निमार्ण पुरा नहुँदै भत्कने नेपालका सडक



भद्रपुर, (नेस) । काम सुरु भएको केही दिनमै सडक भत्किन र चर्किन थालेपछि नगरपालिकाले निर्माण कार्यमा रोक लगाएको छ । झापा भद्रपुर नगरपालिका अन्तर्गत वडा नम्बर ५ स्थित नयाँ बजार देखि अमला डाँगी, तारानगर, डाँगीबारी, आपगाँछी हुदै किचकबध भैसावाडी जोड्ने सडक निर्माणाधीन अवस्थामा भत्किन सुरु भएपछि कार्यालयले रोक लगाएको हो ।

नयाँ बजारमा सुरु भएको निर्माण कार्य स्टीमेट भन्दा फरक ढंगले काम गरेको जनगुनासो आउन थालेपछि निर्माण कार्यलाई नगरपालिकाले रोक लगाएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

निर्माण गरिएको कामहरु पुनः भत्काएर नयाँ बनाउने सर्तमा ठेकेदार कम्पनीसंग छलफल भएकोले सोही अनुसार काम गरेमा मात्र निर्माण कार्य सुचारु गर्न दिने श्रेष्ठले बताए । निर्माण कम्पनीका मुल ठेकेदारले पेटीमा ठेक्का दिएकोले गुणस्तरहीन काम भएको स्थानीय बताउँछन ।

हाल भद्रपुरका विभिन्न क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । लुम्बिनी, गजुरमुखी÷एपेक्स जेभीले ठेक्का लिएपनि सम्बन्धित कम्पनीका इन्जिनियर फिल्डमा देखा परेका छैनन् । कम्पनीले मिस्त्री तथा लेवरलाई निर्माण कार्यको जिम्मा दिएकोले गुणस्तरहीन काम भइरहेको स्थानीयबासीको आरोप छ ।

निर्माण कार्यमा कमशल सामग्री प्रयोग गरिएकोले अहिले नै नाला भत्किन र चर्किन थालिसकेको स्थानीय मोहम्मद बालीले बताए । निर्माणस्थलमा रहेको लेवर तथा मिस्त्रीलाई यस बारेमा बुझ्दा उनीहरुले कुनै प्रतिक्रिया नदिएको उनले गुनासो गरे । निर्माण कम्पनीले काम राम्रो नगरेको रायिना खातुनले बताइन् । नालाको ढालन र पिलर उठाउन थालिसकेपनि अहिले सम्म पानी नहालेको उनको भनाइ छ ।

नगरपालिकाले निर्णय गरी छनौट गरी पठाएका योजनाहरुलाई शहरी विकास तथा भवन निर्माण डिभीजन कार्यालयले स्थलगत फिल्ड सर्वे गरी स्टीमेट बनाइ ठेक्का लगाएको हो । नालासहित सडक विस्तारको स्टीमेट बमोजिम नगर क्षेत्रमा निर्माण गरिने सडक ४० मिटर हुनुपर्ने तोकिएको छ ।

तर, अहिले नगरमा निर्माण कार्य सुरु भएपछि विभिन्न वडामा ३० वा ४० मिटरको विवाद बल्झिएको छ । ४० मिटर सडक विस्तार गर्दा हाल सडक छेऊमा रहेको भौतिक संरचना भत्काउनुपर्ने अवस्था सृजना भएपछि स्थानीय र नगरपालिका बीच विवाद बढेको छ । एउटै वडाका केही स्थानीयले ४० मिटरको माग गरेका छन, भने केही स्थानीय ३० मिटरको माग राखेकोले विवाद देखिएको नगरपालिकाले जनाएको छ ।

भद्रपुर ५, ६, १० नम्बरको वडामा केही विवाद देखिएको नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले जानकारी दिए । नगरपालिकाले काम राकिदिएपछि ठेकेदार बेपत्ता भएका छन् । ठेकेदारले कामदारको पारिश्रमिक, पसलवाट ल्याएको खाद्यन्यको रकम समेत नदिएर विचल्ली बनाएको कामदारले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्