नेपालका मातृभाषा लोप हुन लागेकै हुन त ? ५६ भाषा मरणासन्न अवस्थामा



नेपाल समाचारपत्र, धुलिखेल । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले भाषाको विकास र संरक्षणका लागि विगत र वर्तमान अवस्थाका बारेमा संश्लेषण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

प्रदेश नं ३ का जिल्लालाई केन्द्रित गरी ‘भाषा आयोगको मार्गचित्र निर्माण एवम् भाषासम्बन्धी अन्तक्र्रियात्मक’ कार्यक्रममा अवस्थीले भाषाको विगतको विरासत र अहिलेको वर्तमान अवस्थाबीचमा भिन्नता रहेकाले त्यसको संश्लेषण गरी अगाडि बढ्न आवश्यक भएकामा जोड दिनुभयो ।

अवस्थीले भन्नुभयो “स्थानीय तहको संवाहक भनेको भाषा हो, त्यसको विकास स्थानीय तहबाट नै गर्न जरुरी छ ।” उहाँले नेपालमा हाल ३५ प्रतिशतले मात्रै मातृभाषा बोल्ने गरेको उल्लेख गर्दै बाँकी भाषा लोप हुने अवस्थामा रहेकाले त्यसको संरक्षण र विकास स्थानीय तहले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भाषा मानव जीवनको पहिचान र संस्कृतिसमेत भएकाले भाषा मेटिन लागेको अवस्थालाई जोगाउन आवश्यक रहेको बताउनुभयो । ब्याञ्जुले भन्नुभयो– “जसले भोलिको दिनमा आफ्नो पहिचान र इतिहासलाई संरक्षण गर्न चाहन्छ, उसले भाषाको संरक्षण र विकास गर्न लाग्नुपर्छ ।” अब प्रत्येक प्रदेशले आफ्नो प्रदेशभित्र बोलिने भाषाको सङ्ग्रहालय नै खोल्न जरुरी रहेको सुझाव उहाँले दिनुभयो ।

कार्यक्रममा भाषाविद् धनराज रेग्मीले नेपालमा रहेका एक सय २३ भाषामध्ये ५६ भाषा मरणासन्न अवस्थामा रहेको जानकारी दिँदै त्यसका लागि भाषा आयोग केन्द्रीय विभागले मातृभाषालाई प्राथमिक शिक्षामा जोड दिन आवश्यक छ भन्नुभयो । उहाँका अनुसार त्रिविले ९६ भाषा सर्वेक्षण गरिसकेको र बाँकी भाषाको अवस्थाका बारेमा पनि सर्वेक्षण भइरहेको छ ।

आयोगले देश सङ्घीयतामा गइसकेका अवस्थामा केन्द्रले मात्रै नभई प्रदेश र स्थानीय तहबाट नै कसरी भाषाको संरक्षण र विकासमा लाग्न सकिन्छ भन्ने विषयमा मार्गचित्र निर्माण गर्नका लागि त्यस खालको कार्यक्रम गरिएको जनाएको छ ।

कार्यक्रममा ३ नं प्रदेशका काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौँ, नुवाकोट, रामेछाप, सिन्धुलीलगायत जिल्लाका भाषाका क्षेत्रमा काम गरिरहेका सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधि र शिक्षकको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्