मतदान गर्दा विचार गरौं



स्थानीय निर्वाचनको मिति नजिकिँदै छ । लामो समयपछि हुन लागेको यो निर्वाचनप्रति आमजनतामा उत्साह छाएको छ । स्थानीय तहमा अधिकारका सूची बढाएसँगै यो निर्वाचनमा आकांक्षी उम्मेदवारहरुको संख्या पनि व्यापक बढेको छ । संरद्मा अबद्ध राजनीतिक दलहरु मात्र हैन राजनीतिलाई सुधार्न भनेर आएका नयाँ दलहरुका नेताहरु पनि स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन् । उनीहरुले निर्वाचनमा विजयी भए आफ्नो स्थानीय तहलाई कसरी विकास गर्ने भन्ने भिजन र मिसनसमेत सार्वजनिक गरिरहेका छन् । संविधानतः गाउँपालिका तथा नगरपालिकाबाट कार्यान्वयन गरिने काम कार्वाही र स्थानीय तहको अधिकार बढेसँगै गाउँमै सिंहदरबार पुगेको महसुस पनि गरिन्छ । स्थानीय तहमा पाइने सेवा–सुविधालाई हेर्दा आमजनतालाई सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने देखिन्छ ।

स्थानीय जनताले नै आवश्यकता महसुस गर्ने, आवश्यकताअनुसारको कार्ययोजना पनि स्थानीय जनताले नै बनाउने र कार्यान्वयन गर्नेजस्ता महत्वपूर्ण परिवर्तनलाई संस्थागत गर्न र मुलुकलाई समृद्धितर्फ उन्मुख बनाउन निर्वाचनबाट चुनिने जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहन्छ । नयाँ संरचनाअनुसार मुलुकलाई अघि बढाउन र स्थानीय तहको विकास गर्न सक्षम जनप्रतिनिधिहरुको आवश्यक पर्छ । लोकतन्त्रको मूल जरोको रुपमा लिइने स्थानीय निर्वाचनमा मतदानमार्फत सक्षम जनप्रतिनिधि छनोट गरे मात्र स्थानीय तहले पाएको अधिकारलाई सही रुपमा कार्यान्वयन गर्न सकिन्छ । नेताहरु दलीय स्वार्थ र व्यक्तिगत स्वार्थमा लागेका कारण पटक–पटकका परिवर्तन र परिवर्तनबाट प्राप्त उपलब्धिको सही कार्यान्वयन हुन सकेको छैन ।

निर्वाचनप्रति सबै राजनीतिक दलहरु समहत हुन नसकिरहेको अवस्थामा पनि मुलुकभर निर्वाचनको माहोल बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनबाट झन्डै ३७ हजार जनप्रतिनिधि चुनिदै छन् । भोट माग्न यसको करिब १० गुणा बढी जनप्रतिनिधि तपाईं–हाम्रो घरदैलोमा आउँदै छन् । आममतदाताले दलीय उम्मेदवार हुन् वा स्वतन्त्र उम्मेदवार हुन्, सबैको घोषणापत्रलाई हेरौं, चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुको भिजन र मिसनलाई बुझौं अनि उनीहरुको क्षमताको पनि विचार गरौं । चुनाव नहुन्जेल गाली गर्ने र चुनाव आएपछि त्यही नेतालाई भोट दिने आममतदाताको परम्परागत चलनलाई पनि यसपटक तोडौं । यो निर्वाचनपछि मतदाताहरुले मैले गलत नेता छनोट गरेछु भनेर पछुताउनु नपरोस् । निर्वाचनपछि पनि मैले सही नेता छनोट गरें भन्ने महसुस हुने गरी जनप्रतिनिधि छनोट गर्न आममतदाताले बेलैमा विचार पुर्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्