४५ वर्षका अल हाडारीको सपना



रुसमा हुने विश्वकपमा सबैभन्दा पाको खेलाडी बन्न गइरहेका छन् इजिप्टका गोलकिपर। यदि उनी टोलीमा अटाएमा यो कुरा सम्भव हुनेछ। एसाम अल हाडारी अहिले ४५ वर्षका भएका छन्। साउदी अरेबियामा अल टावाउन एफसीका लागि खेलिरहेका अल हाडारीले सन् १९९९ देखि इजिप्टबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। १९ वर्षको लामो समय करियरमा उनले आफ्नो राष्ट्रका लागि १ सय ५६ खेल खेलेका छन्।

इंग्लिस प्रिमियर लिगका सानदार खेलाडी मोहम्मद सलाह इजिप्टका सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन्। उनकै कारण इजिप्टले कंगोलाई २–१ ले हराएर विश्वकपका लागि छनोट हुने अवसर पाएको हो। लिभरपुलका सलाह इजिप्टमा सबैभन्दा लोकप्रिय व्यक्ति पनि हुन्। गत राष्ट्रपति चुनावमा उनले उम्मेदवारी नदिए पनि उनलाई १० लाख मत जनताले दिएका थिए। उक्त सबै मत भने बदर भएको थियो।

अल हाडारी पनि इजिप्टका लोकप्रिय खेलाडी हुन्। रुसमा हुने विश्वकपका लागि छनोटकर्ताले उनलाई छनोट गर्छन् वा गर्दैनन् भन्नेमा अहिले इजिप्टमा व्यापक चासो भइरहेको छ। यदि छनोट भएमा उनको सपना पूरा हुने उनको भनाइ छ। उनले भने– ‘विश्वकपमा खेल्ने कुराले म ज्यादै खुसी छु। विश्वका सबै फुटबलर र अन्यलाई सन्देश दिन चाहन्छु कि यदि तपाईं सपनामा विश्वास गर्नुहुन्छ भने यसलाई साँचो बनाउन लड्नुपर्छ। मेरो उमेर ४५ वर्ष हो। तर, मेरो लागि यो कागजमा रहेको अंकझैं हो। असम्भव भन्ने शब्द नै छैन त्यसैले म अन्तिमसम्म पनि टोलीमा रहन लडिरहन्छु।’

यसअघि विश्वकपमा सबैभन्दा पाको उमेरको खेलाडी कोलम्बियाका थिए। फारिड मोन्ड्रागनले गत ब्राजिलमा भएको विश्वकप २०१४ मा खेल्दा उनको उमेर ४३ वर्षको थियो। ४३ वर्ष र ३ दिनको उमेरमा जापानसँग खेलेर उनी विश्वकपमा सबैभन्दा पाको उमेरका खेलाडी बनेका थिए।
अल हाडारीले आफ्ना दिवंगत बाबुको इच्छा पनि यही रेकर्ड तोड्ने रहेको भनेका छन्। उनले भने– ‘मेरा बुबाले मलाई विश्वकप खेलिरहेको हेर्ने थियो। उहाँ बितिसक्नुभयो। अब मलाई मेरो स्वर्गीय बुबाको सपना पूरा गर्नु छ। मैले धेरै उपाधि जितेको छु तर मैले विश्वकपमा खेलेको छैन। मेरो लक्ष्य विश्वकप खेल्नु हो।’

इजिप्टले विश्वकपको समूह ‘ए’ मा आयोजक रसिया, साउदी अरेबिया र उरुग्वेसँग खेल्नेछ। अल हाडारीले समूहमा सशक्त टोली रहेको भन्दै बताए– ‘सबै टोली ज्यादै बलिया छन्। साउदी अरेबिया अरेबिस टोली हो र हामीबीचका खेल धेरै नै चासोको विषय हुनेछ। रुसले उनीहरूकै मैदानमा आफ्नै समर्थकको अगाडि खेल्नेछ। उरुग्वेबारे तपाईं भन्नुहुन्छ भने यो अद्भूत र ठूला नाम भएका एडिसन काभानी र लुइस सुवारेजको टोली हो। त्यसैले हाम्रा लागि विश्वकप त्यति सजिलो हुनेछैन।’

प्रतिक्रिया दिनुहोस्