आमा भनेको के हो भन्ने पनि बुझ्न नसकिने बाल्य उमेरमै आमा गुमाएका ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले सानै उमेरमा ४ आमा देखे। तर, आमा के हो भन्ने कुरा कुपण्डोलकी यशोदा सुवेदीलाई पत्नीका रूपमा पाएपछि र उनी आमा भएपछि उनले आफ्ना छोराछोरीलाई गर्ने मायाबाट थाहा पाए। तीनै आफ्ना सन्तानको आमा र आफ्नी प्राणप्यारीलाई सोमबार मध्यरात नहुँदै गुमाएपछि मदनकृष्ण विक्षिप्त बन्न पुगेका छन्।
आफ्नो जीवनका मुख्य अंशहरूलाई आत्मकथाका रूपमा महको ममा समेट्ने क्रममा उल्लेख गरेका मदनकृष्ण र यशोदाबीच अन्तरजातीय विवाह भएको हो। मदनकृष्णले सञ्चय कोषमा जागिरका क्रममा यशोदालाई चिनेका थिए र भेटेका थिए। उनले त्यहाँ २०२३ सालमा एकाउन्ट सहायक पदमा जागिर खाएका थिए भने यशोदा २०२६ सालबाट त्यहाँको जागिरे भएकी थिइन्। चिनजान दोस्तीमा बदलिँदै गएपछि उनीहरूबीच माया बसेको थियो। मदनकृष्ण पत्रपत्रिका अध्ययन गर्न रुचि राख्ने यशोदालाई प्रभावित पार्न पत्रिका बोकेर अफिस जान्थे र उनले नमागुञ्जेल उनकै अगाडि बसेर पढेको जस्तो गरिरहन्थे। यशोदाले घरबाट ल्याएको खाजासमेत मदनकृष्णलाई खुवाउँथिन्। एकै कक्षमा बसेर चिया–खाजा खाने गर्दै जाँदा उनीहरूबीच माया पनि बस्न थाल्यो। माया बढ्दै गएपछि मदनकृष्णले नै यशोदालाई प्रेम प्रस्ताव राखेका थिए। तर, यशोदा बाहुन र मदनकृष्ण नेवार भएकाले बिहे गर्न सजिलो थिएन। न्यायाधीश पुत्री यशोदाको घरमा त जातीय कारण नै बिहे गर्न मुस्किल छँदै थियो, तत्कालीन प्रधानपञ्च रहेका मदनकृष्णका पिता पनि यशोदासँग उनको बिहे गर्न दिन तयार थिएनन्।

दुवैको घरपरिवार तँगारो हुने देखिएपछि मदनकृष्ण र यशोदाले भागेर बिहे गर्ने निधो गरेका थिए। सल्लाहबमोजिम २०३० सालमा मदनकृष्णले न्युरोडमा ६० रुपियाँ तिरेर कोठा भाडामा लिई सूर्यविनायक मन्दिरमा गएर साथीहरूका बीच विवाह गरेका थिए। मदनकृष्णले आत्मकथा महको ममा उल्लेख गरेअनुसार त्यो विवाह देख्नेहरूले ‘सुटिङ हो कि साँच्चिकै बिहे हो’ भनेर अनौठो प्रश्न गरेका थिए। बिहे गरेर कोठामा बस्न आवश्यक सामान किनमेलका लागि साथीहरूले सहयोग गरेका थिए।
मदनकृष्णले बिहे गरेपछि मात्र डेरामा बस्ने सोचेका थिए तर परिवारले पहिले नै थाहा पाएकाले उनी परिवार बसको डेरामा नगई आफूले भाडामा लिएको कोठामा गएका थिए। बिहेका लागि आफूलाई आवश्यक पर्ने सरसामान यशोदाले आफैं किनेकी थिइन्।
पहिले बाहुनी केटी बिहे गर्ने कुराको विरुद्धमा रहेका पिता पछि यशोदालाई बुहारी स्वीकार गर्न तयार भएपछि मदनकृष्णले दोस्रोपटक फेरि बिहे गर्नुपर्यो। पिताले बिहे नगरी हुन्न भनेपछि उनले फेरि नेवारी परम्पराअनुसार घरपरिवारको सहमति र रोहबरमा पहिलो बिहे गरेको १४ दिनपछि यशोदासँगै दोस्रो बिहे गरे। आत्मकथामा उल्लेख गरेअनुसार पछिसम्म पनि मदनकृष्णले एउटा बाहुनी र एउटा नेवार्नी केटीलाई बिहे गरेको कुरा चलिरह्यो। भएको के थियो भने उनका पिताले निमन्त्रणापत्रमा यशोदाको नामपछाडि सुवेदी नलेखी मैयाँ लेखिदिएका रहेछन्।
मदनकृष्णका अनुसार जीवनभर उनको दम्पतीबीच कहिल्यै मनमुटाव र झगडा भएन। बरु त्यस्तो भए के होला भनेर अनुभव गर्न सल्लाह गरेरै ३ दिन बोलेनन् र सहिनसक्नु भएर दुवै हासे। हासो त्यतिखेर सकियो, जब ६ वर्षअघि यशोदालाई क्यान्सर भएको पत्ता लाग्यो। यशोदालाई रेक्टल क्यान्सर भएको तेस्रो चरणको पनि अन्तिममा पुगेको रहेछ। स्वास्थ्य परीक्षणपछि डा. रामकण्ठले उनलाई एकान्तमा लगेर ‘भाउजूले त ठूलै रोग पाल्नुभएको रैछ, क्यान्सर’ भनेपछि मदनकृष्ण खंग्राङखुंग्रुङ भए।
कलेजोमा पनि सानो स्क्र्याच देखिएको थियो। उनले यशोदालाई लागेको रोगको कुरा सबैभन्दा पहिले उनकै जोडी तथा सहयात्री हरिवंश आचार्यलाई सुनाए, उनी पनि आत्तिए। मदनकृष्ण घर गएर एक्लै भक्कानिएर रोए। यशोदालाई उपचारका लागि बैंकक लानुअघि डा. रामकण्ठले ‘भाउजू, सबै ठीक छ तर किमो अलिकति दिनुपर्छ। त्यसैले बैंकक जानुपर्छ। नत्र यहीं मैले अप्रेसन गरिदिन्थें’ भन्नासाथ यशोदाले आफ्नो रोगबारे थाहा पाइन् र निराश हुन पुगिन्।
मदनकृष्णका अनुसार ४० वर्षे जागिरे जीवन र छोराछोरीको स्याहार सुसारका कारण यशोदालाई फुर्सद हुँदैन थियो। जागिर छोडेपछि उनको धोको थियो मदनकृष्ण जहाँ गए पनि सँगै जाने। भनेकी थिइन् रे– ‘यत्तिका वर्ष फुर्सद भएन, अब रिटायर्ड लाइफ तपाईं जहाँ जानुहुन्छ, त्यहीं जान्छु। स्वदेश भए पनि विदेश भए पनि तपाईंसँगै हिँड्छु।’ अफसोच⁄ स्वास्थ्यका कारण यशोदा र मदनकृष्ण दुवैले चाहेर पनि सँगै हिँड्न सकेनन्।
पत्नी वियोगको पीडा खप्न नसकेपछि मदनकृष्णले फसबुकमा यशोदाको सुन्दर फोटो सेयर गर्दै लेखेः
सबैले माया मारेर केभो
तिमी छँदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउँदा
आँसु छँदैछ नि मलाई स्याहार गर्ने।











प्रतिक्रिया