मतदाता भन्छन्–यस पटक मत सदुप्रयोग होस्



काठमाडौँ, ३१ वैशाख । काठमाडाँै महागरपालिका–११ की जानुका तिवारी २० वर्षपछि स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि छान्न पाएकामा खुसी हुनभएको छ ।

स्थानीय तह स्थानीय सरकार भएकाले जनप्रतिनिधि चुनिएपछि विकासनिर्माणको काम अघि बढ्ने विश्वास उहाँ राख्नुहुन्छ । बबरमहलस्थित नेपाल टेलिकमको मतदान केन्द्रमा मतदान गर्नुभएकी उहाँ आफूले हालेको मतको सदुपयोग होस् भन्न चाहनुहुन्छ । ‘‘यसअघि पनि स्थानीय निकायमा मतदान गरेको थिएँ’’उहाँ भन्नुहुन्छ, ‘‘तर त्यति बेला सुदपयोग भएन तर अब भने जननिर्वाचित प्रतिनिधिले जनादेश सदुपयोग गरेर विकास निर्माणमा ध्यान दिनुपर्छ ।’’

यस्तै पहिलोपटक स्थानीय निर्वाचनमा मतदान गर्नुभएका बुद्धनगरका राजन बुर्लाकोटी पनि आफूले हालेको मत सदुपयोग हुने होस् भन्न चाहानुहुन्छ । स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने भएकाले जनप्रतिनिधिले यहाँको विकासनिर्माण गर्नुपर्ने बताउँछन । उहाँले अहिलेको निर्वाचन संविधान कार्यान्वयन गर्ने परिदृश्यका रुपमा समेत रहेको औल्याउँदै राजनीतिक दलले २० वर्ष नभई प्रत्येक पाँच पाँच वर्षमा स्थानीय तहको निर्वाचन गरेर स्थानीय तहको विकास निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसैगरी ८५ वर्षीय भक्तबहादुर महर्जन स्थानीय निर्वाचनमा दलभन्दा पनि स्थानीय विकास गर्ने व्यक्तिलाई मतदान गरिएको बताउनुहुन्छ । ‘‘स्थानीय निर्वाचनमा दलभन्दा व्यक्ति हेर्ने हो’’, उहाँले भन्नुभयो, ‘‘त्यसले टोलको विकास गर्नसक्ने व्यक्तिलाई भोट दिएँ ।’’
उहाँ यसअघि मतदान गरे पनि जनप्रतिनिधिले भनेजस्तो सदुपयोग गर्न नसकेको भन्दै यस पटक भने आफूले हालेको मत सदुपयोग हुनेमा आशावादी हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्