सेरेना इन्डियन्स वेल्समा जमिनन्



वासिङ्टन, (एजेन्सी)
आमा बनेपछि सेरेना विलियम्सको प्रदर्शनमा प्रभाव परेको इन्डियन्स वेल्समा जारी बीएनबी पारिबास ओपनले देखाएको छ। सेरेनाले बच्चा जन्माएको १४ महिनापछि पहिलोपटक डब्ल्यूटीए (महिला टेनिस संघ) प्रतियोगिता खेलेकी हुन्। तर, उनी क्यालिफोर्नियाको कोर्टमा तेस्रो चरणबाट माथि उक्लिन सकिनन्। उनलाई हराउने खेलाडी कोही नभएर उनकै दिदी भेनस हुन्। भेनसले २०१४ पछि पहिलोपटक बहिनीलाई हराएकी छिन्।

विलियम्स दिदीबहिनीले एक–अर्कासँग २९ पटक प्रतिस्पर्धा गरेका छन्। सेरेनाले १७ खेल जितेकी छिन्। यो भेनसको सेरेनाविरुद्ध १२औं जित हो। उनीहरूले सन् १९९८ को अस्ट्रेलियन ओपनअन्तर्गत दोस्रो चरणमा पहिलोपटक प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला भेनस १७ वर्षकी थिइन् भने सेरेना एक वर्षले कान्छी थिइन्। यो खेलमा भेनसले सेरेनालाई हराएकी थिइन्। पछि सेरेनाको अगाडि भेनस छायाँमा पर्दै गइन्। गत वर्षको अस्ट्रेलियन ओपन फाइनलमा खेल्दा सेरेनाले भेनसलाई हराएर २३औं ग्रान्डस्लाम उपाधि जितेकी थिइन्। सेरेना त्यतिबेला गर्भवती थिइन्।

इन्डियन्स वेल्समा भएको खेलमा सेरेनाको प्रदर्शन उति राम्रो भएन। उनले ४१ अनावश्यक गल्ती (अनफोर्सड् इरर) गरेकी थिइन्। जसमा १७ वटा गल्ती फोरह्यान्डमा भएका थिए। सेरेनाले यसमा भनिन्– ‘मैले कहिल्यै गल्ती नगर्ने सटमा पनि गल्ती गरें। मैले जे चाहेको थिए त्यो वास्तवमा भएन।

सेरेनाले खेल्ने मात्रै मन नपरेको भन्दै यस वर्षको अस्ट्रेलियन ओपन छाडेकी थिइन्। उनी चाहन्छिन् प्रतियोगितामा धेरै माथि जान सकौं। सेरेनाले यो खेल राम्रै भए पनि उत्कृष्ट टेनिस नभएको बताउँछिन्। उनको यो खेल हेर्न उनका श्रीमान् रेडिटका सहसंस्थापक अलेक्सिस ओहानियन र उनकी छोरी एलेक्सिस जुनियर पनि थिए।

१७ वर्षअघि यसै मरुभूमिमा विलियम्स दिदीबहिनीले सेमिफाइनल खेल्नुपर्ने थियो। तर, अन्तिममा भेनसले दायाँ घुँडाको चोट देखाएर खेल परित्याग गरेकी थिइन्। उनीहरूको खेल हेर्न रंगशाला भरीभराउ थियो। १७ वर्षपछि उनीहरूको खेल हेर्न १०औं हजारभन्दा बढी दर्शकको उपस्थित भएको डेली मेलले जनाएको थियो।

भेनसले त्यतिबेला म्याच छोड्नुका कारण उनका बाबु रिचार्ड विलियम भएको केही समर्थकको आरोप थियो। रिचार्डले दर्शकबाट रंगभेदको अश्लील शब्द सुनेको बताएका थिए। फाइनलमा सेरेनाले बेल्जियमकी किम क्लाइस्टर्सलाई तीन सेटमा हराएर मरुभूमिमा दोस्रो उपाधि जितेकी थिइन्। यसपछि यी अमेरिकी दिदी–बहिनीले इन्डियन्स वेल्स १४ वर्षका लागि बहिष्कार गरेका थिए। सेरेनाले सन् २०१५ मा कमब्याक गरे पनि सेमिफाइनल अगाडि घुँडाको चोटका कारण खेल परित्याग गरिन् भने अर्को वर्ष भेनसले परित्याग गरिन्। यसपटक भने दुवै दिदीबहिनीलाई समर्थकले न्यानो अभिवादन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्