राज्यको दायित्व र विद्यार्थीको भविष्यलाई ध्यानमा राख्न आग्रह



नेपाल समाचारपत्र
काठमाडौं
पूर्व शिक्षामन्त्री एवम् उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य धनीराम पौडेलले राहत शिक्षकका मागहरु पूरा गर्नको लागि आफु प्रयत्नशील रहेको बताउनुभएको छ ।

राहत शिक्षक केन्द्रीय समितिले आयोजना गरेको राहत शिक्षकको पेशागत हतहित एवम् नीतिगत व्यवस्थापन विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले यस्तो धारणा राख्नुभएको हो । उहाले ‘राज्यबाट शिक्षकले आफू अनुकुलको सेवा सुविधा पाउँदै गर्दा राज्यको दायित्व र विद्यार्थीको भविष्यलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षक दरबन्दी पुनःवितरण कार्यदलका संयोजक एवम् पूर्व शिक्षा सचिव महाश्रम शर्माले राहत शिक्षकहरुको आन्दोलनले नीतिगत आकार लिनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो– शिक्षकहरुको वर्गीकरणको अन्त्य हुनु आजको आवश्यकत्ता हो, पछिल्लो समयमा यसको अन्त्य हुने क्रम जारी छ, सबै शिक्षक मिलेर विद्यार्थीहरुको भविष्य सुन्दर बनाउन तर्फ लाग्नुपर्छ।’
नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले राहत शिक्षकले उठाएका मागहरुका बारेमा महासंघ सकारात्मक रहेको बताउँदै जिम्मेवार ढंगले अघि बढ्ने बताउनुभयो । राहत शिक्षक र अस्थायी शिक्षकको पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउँदै उहाले भने,शिक्षाको क्षेत्रमा राहत शिक्षकले आफ्नो ऊर्जाशील समय बिताएकाले राहत शिक्षको उचित व्यवस्थापन हुनुर्नेमा जोड दिनुभयो ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकहरुले उठाएका मागहरु पूरा नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । ‘हामीले यही भदौ २३ गतेसम्म सरकारलाई हाम्रो अवस्था र मागहरुका बारेमा जानकारी गराएका छौं, यदि सरकारले भदौ २३ गतेभित्र हाम्रा मागहरु पूरा गरेन भने आन्दोलनले बिशाल रुप लिन्छ–उहाको चेतावनी थियो ।

‘प्रधानमन्त्रीले आईसिटी कार्यक्रम ल्याउनुभयो, त्योपनि हामीजस्ता राहत शिक्षकले पढाईरहेका छौं,४० हजार संख्यामा रहेका राहत शिक्षकहरुले गणित, विज्ञान, अंग्रेजी र कम्प्युटरलगायतका महत्वपूर्ण विषयहरु मल्टी मिडियाद्धारा पढाईरहेका छौं यस्तो अवस्थामा सरकारले राहत शिक्षकको समस्या समाधान गर्ने विषयमा बोल्न नसक्नु गलत प्रवृति हो–उहाले भन्नुभयो
कार्यक्रममा उच्चस्तरीय शिक्षा आयोगका सदस्य डा. बाबुराम अधिकारी, लक्ष्मण शर्मा, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीलगायतले राहत शिक्षकले उठाएका माग र आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आफ्ना धारणाहरु राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्