खैरेनीमा बन्दीपुरे नानी



विदुर गिरी
आँबुखैरेनी, तनहुँ

केबुलकार सञ्चानमा आउनुअघिसम्म मनकामना माताको दर्शन गर्न हिँडेर जानुपर्ने बाटो लाग्दा तनहुँको आँबुखैरेनी जानैपथ्र्यो। त्यो आँबुखैरेनी बजारमा गत शनिबार अर्कै खाले भीडभाड र उत्साह थियो।
आँबुखैरेनी बजारमै पुरानो मौलिक खाले घर केवल एउटै थियो।

आँबुखैरेनी र त्यस आसपासका वृद्धवृद्धादेखि बालबालिकासम्म त्यही घरतिर लागिरहेका थिए। ती वृद्धवृद्धा युवा र बालबालिका गुरुङ पहिरनमा सज्जिएका थिए। कोही त्यहीं आएर गुरुङ पहिरन पहिरिइरहेका थिए भने उनीहरूसँग उनीहरूले आफ्नो चाडबाडमा प्रयोग गर्ने भाँडाकुँडा पनि थिए। जो उनीहरूले आफैं बोकेर ल्याएका थिए। कोही सार्वजनिक साधनमा आइरहेका थिए भने कोही मोटर साइकल स्कुटर र कारमा आएका थिए। मेला लागेझैं त्यस घरमा गुरुङ समुदायका मानिस ओहोर–दोहोर गरिरहेका थिए।


खासमा त्यहाँ हुनगइरहेको थियो गुरुङ समुदायमा प्रचलित कौरा गीतको म्युजिक भिडियोको सुटिङ। कौरा गीत जसलाई सालैजो, चुट्का र रोदी पनि भनिन्छ। बन्दीपुरे नानीको आउँछ झ–झल्को बोलको यो गीतको सुटिङ खैरेनीमा भए पनि गीतमा कुराचाहिँ बन्दीपुरे नानीको थियो। यसको म्युजिक भिडियो निर्माण गर्न निर्देशकदेखि प्राविधिकसम्मको टोली काठमाडौंबाट आएको थियो भने कलाकारहरू खैरेनीकै स्थानीय गुरुङ समुदायका मानिस थिए।

यो गीत पहिलोपटक गाएका रहेछन् गायक–गायिका दाजुबहिनी सुजन गुरुङ र अनु गुरुङले। यी दाजुबहिनीलाई स्वरमा साथ दिएका थिए कौरा गीतमा नाम कमाएका गायक दुर्गा गुरुङ र गायिका बबिता गुरुङले। गायक सुजनकै संगीत रहेको गीतमा शब्द चन्द्र परियार र एरेन्जमेन्ट दुर्गा गुरुङको रहेको छ। गीतमा बन्दीपुरे नानी भन्छिन् छिटै भेटघाट गराइदेउ हितको मायालाई। आँबुखैरेनीकै गायक–गायिका दाजुबहिनीले गााएको यो गीतमा उनीहरू स्वयं कलाकारका रूपमा प्रस्तुत भइरहेका थिए भने दुर्गा गुरुङ, कुष्ण गुरुङ र संगीत गुरुङ पनि प्रमुख कलाकारका रूपमा थिए। ‘पहिला साइड डान्सरको रूपमा अनुभव सँगालेको थिएँ। आज पहिलोपटक लिड डान्समा हुँदा एक्साइटेड भइरहेकी छु, नायिका हुन तमतयार स्थानीय संगीत गुरुङ भन्दै थिइन्– ‘यो मेरो लागि राम्रो अवसर हो।’ गुरुङ समुदायको परम्पागत गीतको भिडियोको निर्देशन सोहीअनुसार प्रसन गुरुङले गरिरहेका थिए। उनको निर्देशनमा नवराज उप्रेती थोरै समयमा पनि ट्रली र क्रेनसहितको सट लिइरहेका थिए।

भिडियो निर्माता निर्भाना कला केन्द्रका अध्यक्ष रमेश श्रेष्ठ समयलाई ख्याल गर्दै काम चाँडै सकाउन चाँजोपाँजो मिलाइरहेका थिए। बिरने लामा प्रोडक्सन सम्हाल्दै नृत्य गर्न पनि भ्याइरहेका थिए। सुटिङ हेरेर स्थानीय रमाइरहेका थिए। सुटिङस्थल भीडभाडका कारण मेलास्थलझैं भइरहेको थियो। जसका कारण फलफूल व्यापारीदेखि आइसक्रिमवालासम्म आएर व्यापार गरिरहेका थिए। आफ्नो घरमा लागेको भीड देखेर प्रेम गुरुङ दंग थिए। दर्शक मिश्रित प्रतिक्रिया जनाइरहका थिए। ‘कलाकार नयाँ–नयाँ रहेछन्, नाच्नै सकेनन्।’ –एक युवाले भने। अर्की महिलाको प्रतिक्रिया थियो– ‘केटीहरू मात्र योङ रहेछन्, उनीहरूको दाँजोमा केटाहरूमा ह्याउ नै देखिएन।’ अर्की महिला जाँदै गर्दा भन्दै थिइन्– ‘सुटिङ हेर्न भन्दा सिडीमै हेर्न मजा हुँदो रहेछ।’ एक युवा भन्दै थिए– ‘सबै जनाले कस्तो राम्रो नाचेका।’
निर्माण निर्भाना टिभी नेपालले अगामी साता बजारमा ल्याउने यो म्युजिक भिडियो विष्णुहरि तिमिल्सिनाले सम्पादन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्