विकासले बनाउने भए नाइँ नभन्नु ल–५



लेखक तथा निर्देशक विकास आचार्यले नाइँ नभन्नु लको संस्करणलाई निरन्तरता दिँदै नाइँ नभन्नु ल–५ बनाउने भएका छन्। आचार्यले नाइँ नभन्नु लदेखि नाइँ नभन्नु ल–४ सम्म बनाइसकेका छन् र यी सबै सिरिजले लोकप्रियता पाउँदै आएका छन्।

उनले केही समयको अन्तरालपछि निर्माण गर्न लागेको नाइँ नभन्नु ल–५ को शनिबार राजधानीको मैतीदेवी मन्दिरमा पूजाअर्चनाका साथ शुभसाइत गरिएको छ। वान टाइम सिनेमाको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशन आचार्यको रहनेछ भने उनका साथमा सामिप्य तिमिल्सेनाको रहनेछ। वसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य, श्याम बरालको श्रृंगार र पुरुषोत्त प्रधानको छायांकन रहने फिल्ममा यसअगाडिका केही कलाकार हेरफेर गरिएको छ। फिल्ममा अनुभव रेग्मी, अभिषेक नेपाल, स्वस्तीमा खड्का, सेडरिना शर्मा, प्रियंका कार्की, केकी अधिकारी, दिलिप रायमाझी, उत्तम केसी, बुद्धि तामाङ, जयनन्द लामालगायतका कलाकार प्रमुख भूमिकामा रहेनछन्।

फिल्मको युनिट आइतबार सुटिङका लागि झापा लाग्नेछ भने झापा, इलाम र काठमाडौंमा सुटिङ गरिने निर्माण युनिटले जानकारी गराएको छ। फिल्म अर्को वर्षको भाद्र ८ गते रिलिजमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्