म्यानचेस्टर युनाइटेड सबैभन्दा धनी क्लब



कविरस शर्मा

ईग्लिस प्रिमियर फुटबल क्लब म्यानचेस्टर युनाइटेड लगातार दोस्रोपटक विश्वकै सबैभन्दा धनी क्लब बनेको छ। म्यानचेस्टर युनाइटेड विश्वको शीर्ष २० धनी फुटबल क्लबका सूचीको अग्रस्थानमा रहेको डेलोइटले जनाएको हो। लगातार दोस्रो वर्ष सबैभन्दा धनी क्लब बनेको म्यानचेस्टर युनाइटेड समग्रमा दसौंपटक विश्वकै सर्वाधिक धनी क्लब बनेको हो। फुटबल मनी लिगको आधारमा डेलोइटले सर्वाधिक धनी क्लबको नयाँ सूची तयार पारेको हो। जसमा क्लबको आम्दानीलाई मात्र आधार बनाइएको छ। क्लबसँग जोडिएको कुनै प्रकारको ऋण तथा खर्चलाई भने यसमा समावेश गरिएको छैन। ब्रान्ड अपिल र एग्रेसिभ प्रोमोसन, प्रायोजक र ब्रोडकास्टिङलाई नै डेलोइटले आम्दानीको प्रमुख आधार बनाएको छ।

नयाँ सूचीअनुसार सन् २०१६–१७ को सिजनमा सर्वाधिक धनी २० क्लबको संयुक्त आम्दानी ६ प्रतिशतले वृद्धिसमेत भएको छ। तथ्यांकअनुसार यस वर्ष ७.९ बिलियन युरो वृद्धि भएपछि नयाँ कीर्तिमानसमेत बनेको छ। म्यानचेस्टर युनाइटेडले यस सूचीको पहिलो स्थान ओगट्दा पछिल्ला ११ वर्ष शीर्ष स्थान कब्जा गर्दै आएका स्पेनिस महारथी रियल मेड्रिडले भने दोस्रो स्थानमा चित्त बुझाउनुपरेको छ। यस्तै अर्को स्पेनिस जाइन्ट बार्सिलोना भने तेस्रो स्थानमा सूचीकृत रह्यो। शीर्षमा रहेको म्यानचेस्टर युनाइटेड र दोस्रोमा रहेको रियल मेड्रिडबीचको आम्दानी भने झिनो अन्तरको रहेको छ। युनाइटेडले १.७ मिलियन युरोले मात्र रियललाई दोस्रो स्थानमा धकेलेको हो।

युनाइटेडले यस वर्ष ६ सय ७६.३ मिलियन युरो आर्जन गर्दै लगातार दोस्रोपटक विश्वको सर्वाधिक धनी क्लबको शीर्षस्थान ओगटेको हो। मुख्यतः युनाइटेडको आम्दानीको स्रोतको कारण १२ वटा प्रायोजक र ब्रोडकास्टिङमा गरेको सुधारका नै हुन्। जसका कारण ५ सय १५.३ मिलियन पाउन्ड स्टर्लिङको आकारलाई बढाउँदै हाल ५ सय ८१.२ मिलियन पुर्याउन सफल भएको हो। यस्तै गत सिजन युनाइटेडले स्टोकहोममा सम्पन्न यूएफा युरोपा लिगको उपाधि जित्नाले पनि आम्दानीको दायरा फराकिलो बनाएको डेलोइटले जनाएको हो।

फुटबल मनी लिगको आधारमा डेलोइटले सर्वाधिक धनी क्लबको नयाँ सूची तयार पारेको हो। जसमा क्लबको आम्दानीलाई मात्र आधार बनाइएको छ। क्लबसँग जोडिएको कुनै प्रकारको ऋण तथा खर्चलाई भने यसमा समावेश गरिएको छैन। ब्रान्ड अपिल र एग्रेसिभ प्रोमोसन, प्रायोजक र ब्रोडकास्टिङलाई नै डेलोइटले आम्दानीको प्रमुख आधार बनाएको छ।

यता गत सिजन लगालग दोस्रोपटक यूएफा च्याम्पियन्स लिगको उपाधि उचाल्ने पहिलो टोली बन्यो रियल मेड्रिड। तर, विगत २ वर्षयता दुईपटक च्याम्पियन्स लिग जिते पनि आम्दानीको सन्दर्भमा भने म्यानचेस्टर युनाइटेडसँग पछिल्ला दुवै वर्ष रियल मेड्रिड पछि पर्दै आएको छ। डेलोइटको नयाँ सूचीअनुसार रियलले यस वर्ष ६ सय ७४.६ मिलियन युरो आम्दानी गरेको जनाएको छ। यस्तै तेस्रो स्थानमा रहेको अर्को स्पेनिस टोली बार्सिलोनाले पनि गत वर्षको स्थानलाई सुधार गर्न सकेन।यस वर्ष बार्सिलानाले कुल ६ सय ४८.३ मिलियन यूरो आम्दानी गरेको छ। हुनत बार्सिलोनाले ब्राजिलियन चर्चित स्ट्राइकर नेयमारलाई २ सय २२ मिलियन युरोको कीर्तिमानी रकममा पीएसजीलाई बेचेर आम्दानीको आकार बढाएको थियो। तर, डेलोइटले भने उक्त रकमलाई बार्सिलोनाको आम्दानीको स्रोतका रूपमा गिन्ती गरेको छैन।

जारी गरिएको नयाँ सूचीमा सर्वाधिक धनी २० मध्ये १० क्लब इंग्लिस प्रिमियर लिगको रहेका छन्। जसअन्तर्गत सूचीकृत अन्तिम १० मध्ये पनि ५० प्रतिशत टोली इंग्लिस क्लब नै रहेको छ। म्यानचेस्टर युनाइटेडले शीर्ष स्थान ओगट्दा उही शहरको अर्को टोली म्यानचेस्टर सिटीले सर्वाधिक धनी क्लबको पाँचौं स्थान प्राप्त गरेको छ। यस्तै छैठौंमा आर्सेनल, आठौंमा चेल्सी र नवौंमा लिभरपुल रहेका छन्।

सूचीको चौथो स्थानमा जर्मनीको बायर्न म्युनिख क्लब रहेको छ। यसपटक म्युनिखले आम्दानीमा ठूलै फड्को मारे पनि आफ्नो स्थानलाई भने सुधार गर्न सकेन। जारी तथ्यांकअनुसार यसपटक म्युनिखले कुल ५ सय ८७.८ मिलियन युरो आम्दानी गरेको जनाएको छ। गत वर्ष २ सय ९५.१ मिलियन पाउन्ड स्ट्रलिङ आम्दानी रहेको म्युनिखले यसपटक ठूलो छलाङ मार्दै आम्दानीको आकार ५ सय ५.१ मिलियन पाउन्ड पुर्याएको हो। जसका कारण डेलोइटले म्युनिखलाई विश्वभरकै फुटबल क्लबमध्ये आन्तरिक आम्दानीमा सुधार गर्ने उत्कृष्ट टिम भएको बताएका छन्। गत सिजन लगातार पाँचौंपटक जर्मन बुन्डेसलिगा जिते पनि म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिएको थियो। जसका कारण समग्र आम्दानीमा प्रभाव पारे पनि स्थानमा भने सुधार हुन नसकेको डेलोइटले जनाएको हो।

यता ५ सय २७.७ मिलियन युरो आम्दानी गरेर पाँचौं स्थान ओगट्ने अर्को इंग्लिस टोली हो म्यानचेस्टर सिटी। आर्थिक उन्नतिको पावर हाउसको होडमा उन्मुख रहेको सिटी योसमेत दोस्रोपटक यस सूचीको अन्तिम १० स्थानभित्र पर्न सफल भएको छ। जारी सिजन प्रशिक्षक पेप ग्वार्डियोलाको साथसँगै गतिलो लय समातिरहेको सिटीले आगामी वर्ष आफ्नो स्थान अझै सुधार गर्ने अनुमान गरिएको छ। यीबाहेक अन्तिम १० भित्र पर्नेमा ४ सय ८७.६ मिलियन आम्दानीसहित आर्सेनलले छैठौं स्थान ओगटेको छ। यो आम्दानी क्लब इतिहासमा कीर्तिमानसमेत हो। गत सिजन आर्सेनलले ४ वर्षमा तेस्रोपटक एफए कपको उपाधि जितेको थियो। यसपटक भने च्याम्पियन्स लिगका लागि छनोट नभएको आर्सेनल आगामी वर्ष डेलोइटको सूचीमा खस्किने प्रबल सम्भावना रहेको आँकलन गरिएको छ।

४ सय ८६.२ युरो आम्दानीसहित फ्रेन्च लिग वान टिम पेरिस सेन्ट जर्मेन सूचीको सातौं स्थानमा रहेको छ। गत सिजन लिग वानको उपाधि जित्न नसके पनि नेयमारलाई कीर्तिमानी रकममा क्लबमा अनुबन्ध गरेर पीएसजीको चर्चा चुलेको थियो। योबाहेक अर्का युवा खेलाडी क्लियिन बाप्पेलाई मोनाकोबाट ऋणमा पीएसजीले भित्त्यायो। च्याम्पियन्स लिगमा राम्रो नतिजा निकाल्ने उद्देश्यसहित यी दुई खेलाडीलाई भित्त्याएको पीएसजीले आगामी वर्ष डेलोइट सूचीमा सुधार गर्ने अनुमान गरिएको छ।

यसै गरी ४ सय २८ मिलियन युरो आम्दानीसहित चेल्सी सूचीको आठौं स्थानमा रहेको छ। गत सिजन इंग्लिस प्रिमियर लिगको उपाधि उचालेका चेल्सीले नयाँ प्रायोजकका रूपमा थाइल्यान्डको दोस्रो सर्वाधिक चर्चित पेय पद्धार्थ कराबाओको साथ पाएको छ। कारबाओसँग १ सय ३९.८ मिलियन पाउन्ड स्टर्लिङको एकवर्षे सम्झौता गरेपछि चेल्सीको आम्दानीको आकार पनि ठूलो बनेको हो।

यसै गरी अर्को इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल पनि ४ सय २४.२ मिलियन युरोसहित सूचीको नवौं स्थानमा छ। टेलिभिजन प्रसारणमा गरिएको नयाँ सम्झौताले लिभरपुलको आम्दानी वृद्धि भएको डेलोइटले जनाएको हो। यता पछिल्ला ३ वर्षमा दोस्रोपटक च्याम्पियन्स लिगको फाइनल खेलेको इटालियन सिरी ए च्याम्पियन युभेन्टस् सूचीको दसौं स्थानमा रह्यो। लगातार छैठौंपटक सिरी ए को उपाधि चुमेर युभेन्टस्ले इटालियन राष्ट्रिय कीर्तिमानसमेत बनाएको छ। युभेन्टस्ले कुल ४ सय ५.७ मिलियन युरो आम्दानी गर्दै अन्तिम दशमा चित्त बुझाएको हो। इंग्ल्यान्डमा जत्तिकै फुटबलको क्रेज भए पनि ब्रोडकास्टिङको बजार भने तुलनात्मकरूपमा इंग्ल्यान्डमा भन्दा कमै रहेको तथ्यांकले देखाउँछ। यसै कारणले गर्दा इटालियन फुटबल क्लबको आम्दानीमा समेत प्रभाव परेको डेलोइटको निष्कर्षमा उल्लेख छ।

डेलोइटले सार्वजनिक गरेको विश्वको सबैभन्दा धनाढ्य २० फुटबल क्लबमध्ये एघारौं देखि २०औं स्थानसम्म क्रमशः टोटनह्याम हट्स्पोर, बोरुसिया डर्टमन्ड, एट्लेटिको मेड्रिड, लेस्टर सिटी, इन्टर मिलान, साल्के, वेस्टह्याम युनाइटेड, साउथह्यामप्टन एफसी, नेपोली र इभर्टन एफसी रहेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्