निर्मला पन्त बलात्कार–हत्या काण्ड: छानविन समितिका सदस्यको राजीनामाप्रति छानविन हुने



बनेपा । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले आफ्नै सुरक्षाको माग गर्दै राजीनामा दिएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यस विषयमा छानविन गर्ने बताएका छन् ।

जिल्ला सहकारी संघ, काभ्रेको साधारणसभामा सहभागी हुन आएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजीनामाले आफूलाई गम्भीर बनाएको भन्दै किन राजीनामा आयो भन्ने विषयमा छानविन हुने पनि जानकारी गराए ।

छानविन समितिका सदस्य वीरेन्द्र केसीले सोमबार राजीनामाको घोषणा गरेका थिए । प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका उनले समितिको म्याद थप भएकोमा असन्तुष्टि जनाउँदै घटनाका मुख्य अपराधीबाट आफूलाई असुरक्षा भएको दाबी गरेका छन् ।

अर्को प्रसंगमा बोल्दै थापाले मन्त्री हेरफेरको हल्ला निराधार भएको बताए । उनले भने–‘प्रधानमन्त्रीले स्पष्ट पारिसक्नु भएको छ, सरकारमा कुनै फरबदल हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्