दशैं तिहारमा २ सय ८१ सवारी कारवाहीमा, २ लाख राजश्व संकलन



नेपाल समाचारपत्र , पर्वत ।
जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतको संयुक्त चेकजाँचका क्रममा दशै तिहारमा मात्रै पर्वतमा २ सय ८१ सवारी साधन तथा चालकलाई कार्बाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार ती कार्बाहीबाट २ लाख २९ हजार राजश्व समेत संकलन भएको छ ।

जिल्ला ट्राफिक कार्यालय पर्वतले जिल्ला प्रहरी कार्यालय पर्वतको समन्वयमा दुर्घटनामुक्त चाडपर्व अभियान सञ्चालन गरेको थियो । दशै भन्दा केही दिन अघि देखि प्रहरीले विगतका बर्षमा घटेका घटनाहरुलाई मध्यनजर गर्दै उक्त अभियान कडाईका साथ लागु गरेपछि कार्बाही संख्या बढेको हो ।

प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ९ चालकलाई कार्बाही गरेको छ । जसमध्ये बेनीदेखि विरगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ७०३० नम्बरको यात्रुवहाक बसका चालक दलबहादुर पन्तलाई सार्वजनिक मुद्धा समेत दायर गरेको छ । पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा वस अनियन्त्रित हुन गई सोही बसमा सवार बागलुङ नगरपालिका १० की २३ बर्षिय गिता परियार वसबाट खसेर घाइते भएकी थिइन् । पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रमाणित भएपछि कार्बाहीका लागि मुद्धा दायर गरेको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।

कार्बाही मध्ये प्रहरीले बढी भाडा लिएको भन्दै ७ र क्षमता भन्दा बढी यात्रु बोकेको भन्दै ४० सवारीलाई कार्बाही गरेको छ भने अन्य २ सय २५ सवारीलाई विभिन्न कसुरमा कार्बाही गरेको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्