यमलाल भुसाल, बुटवल
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारिताको पक्षमा कांग्रेस रहेको बताउनुभयो ।
उहाँले स्वतन्त्र पत्रकारिताकामाथि हस्तक्षेप हुन नदिने समेत बताउनुभयो । सभापति देउवाले पार्टीगत आस्था भन्दा माथि उठेर पत्रकारिता गर्न सुझाव दिंदै कांग्रेस संधै प्रेस स्वतन्त्रको पक्षमा उभिने स्पष्ट पार्नुभयो ।
बुटवलको बुद्ध टेलिभिजनको एघारौं वार्षिक उत्सव समारोहलाई शनिवार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले पांँच नम्बर प्रदेशमा रहेका संचार माध्यमले बुद्ध दर्शन र बुद्ध शिक्षालाई प्रचार गर्न सुझाव दिनु भयो । मुलुकमा शान्ति र स्थिरताका लागि बौद्ध दर्शनको प्रचारप्रसार आवश्यक आवश्यक रहेको बताउनु भयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले कुनै दलका नेताको निर्देशनमा संचारमाध्यम माथि हस्तक्षेप गरेको आफूले जानकारी पाएको उल्लेख गर्दै देउवाले त्यसमा आपत्ति जनाउनुभयो । ‘हामी त्यस्ता सिडिओलाई कारवाही गरेरै छाड्छौं’, देउवाले भन्नुभयो– ‘यो कुरा म काठमाडौं गएर पनि उठाउँछु ।’
कार्यक्रममा बोल्दै कांग्रेसका प्रम्ुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र कसैले सार्न नसक्ने बताउनु भयो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका नेता एवं संघीय संसदका सभामुख कृष्णबहादुर महराले प्रदेशको राजधानी बुटवलबाट अन्त्यै सार्छौं भन्ने अभिव्यक्ति बेलाबेलामा दिइरहेको उल्लेख गर्दै त्यो प्रयास सफल नहुने स्पष्ट पार्नुभयो ।
भैरहवामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थलको जिल्ला, प्रशस्त भौतिक पुर्वाधारका कारण प्रदेशको स्थायी राजधानीका लागि बुटवल नै उपयुक्त भएको खाँणले तर्क गर्नु भयो ।
सचेतक खाँणले वर्तमान सरकारबाट स्वतन्त्र प्रेसमाथि प्रहार भइरहेको बताउँदै सरकारको आलोचना र विरोधमा समाचार लेखेका भरमा अन्तर्वाता गरेका आधारमा पत्रकारहरुलाई जागिरबाट निकालिएकोमा आपत्ति जनाउनुभयो ।
स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएकाले कांग्रेसले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि काम र निर्णय हुन नदिने बताउनु भयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य भरतकुमार शाहले वर्तमान सरकारले हरेक क्षेत्रमा चर्को कर लगाएर नागरिकलाई मर्कामा पारेको बताउनु भयो ।
सो अवसरमा नेकपा प्रदेश संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठले बुटवललाई प्रदेश ५ को अस्थायी राजधानी तोकेकोमा देउवालाई धन्यवाद दिनु भयो । देउवा प्रधानमन्त्री रहेको यसअघिको सरकारले सातै प्रदेशको अस्थायी मुकाम तोक्ने निर्णय गरेको थियो । उहाँले प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र लैजान खोजिए विगतको जस्तै सशक्त आन्दोलन चर्किने चेतावनी समेत दिनु भयो । प्रदेश ५ को सिमांकनमा पहाडका जिल्लालाई नराखिएपछि बुटवलमा आन्दोलन चर्केको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले वर्तमान सत्ता बांदरको हातमा पुगेको आरोप लगाउनु भयो । उहाँले चुड्किला र उखानमा रमाएर विचार नपु¥याई भोट हाल्दा जनता अहिले करको मारमा परेको दावि गर्नु भयो ।
टेलिभिजनका अध्यक्ष पृथ बहादुर फौजदारको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल लगायतले आआफ्ना धारणा राख्नु भएको थियो । टेलिभिजनले बाँकेका अग्रज पत्रकार पन्नालाल गुप्ता, बुटवलका साहित्यकार जंग बहादुर शाह, गायीका मना छन्तेल र लन टेनिस प्रशिक्षक विकास खड्कालाई नगद सहित सम्मान गरेको उपसभापति ओम ज्ञवालीले बताउनु भयो ।











प्रतिक्रिया