दयाहाङ पनि नाच्न सक्छन् र?



एभरेस्ट सूर्य बोहराद्वारा निर्देशित फिल्म भैरेको दोस्रो गीत सनम माया लाको बोलको गीत सार्वजनिक भएपछि यसको भिडियो हेर्नेहरूले भने– ‘नाच्न पर्यो कि भाग्न मन लाग्छ, भन्दै आएका अभिनेता दयाहाङ राईले वास्तवमै जसरी ‘मलाई नाच्न आउँदैन’ भन्ने गरेका छन्, त्यो भनाइ यो भिडियो हेरेपछि गलत लाग्छ।

यो भिडियोमा उनले यति दमदार शैलीले नृत्य गरिदिएका छन् कि उनीसँगै नृत्य गरेकी उनको जोडी नायिका सुरक्षा पन्तले पनि भनिन्– ‘मलाई नाच्न आउँछ। तर, यो गीतमा मेरोभन्दा उहाँको नाच बलियो छ। मलाई नाच्न आउँछ, तर उहाँको जस्तो कोरियोग्राफ्ड डान्समा नाच्न मलाई आउँदैन। उहाँलाई कोरियोग्राफ्डको समेत आइडिया छ। दया दाइलाई नाच्न आउँदैन भन्ने सुनेको थिएँ तर यो गीतमा उहाँले भन्दा बढी टेक मैले नै खाएको थिएँ। उहाँले नै मलाई नाच्न सिकाइरहनुभएको थियो।’ सबैले आफ्नो नृत्यकलाको प्रशंसा गरे पनि दयाहाङ भने भन्दै थिए– ‘मैले त निर्देशक सूर्य दाइलाई ट्रेलर देखाउँ भनेको थिएँ। तर, उहाँले पहिले गीत नै रिलिज गर्ने कुरा गर्नुभयो। मैले नाचेको मिल्दैन। त्यसैले गीत रिलिज गर्ने भने पछि मलाई कार्यक्रममा आउनै अप्ठेरो लागेको थियो।’

दयाहाङ र सुरक्षा पन्तले जोडी बाँधिएर नृत्य गरेको यो गीत मंगलबार राजधानीको दरबारमार्गस्थित क्युज सिनेमामा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको थियो। निर्देशक बोहराकै शब्द रचना तथा गायक यम बरालको संगीत रहेको गीतमा यमका साथमा अञ्जु पन्तको रहेको छ। वसन्त श्रेष्ठले नृत्य निर्देशन गरेको यस गीतलाई पुरुषोत्तम प्रधानले छायांकन तथा बनिश शाहले सम्पादन गरेका छन्। मुस्ताङ र अन्य भागमा छायांकन गरिएको गीतमा विभिन्न प्रकारका जातजातिको भेषभूषा प्रयोग गरिएको छ।

कार्यक्रमा बोल्दै निर्देशक बोहराले आफूहरू मुखले बोल्नुभन्दा पनि कामले देखाउने बानी भएकाले फिल्मको बारेमा अहिले केही नबोल्ने बताए। अभिनेता दयाहाङ राईले मुस्ताङमा फिल्म सुटिङ हुने कुराले आफू लोभिएर व्यस्त सेड्युलका बाबजुद फिल्ममा काम गरेको बताए। ‘करिब ६ वर्षअघि नै सूर्य दाइले फिल्म खेल्ने प्रस्ताव राख्नुभएको थियो। त्यति बेला समय मिलाउन सकिनँ। यसपटक चाहिँ नाटकको समय चोरेर फिल्मलाई दिएको हो। मुस्ताङमा सुटिङ हुने कुराले लोभिएर पनि फिल्म गरेको हुँ, दयाहाङले भने– ‘उत्हसाहित भएर मुस्ताङ गए पनि त्यहाँको मौसमका कारण सकुशल फर्कन भने सकिनँ।’ नायिका सुरक्षा पन्तले सार्वजनिक गीतमा विभिन्न किसिमका भेषभुषा प्रयोग गरिने र दयाहाङसँग अभिनय गर्न पाउने भएपछि सुटिङ अगाडिदेखि नै उत्साहित भएको बताइन्। ‘सूर्य दाइले दयाको अपोजिट रोल गर्ने भन्दा म निकै दंग परेको थिएँ।’ –उनले भनिन्। फिल्मका सहनिर्मातासमेत रहेका गायक तथा संगीतकार यम बरालले यो गीतको संगीत आफू अमेरिका हुँदै गरेको र साथीहरूलाई ट्युनिङ सुनाउँदा राम्रो प्रतिक्रिया पाएको बताए। ‘म र सूर्यको २०४५⁄०४६ सालदेखि नै राम्रो दोस्ती थियो। अहिले पनि हामी राम्रो साथी हौं। सँगै काम गरौं न भन्ने सिलसिलामा मैले अहिलेसम्म गाउँदा आएका फिल्मी गीतको अनुभवबाट पहिलोपटक यो फिल्मका लागि संगीत तयार पारें’, बरालले भने– ‘यो फिल्मपछि आगामी दिनमा पनि हामी सँगै फिल्म बनाउँछौं।’ फिल्मको यसअघि सार्वजनिक अर्को गीत सान्नानीलाई भेट्न आउँदामा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ भने सार्वजनिक हुन बाँकी एउटा गीतको तृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्