विनोदसिंह विष्ट, बैतडी
जंगली जनावरले बर्षेबाली नष्ट गर्न थालेपछी बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानहरुलाई धौ धौ परेको छ । दिउँसोमा बदेंल, बाँदर र रातीमा दुम्सी तथा जंगली बदेलले मकैबाली नष्ट गर्नथालेपछि किसानहरुलाई मकैबाली जोगाउन सकस परेको हो ।
जंगली बदेँल,बादर र दुम्सीले बैतडीका विभिन्न ठाउँमा आतङक मच्चाउन थालेको हो । मुख्यखाद्यबालीको रुपमा रहेको मकै लगातार जंगली जनावरहरुले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
जिल्लाको सिगास गाउँपालिका ५ को कफटुडामा बर्खेबाली मकै दुम्सीले सखाप पारेको स्थानिय भान बहादुर वोहराले बताए। मकैको घोका लाग्ने लागेको बेला जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछी किसान चिन्तामा परेको उनको भनाई रहेको छ । दुम्सीले लगातार रुपमा केही दिनदेखि मकैबाली नष्ट गर्न थालेपछी दुम्सीलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको छ ।
रातीको समयमा पहरा दिएपनि मकैबाली जोगाउन मुस्कील भएको सुर्नया गाउँपालिका ६ का भवानीदत्त अवस्थीले बताए। टहरा बनाएर रातीको समयमा पहरा दिएपनि मकैबाली जोगाउन नसकिएको सुर्नया गाउँपालिका ४ का कालु चन्दले बताए। जिल्लाका सबैजसो क्षेत्रमा मकैबाली जंगली बदेलले नष्ट गर्न थालेको किसानहरुले बताएका छन् ।
उता दोगडाकेदार गाउँपालिकामा बादँरले मकै लगाएतका अन्न बाली नष्ट पारीदिन थालेको छ । वडा नम्बर १ को रिम लगाएतका ठाउँमा बादँरले अन्नबाली नष्ट गरीदिदा किसानहरु चिन्तीत भएका छन् । बादँर धपाउन सबै काम छोडेर आफुहरुले मकैको गोठाँलो लाग्नु परेको स्थानीय विरेन्द्र धामीले बताए । बादँरले मकै बाली संगै आफ,अनार, लगाएतका फलफूल पनी नष्ट पारेको छ ।उनले भने “ बादँरको आतंक बढ्दै गएकोले नियन्त्रणको लागी स्थानीय तहले पहल गरीदिनुपर्छ ”
जिल्लाको तल्लोस्वराडस्थित शिवनाथ गाउँपालीका वडा नम्बर ३, ५ र ६ मा बदेलले आतङक मच्चाउन थालेको छ । यस क्षेत्रको मुख्य खाद्यान्न बाली मकै भएकाले त्यही पनि बदेंलले सखाप पार्न लागेको वडा नम्बर ६ का किसान केशब सिंह धनाडीले बताए ।
मेलौली नगरपालिका वडा नं २ र ३ मा जगंली बदेलले मकै खान थालेपछि कृषक रातिको समयमा खेतमै पहरा बस्ने गरेका छन् । जंगल बाट आएका बदेंलले २० रोपनी खेतमा लगाएको मकै जरा उखेलेरै खान थालेपछि पहरा बस्नु परेको स्थानिय हरिराम पार्कीको दुखेसो रहेको छ । दिनमा बादँरले पनि मकै खान थालेका छन् । उनले भने “ जंगल नजिक घर भएका २ परिवारका ब्यक्तिहरु खरको छानो लगाएको टहरो बनाएर बस्ने गरेका छौं”
रातभरी खेतमै बस्नु परेपछि बाजागाजाका साधनहरु टहरोमै लगेर गित गाएर बस्ने गरेको स्थानिय रमेश बिसिले बताए । उनले भने “ आफुहरुले हरेक बर्ष बदेंल धपाउन पहरा बस्ने गरेका छौं”
पाक्ने समय हुन लागेका मकै बदेँलले मकै सखास पारेको स्थानीय लोक बहादुर चन्दले जानकारी दिए ।
पाटन नगरपालिका वडा नम्बर ५का किसानको मकै बाली बदेँलले नष्ट गरिदिदा किसानहरु समस्यामा परेको दिएको स्थानीय हिरा पाण्डेले बताए। बदँेल धपाउन उनीहरु रातभर वर्षाको समयमा मकै बारीमा बस्न बाध्य भएका छन् । बदँेललको डरले रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ उनले भने “ बदँेलको डरले गर्दा घासँ,दाउरा ल्याउनको लागी जङ्गल जान समेत समस्या भएको छ ”
बर्षेबाली जंगली जनावारले नष्ट गर्न थालेपछी किसानहरु भोकमरीको समस्या उत्पन्न हुने चिन्तामा रहेका छन् । साँझ बिहानको छाक टार्नको लागी लगाएको मकै बाली बदेलले सखाप पर्दा निकै समस्या हुने देखिएको किसानहरुको भनाई रहेको छ । यो वर्ष पानी समयमा नपर्दा धेरै ढिला गरी मकै लगाएका यहाँका किसानहरु बदेंलले नष्ट गर्दा झनै चिन्तामा परेका छन् ।
बैतडीमा १४ हजार ९ सय हेक्टर क्षेत्रफल जमीनमा मकैखेती गरिदै आएको छ । जंगल नष्ट हुँदा जंगली जनावर खेतबारीमा पस्ने गरेको वनकर्मीहरुको भनाई रहेको छ ।