रक्तदान शिविर बढाउन रेडक्रसको आग्रह



काठमाडौं उपत्यकाका रक्तसञ्चार केन्द्रमा रगत तथा रगतको कम्पोनेन्टहरूको अत्यधिक माग बढेकोले रक्तदाताहरू तथा विभिन्न संघसंस्थाहरूलाई रक्तदान शिविर बढाउन नेपाल रेडक्रस सोसाइटीले आह्वान गरेको छ।

रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले भन्नुभयो– ‘सामान्यतया दैनिक औसतमा ३ सय ५० पिन्ट रगत वा रक्ततत्त्व माग भई आउने अवस्था रहेकोमा अहिले माग बढेकाले परिपूर्ति गर्न रक्तदान शिविरहरू बढ्नु आवश्यक छ।’ ‘हस्पिटलमा अपरेसनका केस बढेको पाइएको छ’, उहाँले भन्नुभयो– ‘पाटन अस्पतालको अपरेसन कक्षबाट हिजैमात्र एक डाक्टरले फोन गरी ओ पोजेटिभ को ४ पिन्ट र प्लेटलेटको ४ थैली माग्नुभयो, त्यसलाई हामीले तत्काल डोनर बोलाएर त पूरा गर्न सक्यौं तर, दबाबचाहिँ बढिरहेको छ।’

नेपाल रेडक्रस भक्तपुरको दूधपाटीमा रहेको सेवा केन्द्रबाट गतवर्ष औसतमा दैनिक १ सय १२ पिन्ट रगत आपूर्ति गरिएकोमा यसवर्ष १ सय २५ देखि १ सय ५० पिन्ट माग छ। केन्द्रका प्राविधिक प्रेम अधिकारीले भन्नुभयो– ‘अस्ति शुक्रबार ४ सय पिन्ट रक्त संकलन भएकोमा सोही दिन नै ३ सय ५० भन्दा बढी आपूर्ति गरियो, शनिबारका दिन पनि त्यस्तै भयो।’

नेरेसो भक्तपुरका सभापति मनोज थापाले भन्नुभयो– ‘हामीले रगतको मागपूर्जी ल्याएकालाई रित्तो हात फर्काएका छैनौं, दाताहरूसँग नजिकको सम्पर्कमा रही व्यवस्थापन गरिरहेका छौं, तर भनेजति रगत एकैपटकमा अझै दिन सकिएको छैन। विभिन्न संस्थाले रक्तदान शिविरहरू बढाइदिन सके यसमा सहज हुनेछ।’

ललितपुरको दमकल चोकमा रहेको रक्तसञ्चार सेवा केन्द्रमा पनि रगतको माग बढ्दो रहेको ललितपुर शाखाका सभापति बाबुराजा महर्जनले जानकारी दिँदै रेडक्रसका निकायहरूलाई रक्तसञ्चार उत्प्रेरणा तथा शिविर बढाउन प्रयत्नशील रहेको बताउनुभयो।

रेडक्रसका निकाय र युवा सर्कलहरू र रक्तदानमा सक्रिय संघसंस्थाले रक्तदान शिविर बढाउँदै गरेको पाइए पनि शनिबार वा सार्वजनिक बिदाको दिनमा धेरै रक्तदान शिविर आयोजना भइरहेका तर अन्य दिनमा कम भएकाले त्यसलाई बढाउन सके रगतको आपूर्तिमा सहज हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्