मोबाइलबाट खिचिएका फिल्ममा रात १३ सर्वोत्कृष्ट

0
Shares

सर्वनाम थिएटरको आयोजनामा दृश्यांश नामक मोबाइलबाट खिचिएका छोटो फिल्महरूको प्रतियोगितामा रात १३ नामक फिल्मले प्रथम हुँदै ७५ हजार रुपियाँ पुरस्कार जितेको छ। यो फिल्म अनुष पाण्डेले निर्देशन गरेका थिए।
त्यस्तै आदित्य शर्माले निर्देशन गरेको ढलपल र विजय गजमेरले निर्देशन गरेको फिल्म द इन्टरभ्यु क्रमशः दोस्रो र तेस्रो भएका छन् भने प्रकाश देवकोटाले निर्देशन गरेको अमृत नामक फिल्मले पब्लिक च्वाइस अवार्ड जितेको छ। पहिलो र दोस्रो हुने छोटा फिल्मलाई पुरस्कारस्वरूप ट्याबलेट दिइएको कार्यक्रममा पब्लिक च्वाइस अवार्ड विजेता फिल्मलाई आइप्याड प्रदान गरिएको थियो।

शुक्रबार राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित पुरस्कार प्रदान कार्यक्रममा मोबाइलबाट खिचिएका कुल ६ सय प्रतिस्पर्धी फिल्ममध्ये विजयी फिल्मका साथमा उत्कृष्ट १० मा परेका ए कता?, कथा, तत्सम, महिला कर्मचारी तु आवश्यकता, स्माइल, द डिपाचर, ड्रिम अफ हाउसवाइफ र बुम्यारिङ देखाइएको थियो। मोबाइलबाट खिचिएका यी फिल्महरू तीन मिनेटसम्मका थिए। सबै फिल्मका निर्देशकहरूलाई कलाकार मिथिला शर्मा, संगीतकार दीपक जंगम, फोटोग्राफर राजभाइ सुवाल, रंगकर्मी विमल सुवेदी, गीतकार तथा फिल्म सम्पादक करुण थापा, साहित्यकार उषा शेरचनलगायतले प्रमाणपत्र प्रदान गरेका थिए।


अभिनेता निश्चल बस्नेत, अविनाश विक्रम शाह, निर्देशक दीपक रौनियार र पत्रकार सुशील पौडेल प्रतियोगिताको निर्णायक मण्डलमा रहेका थिए। कार्यक्रममा बोल्दै सर्वनाम थिएटरका अध्यक्ष अशेष मल्लले नाटक, नृत्य, चित्रकलालगायत कलाका विभिन्न विधाहरू एउटै छातामुनि होस् भन्ने आफ्नो वर्षौंदेखिको सपना अहिले पूरा भएको चर्चा गर्दै ३ वर्षअघि छोरी सम्पदा मल्लले मोबाइलबाट खिचिएको फिल्महरूको प्रतियोगिता गर्ने प्रस्तावमा सल्लाह गरी प्रतियोगिता सञ्चालनमा ल्याएको बताए। त्यसै गरी सम्पदाले विदेशमा सामान्य भए पनि नेपालमा भने मोबाइलबाट खिचिएका फिल्मको प्रतियोगिता नयाँ भएको बताइन्।

‘पहिलो वर्ष यो प्रतियोगिताको आयोजना गर्ने बेलामा नेपालका लागि यो नयाँ कन्सेप्ट भएकाले डर लागिरहेको थियो तर पनि हामीलाई जुम्लादेखि अस्ट्रेलिया र युरोपबाट फिल्महरू आयो। पहिलो वर्षमै सफल भएकोले हामीले दोस्रो वर्ष पनि प्रतियोगिता आयोजना गर्यौं’, सम्पदानले भनिन्– ‘यसमा पनि हामीलाई ६ सय फिल्म आयो। अब यो प्रतियोगितालाई अन्तर्राष्ट्रिय मोबाइल फिल्म फेस्टिबलका रूपमा विकास गर्ने सपना छ।’ त्यस्तै अभिनेता तथा निर्देशक निश्चल बस्नेतले निर्णायकका लागि प्रस्ताव आउँदा त्यसका लागि आफू लायक नभएको सोचेको बताए। ‘एउटै कुरा कसैलाई राम्रो लाग्न सक्छ कसैलाई नराम्रो लाग्न सक्छ। तर चिटिक्क परेको कुनै चिज भने सबैलाई राम्रो लाग्छ हामीले यही अनुसार फिल्महरूको जजमेन्ट गरेका छाँं।’ –उनले भने।