन्टरनेट विस्तार धमाधम भइरहेको जनाएको छ । ‘पहिला सीमित डाटा थियो,’ निमित्त प्रमुख भुषालले भने, ‘अहिले वाईम्याक्समा पनि अनलिमिटेड सर्भिस सुरु गरिएको छ ।’

सयवटाभन्दा बढी टेलिफोन र इन्टरनेट सेवा माग भएमा ल्यान्डलाइन सेवा विस्तार गरिने टेलिकमले जनाएको छ । त्योभन्दा कम माग भएमा ताररहित वाईम्याक्स इन्टरनेट विस्तार गर्ने योजना रहेको भुषालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्