सामान्य ज्ञानकी असामान्य महिला



कमल ढकाल
नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की सबैलाई थाहा छ। तर त्यही न्यायाधीश बनाउने ढोका खोल्ने नेपालकै पहिलो महिला न्यायाधीश को हो भन्ने धेरैलाई थाहा नहुन सक्छ। इतिहास बिर्सन्छ। नयाँ इतिहासले पुरानो इतिहास धुमिल बनाउन खोज्छ। तर हैन इतिहास बिर्सन मिल्दैन। नयाँ इतिहासले पुरानो इतिहास धुमिल बनाउनै मिल्दैन। यस्तै इतिहास बनाउने एक महिला पात्र हुन् शारदा श्रेष्ठ। आधा शताब्दि भयो त्यो इतिहास बनेको।

२०२३ साल अहिले ५१ वर्षको भयो। त्यही सालमा कास्की र लमजुङको भूमिसुधार स्पेसल कोर्टमा काम गर्ने गर्थिन् शारदा श्रेष्ठ। कानुन मन्त्रालय २०२५ मा छिरिन्। त्यसको दुई वर्षपछि जिल्ला न्यायाधीश भएकी हुन् उनी। शारदाले त्यही साल आफ्नो नाममा इतिहास कोरिन्। नेपालको पहिलो महिला न्यायाधीश बनेर।

विज्ञान विषय लिएर पढदै गरेकी शारदा अनायासै नेपाल ल क्याम्पसमा बीएल पढ्न पुगिन्। बीएलको पढाइ सकेको केही वर्षमै उनी सामान्य ज्ञानकी असामान्य महिला बनिन्। नेपालको पहिलो महिला न्यायाधीश को हो भनेमा त्यो उत्तर शारदामै गएर रोकिनुपर्छ। सामान्य प्रश्नको असामान्य उत्तर बनिन् शारदा, इतिहासमै आफ्नो नाम लेखाएर। केही कारणले मात्र प्रधानन्यायाधीश बन्न पाइनन्।

इतिहास बनाउँछु भनेर बन्दोरहेनछ। मात्र काममा लगनशील भएर लाग्नु मात्र पर्छ। इतिहास बनेको आफंैलाई थाहा नहुने रहेछ। शारदालाई भेट्दा यस्तै लाग्यो। काम गर्दै जाँदा शारदाले आफ्नो इतिहास बनेको थाहै पाइनन्। उनको उद्देश्य नेपालकै पहिलो महिला न्यायाधीश हुन्छु भन्ने थिएन। न्याय क्षेत्रमा छिरेकी शारदा न्याय क्षेत्रकै लागि मरिमेटेर काम गर्ने गर्थिन्। त्यही कामले नै उनलाई न्यायाधीश बनायो। इतिहास त्यही रचियो आफसे आफ।

त्यतिबेला महिलाले जागिर खानु नै ठूलो कुरा थियो। घर परिवार मिलाउँदै किचनदेखि सर्वाेच्च अदालतसम्म लाग्नु आफैंमा गाह्रो कुरा हो। छोराछोरी हुर्काउँदै अनि संयुक्त परिवारलाई मनाउँदै शारदाले जागिर खाँदा कति दिन छोराछोरीकै लागि पनि जागिर खानै नजाउँ जस्तो नलागेको होइन उनलाई। आफ्नै आत्मालाई थिच्दै जागिरे जीवनमा दौडिएकी थिइन् शारदा।

पहिले–पहिले अहिले जस्तो एक पटक न्यायाधीश हुँदा सधैंलाई न्यायाधीश भन्ने थिएन। त्यसैले न्यायाधीश प्रशासनमा पनि आउथ्यो। सर्वाेच्चको रिसर्च अफिसर , डिपुटी रजिस्टार, प्रोजेक्ट चिफ हुँदै अञ्चल न्यायाधीश बनेकी थिइन् शारदा। लुम्बिनी, सगरमाथा हुँदै प्रजातन्त्रपछि पुनरावेदनमा नियुक्ति भएकी शारदा सर्वाेच्चबाट २०६५ सालमा रिटायर्ड भएकी हुन्।

समयको रोटेपिङ खेल्दै जाँदा शारदाका पनि थुप्रै किस्सा र कहानी बनेका छन्। एक पटक अञ्चल अदालत राजविराजमा महिला न्यायाधीश कस्ता हुन्छन् भनेर मान्छेको हुलले हेर्न आउँदा उनी आफंै चकित परेकी थिइन्। मास टु मास त्यो कुरा फैलिएपछि धेरै मान्छे उनलाई हेर्न आउँथे। केटी मान्छेलाई श्रीमान् नमस्कार भनेर भन्दा सबै जिल्ल परेर हेर्थे। त्यही कुराले कहिलेकाहीं उनलाई पनि अफ्ठ्यारो पथ्र्याे। उनको कुरा नेपाली महिला, न्यायालय र न्याय क्षेत्रका विद्यार्थीका लागि गतिलो खुराक बन्न सक्छ।

विज्ञान विषय लिएर पढ्दै गरेकी शारदा अनायासै नेपाल ल क्याम्पसमा बीएल पढ्न पुगिन्। बीएलको पढाइ सकेको केही वर्षमै उनी सामान्य ज्ञानकी असामान्य महिला बनिन्। नेपालको पहिलो महिला न्यायाधीश को हो भनेमा त्यो उत्तर शारदामै गएर रोकिनुपर्छ। त्यहाँबाट लगातार बढेको उनको यात्रा चार दशकसम्म न्याय क्षेत्रमै रिटायर्ड नहुञ्जेल चलिर≈यो। उमेरको हदका कारण सर्वोच्च अदालतबाट रिटायर्ड भएकी शारदा थोरै समयका कारण मात्रै नेपालकी पहिलो महिला प्रधानन्यायाधीश बन्न पाइनन्।

कुमारीपाटीमा रहेको उनको घरमा जाँदा शारदाको शिष्टता प्रष्टै झल्कन्थ्यो। मान्छे देख्नेबित्तिकैको उनको चियरअप मन छुने खालको थियो। न्याय क्षेत्रमा धेरै ज्ञान बटुलेकी उनी आफूलाई नजानेको जसरी प्रस्तुत गर्दिरहिछन्। लाग्यो त्यसै लेखेका हैनन् कवि शिरोमणिले– ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?’ भनेर।

न्यायाधीशलाई न्याय मूर्ति भनिन्छ तर उसको पनि दिल हुन्छ। कहिलेकाहीं यस्ता केस आउँछन् जसले न्यायाधीश आफैंलाई नबिर्सने केस बनाइदिन्छन्। ओक्लोहामा बसेको केटासँग बिहे गरेर डिपेन्डेन्ट भिसामा अमेरिका पुगेकी नेपाली महिलाको केस उनको नबिर्सने केसमध्ये पर्छ। नेपाली केटाले बिहे गरेर लगेपछि विदेशमा लगेर डिभोर्स दिएकै कारण नेपालमा आएर सम्पत्ति मुद्दा हालेकी सविनाको कसमा अन्तर्राष्ट्रिय ल लागेन। सविनाले डोमेस्टिक ल को कारण मुद्दा जितेकी थिइन्।

पहिला सोसाइटी अगाडि जान्छ पछि–पछि कानुन लाग्छ। त्यसैले कानुन समयअनुसार परिमार्जन भएकै हुन्छ। नेपालमा पनि कतिपय कानुन जीर्ण भइसके। राजनैतिक माखेसाङ्लोका कारण कानुनको रिनोभेसन हुन सकेको छैन। मान्छेको आस्थाको केन्द्र हुनुपर्ने हो न्यायालय। मन्दिरजस्तै। त्यहाँ गएपछि न्याय पाउँछु भन्ने हुनुपर्छ। लोभको कारण न्यायाधीश रनभुल्लमा पर्दा न्यायालयको इज्जत हुन सकेको छैन। कतिपय अवस्थामा नेपालमा मुद्दा गर्छु भन्नेले दशांै वर्षदेखि कागज मिलाएर मुद्दा लडेका पनि छन्। कानुनले मिलाउन नसकेको कुरा मिलाउने न्यायाधीश नै सच्चा न्यायदूत हुन्छन्। उनी आफू पदमा रहुन्जेल आफूलाई सच्चा न्यायाधीश बनाउन हरहमेशा तल्लीन रहेको बताउँछिन्।

आज उनी रिटायर्ड भएको पनि लगभग दश वर्ष पुगिसक्यो। तर पनि कानुन भन्यो कि उनको आँखा र कान एकै पटक तनक्क तन्किन्छ। न्याय उनका लागि प्रिय शब्द लाग्छ। अन्याय अप्रिय। प्रिय र अप्रिय शब्द र मान्छेका बीच उनी आफूलाई प्रिय बनाउने धुनमा लागिरहेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्