म्याग्दीमा पर्यटकको आगमन बढ्यो, पर्यटकीयस्थलमा पूर्वाधार नहुँदा समस्या



प्रताप बानियाँ, म्याग्दी
म्याग्दीमा गत आर्थिक वर्ष २०७४÷७५ मा जिल्ला भ्रमण गर्ने बाह्य पर्यटकहरुको आगमन बढेको छ । विनाशकारी भूकम्पपछि विगतका वर्षको तुलनामा गतवर्ष म्याग्दी भित्रिने र बाहिरिने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

गएको वर्षमा कुल ७४ हजार १६३ जना पर्यटकहरुले म्याग्दी जिल्लाको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार म्याग्दी भ्रमण गर्नका लागि ४१ हजार १६७ जना पर्यटक भित्रिएका छन्भने ३२ हजार ९९६ जना पर्यटकहरु बाहिरिएका छन् । म्याग्दी भ्रमणमा भित्रिने र बाहिरिनेमा पुरुष ३८ हजार ७७९ रहेकोमा ३५ हजार ३८४ जना महिला पर्यटक छन् ।


गतभन्दा अघिल्लो आर्थिक वर्ष ०७३÷७४ मा कुल ६९ हजार ८१६ जनाले म्याग्दी भ्रमण गरेकोमा आर्थिक वर्ष ०७२÷७३ मा ४३ हजार ६३२ जना पर्यटक मात्रै म्याग्दी भ्रमणमा निस्किएका थिए । गत वर्षको पर्यटक आगमनको तथ्याङ्क अनुसार पछिल्लो समय म्याग्दी जिल्लामा भ्रमण गर्ने पर्यटकहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको देखिन्छ । म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरु अधिकांश सडकमार्ग भएर आउने गरेका छन् । पर्वतको मालढुङ्गा हुँदै बेनी, पश्चिम म्याग्दीको दरबाङ र उत्तरी भूरुङ–तातोपानी नाका भएर म्याग्दीको भ्रमणमा पर्यटक आउँछन् ।

गतवर्ष कुन महिनामा कति पर्यटक ?
महिना पर्यटक सङ्ख्या
साउनः ३०४९
भदौः २८५२
असोजः १०२९७
कात्तिकः १४००१
मंसिरः ७३०३
पुसः १०३६
माघः ३९०९
फागुनः ५१५४
चैतः ११७८१
बैशाखः ९४८५
जेठः ३५१७
असारः १७७९
जम्माः ७४१६३
पुरुषः ३८७७९
महिलाः ३५३८४
स्रोतः जिल्ला प्रहरी कार्यालय, म्याग्दी ।

यसैगरी कतिपय पर्यटकहरु टे«किङ एजेन्सीमार्फत सिधै हवाई मार्ग भएर जिल्लाको भ्रमणमा आउने गरेका छन्भने हिमालपारीको जिल्ला मुस्ताङबाट समेत पर्यटकहरु जिल्ला भित्रिने गरेका छन् । जिल्ला भ्रमण गर्न भित्रिने बाह्य पर्यटकहरुको तथ्याङ्क प्रहरीसँग रहेपनि आन्तरिक पर्यटकहरु कति भित्रिन्छन् ? भनेर कुनै सरकारी वा गैरसरकारी निकाय तथा संघसंस्थाले तथ्याङ्क राख्न सकेका छैनन् ।

बेनीका होटल व्यवसायीहरुका अनुसार जिल्लामा बाह्यभन्दा आन्तरिक पर्यटकहरु धेरै आउने भए पनि आधिकारिक तथ्याङ्क कसैसँग छैन । सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा यसवर्ष पर्यटक सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

गत बैशाख ३० गते स्थापना गरिएको उक्त केन्द्रमा झण्डै पाँचसयको हाराहारीमा पर्यटकहरु जिल्ला भित्रिएका छन् । भ्रमण वर्षका अभियन्ता तथा म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ घोषणा गरी मनाउन थालिएको हुँदा पर्यटक आगमन बढेको बताउँदै भ्रमण वर्षको अवसरमा पर्यटकलक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो । भ्रमण वर्षमा जिल्लाका भर्जिन पर्यटकीय गन्तव्यहरुको पहिचान गरी पर्यटक आगमन बढाउने विभिन्न किसिमका योजना अगाडि सारिएको उहाँको भनाइ छ ।


जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरुको विदेशी पर्यटकहरुले भ्रमण गर्ने गरेका छन् । म्याग्दी भ्रमणमा आउने अधिकांश पर्यटकहरु घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, रुप्से झरना, संसारकै गहिरो अन्धगल्छी, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ, धौलागिरि बेसक्याम्प तथा धौलागिरि–अन्नपूर्ण हिमाल आरोहण गर्न आउने गरेका छन् । यसैगरी सिङ्गा तथा भूरुङ–तातोपानीको कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, राखुभगवतीको रुइसे भेडीओढार, भकिम्लीको स्वर्गाश्रम, धार्मिक क्षेत्र गलेश्वर, पुलहाश्रम, जगन्नाथ एवं मालिका मन्दिरलगायत अन्य क्षेत्रको दर्शन गर्न र ती ठाउँबाट मनोरम दृष्यावलोकन गर्न पर्यटकहरु आउने गरेका छन् ।

म्याग्दीमा खासगरी अमेरिका, जर्मन, फ्रान्स, अस्टेलिया, स्वीजरल्याण्ड, न्युजिल्याण्ड, युक्रेन, ईटाली, क्रोएसिया, बेल्जियम, ईजरायल, डेनमार्क, क्यानडा, फिलिपिन्स, सिङ्गापुर, रोमानिया, जापान, मेक्सिको, स्वीडेन, आयरल्याण्ड, अर्जेन्टिना, स्पेन, ईण्डोनेसिया, रसिया, स्लोभाकिया र कोरियाबाट पर्यटकहरु आउने गरेको प्रहरीले जनाएको छ ।

पर्यटकको सुरक्षाका लागि पर्यटकीयस्थलमा प्रहरी युनिट रहेको हुँदा आवश्यक परेमा तुरुन्तै परिचालन हुने गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्