गाईघाटमा प्रहरीको एक्सनः मान्छे बोकेर हिँड्ने २ दर्जन ट्र्याक्टर समातिए



गाईघाट,  उदयपुरमा तिहार समाप्त हुनेबितिकै ट्र«्याक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८ मा ट्र्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु र ३४ घाइते भएपछि आजदेखि प्रहरीले उदयपुरमा ट्र्याक्टरमा मान्छे बोकेर पिकनिक लाने र मान्छे चढाएर ओसारपसार गर्ने कार्यमा प्रतिबन्ध लगाएको छ ।

यसै क्रममा आज बिहान प्रहरीले जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मानिस बोकेर हिँडेको एक दर्जन जति ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी जिल्लाको त्रियुगा नगरपालिका– २ भुल्केबाट तीन वटा ट्र्याक्टर, देउरी र बगाहा मोतिगडा क्षेत्रबाट सात वटा ट्र्याक्टर, पूर्वी क्षेत्रको बेल्टार बसाहा क्षेत्रबाट छ वटा र कटारी क्षेत्रबाट पनि पिकनिकका लागि मान्छे चढाएर सञ्चालन गरेको ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताउनुभयो ।

अहिले गाईघाटलगायत जिल्लाको सबै क्षेत्रमा मान्छे बोकेर हिँड्ने ट्र्याक्टरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी गाईघाटका प्रमुख अमित कार्कीले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्