राजदूतहरुको भूमिका



पछिल्लो समयमा अमेरिकामा रहेका नेपालीले त्यहाँस्थित नेपाली राजदूत डा. अर्जुन कार्कीसँग भेटघाटको प्रयास गर्यो भने त्यस्तो कुरा नचिताए पनि हुने गरेको समाचार प्रकाशमा आएको छ । कुनै पनि मुलुकमा नेपालले दूतावास खोल्नु र त्यहाँ राजदूत पठाउनु भनेको दुई मुलुकबीचको सम्बन्ध सुदृढीकरणका अतिरिक्त, आफू रहेको मुलुकमा रहेको नेपाली समुदायको रेखदेख, उनीहरुलाई परेको समस्या समाधानका लागि अनवरत प्रयास तथा दुई देशबीचको सम्बन्धका पुराना पाटाहरुलाई जोगाउँदै नयाँ पाटाहरुको पहिचान गरेर अगाडि बढाउनु पनि हो। तर, हालै आएको समाचारमा गरिएको गुनासोलाई आधार मान्दा विश्वकै महाशक्ति राष्ट्रमा रहेका राजदूत यी मामिलामा बेखबर रहेको कुरा आएको छ । यस्तो हुनु सरासर गलत कुरा हो ।

यस्ता घटना अमेरिकाका हकमा मात्रै होइन अन्य देशमा रहेका राजदूतहरुका बारेमा पनि बारम्बार आउने गरेको छ । यसमा करियर डिप्लोम्याट हुन् वा राजनीतिक नियुक्तिका नै किन नहुन् उनीहरुले अवाञ्छित गतिविधि गरेका कुरा विगतमा पनि छरपष्ट रुपमा नै आउने गरेका हुन् । यसो हुनुमा उनीहरुलाई अनुगमन गर्नुपर्ने परराष्ट्र मन्त्रालयको सुस्ततालाई पनि लिने गरिएको छ । परराष्ट्र मन्त्रालयले समयसीमा तोकेर काम गर्न निर्देशन दिने र त्यो पूरा भए नभएको बारेमा नियमित रूपमा अनुगमन गर्ने हो भने त्यस्ता समस्या कम हुने थिए होलान् । तर, त्यतातर्फ ध्यान दिएको पाइएको छैन। त्यसैले राजदूतहरुलाई ‘बिजनेस’ दिने काममा सरकार गम्भीर रूपमा लागि परोस्। नत्र दूतावास खोलेर खर्च गर्ने तर उपलब्धी शून्य भयो भने दूतावास हुनु र नहुनुको कुनै अर्थ रहँदैन । कुनै पनि मुलुकको दूतावासले आफू रहेको मुलुकमा लाभहानीकै मात्रै वा ब्यापार मात्रै गर्ने पनि होइन। कतिपय अवस्थामा उपस्थिति मात्रै पनि महत्त्वपूर्ण कुरा हुन्छ ।

तथापि रणनीतिक हिसाबले पनि राजदूतले के गर्न सक्यो वा सकेन भन्ने बारेमा मूल्यांकन गर्नु जरुरी रहेको छ । राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दडित पनि गर्नुपर्दछ । जस्तो कि कुनै पनि मुलुकमा रहेको राजदूतले के कति उच्चस्तरीय भ्रमण गराउन सक्यो, राष्ट्रिय नीतिका बारेमा अन्तर्राष्ट्रिय जगतलाई बुझाएर के कति समर्थन ल्याउन सक्यो, विकास निर्माणको क्षेत्रमा सहयोग जुटाउन सक्यो कि सकेन ? रोजगारीको वातावरण कति सिर्जना गर्न सक्यो? सम्बद्ध देशबाट के–कति क्षेत्रमा लगानी भित्र्याउन सक्यो ? सम्बद्ध देशमा रहेका नेपाली समुदायलाई के कसरी मद्दत पुर्याउन सक्यो वा सकेन यस्ता आधारहरुमा रहेर सरकारले राजदूतहरुको मूल्यांकन गर्ने हो भने आगामी दिनमा अमेरिकामा रहेका नेपाली समुदायले गरेको जस्तो गुनासो कतैबाट पनि दोहोरिनेछैन । त्यसैले राष्ट्रको जिम्मेवारी बोकेर नियुक्त हुनुअघि सैकडौं प्रतिबद्धता जनाएर गएका राजदूतहरुलाई के गरिरहेका छौ भनेर सोध्न सरकार हिच्किचाउनु जरुरी छैन । उनीहरुलाई राष्ट्रिय हितका क्षेत्रमा परिचालन गर्न सक्नुपर्छ । राष्ट्रको नीतिअनुसार नचल्नेलाई कारवाही गर्न पनि सरकार पछि पर्नु हुन्न । यसो भएमा मात्रै उनीहरुलाई मूल लक्ष्यतिर उन्मुख गराउन सकिनेछ । यसतर्फ सम्बद्ध निकायहरुको अविलम्ब ध्यान जानु जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्