निर्वाचनप्रतिको जनलहर



लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनप्रति जनलहर उर्लिएको छ । पहिलो चरणमा तीन प्रदेशमा पर्ने ३४ जिल्लाको २ सय ८३ स्थानीय तहमा हुने निर्वाचनको लागि उम्मेदवारी दर्तामा जुन हर्षोल्लासका साथ जनलहर देखियो, यसले दोस्रो चरणको निर्वाचन पनि उत्साहका साथ हुने संकेत देखाएको छ । नयाँ संविधान र स्थानीय निर्वाचनप्रति असन्तुष्टि जनाइरहेका मधेसी दलहरुले संविधान संशोधन नहुने आशंका व्यक्त गर्दै दोस्रो चरणको निर्वाचनविरुद्ध आन्दोलनको तयारी गर्न जुटे पनि पहिलो चरणको निर्वाचनको माहोल हेर्दा आमजनता निर्वाचनको पक्षमा रहेको प्रस्ट भएको छ ।

निर्वाचनको मनोनयनका क्रममा देखिएको उत्साहले निर्वाचन होला र ? भन्ने आशंकालाई पनि हटाएको छ । निर्वाचन एकै चरणमा हुन नसके पनि स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले पहिलो चरणको निर्वाचन सम्पन्न भयो भने दोस्रो चरणको निर्वाचनको लागि पनि उपयुक्त वातावरण बन्ने देखिन्छ । संविधान र निर्वाचनप्रति असन्तुष्ट रहेका नवगठित राष्ट्रिय जनता पार्टी नेपालबाहेक सबै दलहरुले निर्वाचनमा भाग लिएका छन् । दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालले पनि भाग लिने वातावरण बनाएमा निर्वाचनप्रति अन्य खासै चुनौती देखिँदैन ।

स्थानीय जनताले नै आवश्यकता महसुस गर्ने, आवश्यकताअनुसारको कार्ययोजना पनि स्थानीय जनताले नै बनाउने र स्थानीय जनताले नै कार्यान्वयन गर्ने यस महत्वपूर्ण परिवर्तनलाई संस्थागत गर्न र मुलुकलाई समृद्धितर्फ उन्मुख बनाउन निर्वाचनबाट चुनिने जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले पनि यो स्थानीय तहको निर्वाचनप्रति उत्साह बढेको हो । यस उत्साहले दोस्रो चरणको निर्वाचनका सम्भावित चुनौतीहरुलाई पन्छाउँदै अघि बढ्न सरकारलाई ऊर्जा प्राप्त भएको देखिएको छ ।

पहिलो चरणको निर्वाचनपछि मत गणना गर्दा दोस्रो चरणको निर्वाचनमा असर पुग्ने, मत गणना नगर्दा मतपेटिका सुरक्षाको चुनौती बढ्ने जस्ता केही महत्वपूर्ण कुराहरुको बारेमा दलहरुबीच छलफल चलिरहे पनि निर्वाचनका लागि ३४ जिल्लामा मनोनयन दर्ताका क्रममा देखिएको जनलहर र उत्साहले मुलुक निर्वाचनमय भएको भान भएको छ । यो उत्साहले संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष २०७४ माघ ७ गतेसम्म गरिसक्नुपर्ने तीन तहको निर्वाचनको लागि पनि वातावरण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्