म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान, नागरिकमा उत्साह



नेपाल समाचारपत्र, म्याग्दी

स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान आज म्याग्दी जिल्लामा शान्तिपूर्ण रुपमा भैरहेको छ । झण्डै २० वर्षको अन्तरालमा पहिलोपटक हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा नागरिकहरुको उत्साहजनक सहभागीता रहेको छ ।

जिल्लाको सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदानको कार्य भैरहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । मतदानका लागि ज्येष्ठनागरिक, गर्भवती महिला, बिरामी, अपाङ्गतालगायतलाई भने लाइन नबसीकनै मतदान गर्न पाउने व्यवस्था मिलाइएको मतदानमा खटिएका कर्मचारीहरुले बताएका छन् ।

म्याग्दीका सबै स्थानको मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान भैरहेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५९ ओटा मतदान केन्द्रबाट प्राप्त जानकारीअनुसार १४ हजार अर्थात् करिब ४० प्रतिशत मत खसिसकेको छ । बाँकी मतदान केन्द्रको विवरण सङ्कलन गर्ने कार्य जारीरहेको निर्वाचन अधिकारी पौडेलको भनाई छ ।

सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताउनुभयो । मतदान स्थल र केन्द्रको बारेमा बुझ्नका लागि जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित आफुहरुको टोली संवेदनशिल स्थानको स्थलगत अनुगमनमा निस्किएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ ।

कुल ७१ हजार ४ सय ६३ मतदाता रहेको म्याग्दीमा ७२ मतदान स्थल र १०२ ओटा मतदान केन्द्रहरु तोकिएको छ । बेनी नगरपालिकासहित ६ वटा स्थानीय तह रहेको म्याग्दीमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले एकापसमा तालमेल गरी चुनाबी मैदानमा उत्रिएका छन् ।

यसैबीच हिमालपारीको जिल्ला मुस्ताङमा पनि बिहानदैखि सौहार्दपूर्ण वातावरणमा मतदान भैरहेको जिल्ला निर्वाचन अधिकारी सीताराम शर्माले बताउनुभएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सम्जोङ आधारभूत विद्यालयको केन्द्रमा अहिलेसम्म सबैभन्दा बढी मतदान भएको निर्वाचन कार्यालय मुस्ताङले जानकारी दिएको छ ।
कार्यालयका अनुसार कुल ३७ ओटा मतदान केन्द्र रहेको मुस्ताङमा अहिलेसम्म करिब ३५ प्रतिशत मतदान भैसकेको छ । केही ठाउँको मतदान केन्द्रमा नेटवर्क नटिप्ने र दुर्गम भएका कारण मतदानको अवस्थाबारे बुझ्न कठिनाई भए पनि मतदान शान्तिपूर्ण रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्