विगत केही सातादेखि चिनीमा ठूलो चलखेल भएका खबर निरन्तररूपमा सार्वजनिक हुँदै आएका छन्। चाडबाडलाई लक्षित गरेर चिनी उद्योगीसँग मिलेमतो गरी सरकारी निकायले नै चिनीमा चलखेल गरेको पुष्टि भएको छ। सरकार र चिनी उद्योगीको मिलेमतोमै चरम मूल्य वृद्धि गरेको निष्कर्ष संसद्कै सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन गर्न बनेको उपसमितिले निकालेको छ। सो उपसमितिले संसदीय समितिमा प्रतिवेदन बुझाउँदै आर्थिक चलखेल पुष्टि गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न निर्देशन दिनुपर्ने सुझावसमेत दिएको छ।
यसअघि पूर्ववाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका सांसद लेखराज भट्टले चिनीमा चलखेल गरी चिनी आयातमा परिमाणात्मक बन्देज लगाउँदा १ अर्ब ६९ करोड रुपियाँको चलखेल भएको दाबी गरेका थिए। गत वैशाखमा चिनी उद्योगले फ्याक्ट्री मूल्य ५३ रुपियाँ प्रतिकिलो (भ्याटबाहेक) मा बेचेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुगमन प्रतिवेदनमा देखिन्छ।
सोहीअनुसार पनि चिनीको बजार मूल्य बढीमा ६३ रुपियाँ पर्ने उपसमितिको अध्ययनले देखाएको छ। चाडपर्वको समयमा चिनी तथा उपभोग्य वस्तुको बजारभाउ नियन्त्रण गर्न गठित उपसमितिले चिनी उद्योगले मूल्यमा कार्टेलिङ गरेको र त्यसमा सरकारी निकायले सहयोग गरेको उल्लेख गरेको छ। सरकारले जथाभावीरूपमा बढेको मूल्यका विषयमा हस्तक्षेप गर्नुपर्नेमा उल्टै चिनी उद्योगीलाई सहयोग गर्नुले चिनीमा चर्को चलखेल पुष्टि गरेको छ।
सरकारको काम भनेको उपभोक्ताको हित हुने गरी भएका सम्झौता कार्यान्वयन गर्नु हो। तर, चिनीको मूल्य वृद्धिमा व्यापक चलखेल हुँदा पनि सरकारले चिनीको मूल्यका विषयमा गम्भीररूपमा अनुगमन गर्न सकेको छैन। सुपरमार्केटमा धमाधम प्रतिकेजी ५९ रुपियाँमा बिक्री भइरहँदा सरकार भने गर्वका साथ चिनीको मूल्य ७० रुपियाँ तोक्छ। निजी व्यापारीले बेचेको मूल्यभन्दा कम मूल्य तोक्न नसक्ने निरीह सरकारले जथाभावीरूपमा बढेको मूल्यका विषयमा पनि हस्तक्षेप गर्न सकेको छैन। सरकारले साउन अन्तिम साता १ लाख मेट्रिक टन मात्र चिनी आयात गर्न पाउने प्रावधान राखेको थियो। उक्त परिमाणको चिनी आयात भइसकेको अवस्थामा पनि चिनीको मूल्य चरमरूपमा वृद्धि हुनुमा आर्थिक चलखेलबाहेक अन्य कुनै कारण जिम्मेवार छैन।
सरकारले व्यवसायीको प्रभावमा परेर चिनी आयातमा ३० प्रतिशत भन्सार कर पुर्याएको छ। साथै चिनी आयात रोकी मूल्य वृद्धि गर्न सहयोग गरेर उपभोक्ताको ढाड सेक्ने काम गरेको छ। अहिले बजारमा १२ वटा चिनी उद्योगको हालिमुहाली छ। तिनै उद्योगीसँग मोटो रकम सम्झौता गरी अर्थसहित सम्बन्धित मन्त्रालय र मातहतका विभागको मिलेमतोमा चिनीमा कार्टेलिङ भएको उपसमितिको ठहर छ।
स्वदेशी चिनी उद्योगीलाई प्रोत्साहन गर्नका लागि चिनी आयातमा बन्देज लगाएको सरकारले त्यही मौका छोपेर बजारमा चिनीको मूल्य वृद्धि गराएको छ। चिनी उद्योगीले उखुको भुक्तानी नदिने र सरकारले दिएको अनुदानको समेत भुक्तानी नदिँदा उखु किसान मर्कामा परिरहेका छन्। सरकारले किसानलाई दिने अनुदानबापतको १ अर्ब २८ करोड रुपियाँ उद्योगीको खातामा जम्मा गरे पनि उक्त रकमसमेत किसानलाई नदिएर उद्योगीले दादागिरी देखाएका छन्।
सरकारी निकायसँगको मिलेमतोमा चिनी उद्योगीको कार्टेलिङविरुद्ध संसद्को उपसमितिको प्रतिवेदनअनुसार अख्तियारले छानबिन थाल्नुपर्छ। गैरकानुनीरूपमा सञ्चालित चिनी गोदाम सिलबन्दी गरी उपभोक्तालाई राहत हुने गरी चिनीको मूल्य निर्धारण गर्नुपर्छ। केही उद्योगीलाई मात्र फाइदा पुग्ने गरी भएको सम्झौता तोड्दै चिनी आयातमा लगाइएको पूर्ण बन्देज हटाउँदै चिनीमा भएको चलखेल पूर्णरूपमा निस्तेज गर्नु जरुरी देखिएको छ।
– सागर मरासिनी, वीरगन्ज।
तिहारमा स्वास्थ्यको ख्याल गरौं
खानपानका कारण विश्वमा धेरै मानिस रोगी हुँदै गइरहेका छन्। नियमित खाने खानेकुरामा ध्यान नदिनु र स्वास्थ्यप्रति सचेत नहुनुका कारणले बर्सेनि धेरै मानिस रोगी हुनुका साथै अकालमा ज्यान गुमाउँदै गइरहेका विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ। खान नपाएर मर्ने मानिसभन्दा धेरै खाएर मर्नेहरूको संख्यासमेत बढी रहेको सर्वेक्षणले देखाएको छ। नेपालमा खानपिन नमिलाएर धेरै रोगी बनेका छन्। भर्खरै दशैं सकिएको छ। तिहार नजिकिएको छ। तिहारमा चिल्लो खानेकुरा धेरै हुने गर्छ। यसमा सबैले ध्यान दिनु जरुरी छ। मानिसले दैनिक गर्ने आहार विहारका कारण उसको जीवन कस्तो छ भनेर थाहा पाउन सकिन्छ। खानपानमा ध्यान नदिने कारणले गर्दा नै मानिसलाई मधुमेह, रक्तचाप, हृदयघातजस्ता रोग लाग्ने गरेका छन्।
हामी नेपालीमा सन्तुलित भोजन गर्ने बानी छैन। नहुँदा भोकभोकै बस्ने र पाएको बेलामा एकैपटक धेरै खानेकुरा खाने गर्दछौं जसका कारण शरीरको पाचन प्रक्रियामा समेत समस्या आउने गर्दछ। शरीरलाई चाहिनेभन्दा बढी पौष्टिक तत्व पाएपछि यसले विकारको रूप लिन्छ। जुन विकार अनावश्यकरूपमा शरीरमा बोसो बनेर बस्छ। यसरी बसेको बोसो रगतमा समेत जम्मा हुन थालेको अवस्थामा मानिस गम्भीर प्रकारको बिरामी हुन्छ। समयमा खाना खाने, सन्तुलित खाना खाने, पर्याप्त मात्रामा पानी खाने, नियमितरूपमा व्यायाम गर्ने बानीको विकास गर्न सकियो भने हामी निरोगी हुनुका साथै फूर्तिलोसमेत हुने गर्दछौं।
तिहार, छठजस्ता ठूला पर्वमा अब सबै सचेत हुनु जरुरी छ। तिहारमा अत्यधिक मासु, चिल्लो रोटीको र मदिराको सेवन हुने गर्छ। स्वास्थ्यका दृष्टिकोणले एकजना मानिसले दैनिक २ सय ग्रामभन्दा बढी मासु सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन। वर्षभरि मासु खान नपाउने घरमा समेत दशैंमा एकैपटक धेरै मासु ल्याउने चलन छ। मासुलाई पकाएर धेरै दिनसम्म राख्दा यसले स्वास्थ्यमा समस्या निम्त्याउने विशेषज्ञ डाक्टरको भनाइ छ। थोरै मासु ल्याउने तर ताजा खाने बानीको विकास गर्न सकियो भने पनि स्वास्थ्यलाई हानी नगर्ने चिकित्सक बताउँछन्।
– अमृता खनाल, काठमाडौं।