अपहरणकारीहरु नउम्किऊन्



काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै पाँच विद्यार्थी अपहरणमा परेको घटनाले अविभावकहरु त्रसित भएका छन् । अपहृत विद्यार्थीलाई सकुसल उद्धार गरिए पनि अपहरणकारीको पहिचान गरी तुरुन्तै पक्राउ गर्न नसक्दा उनीहरु उम्किन सक्ने सम्भावना बढेर गएको देखिन्छ । त्यसैले अपहरणकारीको तीव्र खोजी गरी उनीहरुलाई पक्रन प्रहरीले कुनै कसरत बाँकी राख्नुहुँदैन ।

मुखमा माक्स र हातमा पञ्जा लगाएर आएका तीनजना अपहरणकारीले विद्यालयको कम्पाउन्डबाहिर चौरमा खेलिरहेका ती विद्यार्थीलाई मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमूल पुर्याएका थिए । कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुभाष खड्का, निशान्त चौधरी, रत्नेशकुमार जैसवाल र दीपक जैसवाललाई उनीहरूले अपहरण गरेर लगेका थिए । २० देखि २५ वर्ष उमेरका अपहरणकारीले ती कलिला विद्यार्थीलाई अपहरण गरेर थापाथली पुर्याएपछि अपहरणकारीको हातमा टोकेर नवउद्दिन मन्सुरी भने बीचबाटोमै भाग्न सफल भएको समाचारमा जनाइएको छ । बाँकी विद्यार्थीलाई शंखमूलको पुलबाट पारि लैजान खोज्दा एक विद्यार्थीले ‘हेल्प मी’ भनेर चिच्याएपछि स्थानीयले थाहा पाएका थिए । त्यसपछि मात्र अपहरणकारीहरू बालकहरुलाई छोडेर भागेका थिए । स्थानीय एवं प्रहरीको सहयोगमा अपहृत सबै विद्यार्थी बुधबार नै अभिभावकको सम्पर्कमा आइसकेका छन् ।

यसरी दिनदहाडै बालकहरु अपहरणमा पर्न थालेपछि विद्यालय प्रशासनसहित अभिभावकसमेत चनाखो रहनुपर्ने देखिन्छ । निर्वाचनको माहोल बनिरहेको समयमा यस किसिमका आपराधिक क्रियाकलाप हुनुभित्र विभिन्न षड्यन्त्र हुन सक्छन् । आममानिसको ध्यान मोड्न वा मौकाको फाइदा उठाउन पनि यस्तो क्रियाकलाप भएको हुन सक्छ । ‘सामान्य परिवारमा जन्मिएका ती स्कुले विद्यार्थीलाई अपहरणकारीले किन अपहरण गरे भन्ने बारेमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । सो प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ठूले राईले अपहरणकारीको खोजीकार्य जारी रहेको र प्रहरीले समयमा नै उक्त घटना थाहा पाएकाले कुनै अप्रिय घटना हुन नपाएको जानकारी दिनुभएको छ । अपहरणकारी पक्राउ परे पनि राजनीतिक दबाबमा उनीहरु उम्किन सक्छन् । यसमा प्रहरीको सक्रियता जरुरी छ । यस समयमा बालबालिका मात्र होइन, ठूला मानिस एवं राजनीतिक व्यक्तित्वहरुसमेत अपहरणमा नपर्लान् भन्न सकिन्न । त्यसैले सबै जना सचेत हुनै पर्छ । राज्य प्रशासनले पनि अपहरणकारीलाई हदैसम्मको कारबाही गरेर देखाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्