घरेलु टोली पोखराको दोस्रो हार

0
Shares

विजय नेपाली, पोखरा
पोखरा रंगाशालामा जारी नमस्ते पोखरा प्रिमियर लिग ( पीपीएल ) मा दर्शकको साथ पाए पनि घरेलु टोली पोखरा पल्टनले दोस्रो हार व्यहोरेको छ।

लिगअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा एक्सपर्ट धनगढीले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको हो। १ सय ४५ रनको लक्ष्य पछ्याएको धनगढीले ८ विकेट गुमाउँदै २० ओभरको अन्तिम बल बाँकी रहँदा लक्ष्य पुरा गरेको थियो। धनगढीका लागि पिटर टेगोरले ३४ बलमा ५२ रन बनाएर सर्वाधिक योगदान दिए। उनको अर्धसतकीय इनिङमा ५ चौका र ४ छक्का सामेल थिए। त्यस्तै टिमका कप्तान दिपेन्द्र सिंह ऐरीले पनि २६ बलमा ४ चौका, ४ छक्का प्रहार गरी नटआउट रहँदै ४९ रन जोडेका थिए। म्यान अफ द म्याच दिपेन्द्र घोषित भएका थिए। बलिङतर्फ पोखराका रसिद खानले ४ तथा ललित राजबंशी र विक्रम भुषालले समान २–२ विकेट लिएका थिए।

यसअघि टस जितेर पहिले व्याटिङ रोजेको पोखराले ८ विकेट गुमाउँदै १ सय ४४ रन मात्र बनाउन सक्यो। खराव शुरूआत गरेको पोखराका लागि छैटौं व्याटस्म्यानका रूपमा मैदान छिरेका रोहित पौडेलले ३१ रनबाहेक अन्यले गतिलो रन जोड्न सकेनन्। पौडेलले २१ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। अन्यमा असिफ सेख २३ रनमा आउट भएका थिए। कप्तान सरद भेष्वाकर पनि मैदानमा टिक्न सकेनन्। उनले ११ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन मात्र जोड्न सके। त्यस्तै रवि इन्दर सिंह २४, विनोद भण्डारी ७ रनमा पवेलियन फर्के। बलिङमा धनगढीका कमल सिंह ऐरीले ४ तथा पिटर टे«गो, रोविन क्षेत्री र ड्यानियल लवरेन्सीले समान १–१ विकेट लिए।

त्यस्तै दोस्रो खेलमा हुलास काठमाडौंले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको छ। एक सय ७३ रनको लक्ष्य पाएको बुटवल दवावमा खेल्दै ९ विकेट गुमाएर एक सय ३५ रनमै सीमित भएको थियो। टस जितेर व्याटिङ रोजेको काठमाडौंले नरेश बुढाऐरको ५८ रनको सहयोगमा एक सय ७२ रन बनाएको थियो। म्यान अफ द म्याच नरेशले २८ बलमा ३ चौका, ६ छक्का प्रहार गरेका थिए। कप्तान ज्ञानेन्द्र मल्ल २५ रनमा नटआउट रहे। ओपनर जयकृष्ण कोल्सवालले ४५ रन बनाए। बुटवलका बलरमा विपिन खत्रीले २, रोहन मुस्तफा र साम्सद सेखले समान १–१ विकेट लिए।

बुटवलका लागि रोहन मुस्तफाले ६१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। सागर पुन १, चिराग सुरी ११ भीम सार्की १२, सिद्दनाथ लोहनी १३, कप्तान सोमपाल कामी ४, शंकर राना ४,प्रकाश केसी ९ साम्सद सेख र अभिनाष वोहोरा समान १–१ रनमा पेलिभियन फर्किए। काठमाडौँका अमर राउटेलाले ३, वसन्त रेग्मी र नन्दन यादवले समान २–२ तथा गौरव तमोरले १ विकेट लिए।

हारसंगै बुटवल दोस्रो स्थानमा रहेको छ। ३ खेलमा जित निकालेको धनगढी लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पाँच खेल खेलेको धनगढीको ३ मा जित र २ खेलमा हारसहित ६ अंक रहेको छ। चार खेल खेलेको पोखरा २ मा जित र २ खेलमा हार व्यहोर्दै ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ। समान खेल खेलेको चितवन रन रेटको आधारमा चौथौँ स्थानमा रहेको छ। चार खेल खेलेको विराटनगर टाइटन्स १ खेलमा जित र ३ खेलमा हार व्यहोर्दै २ अंकका साथ तालिकाको अन्तिम स्थानमा रहेको छ।

Skip This