सडक दुर्घटना न्यूनीकरणमा चासो देऊ



केही दिनयता सवारी दुर्घटनाका समाचार बढेका छन् । गत शनिबार मुक्तिनाथ मन्दिर दर्शन गरी फर्किंदै गरेको एक यात्रुवाहक बस कागबेनीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको समाचार छ । सो दुघर्टनामा ३० जना घाइते भएका छन् । ना ५ ख ६०६७ नम्बरको बस बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित मन्दिर जाने सडकमा दुर्घटना भएको थियो । उक्त बस भिरालो बाटोमा अचानक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको जनाइएको छ । केही दिनअघि मात्रै डोल्पाको ठूलोभेरी नगरपालिका–९, मिठ्ठीमा पनि यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको समाचार आएको थियो । चालकको लापरबाही नै दुर्घटनाको मुख्य कारण हुन सक्छ । साथै पहाडी भेगको साँघुरो र अत्यन्तै कच्ची सडक पनि दुर्घटनाको कारण हुन सक्छ ।

दुर्घटनाको छानबिन त बिस्तारै होला, तर मुक्तिनाथ–जोमसोम सडकखण्डमा दुर्घटनामा परी गम्भीर घाइते भएका तीर्थयात्रीको उपचार गर्न पोखराको मणिपाल शिक्षण अस्पतालले अस्वीकार गरेको भन्ने सामाजिक सञ्जालमा भरिएका भनाइले भने दुखित तुल्याएको छ । घाइते भएका १४ जनालाई हेलिकोप्टरले पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याए पनि अस्पताल प्रशासनले डाक्टरको आन्दोलनका कारण जनाएर उपचार गर्न नमानेको कुरा प्रकाशमा आएको छ । आइन्दा कुनै पनि कारण देखाएर बिरामीलाई उपचारबाट वञ्चित नगरियोस् ।

पहाडी भेगमा डोजरल लगाएर सामान्यरूपमा ट्रयाक खोलिएका अत्यन्तै कच्ची सडकमा पनि यात्रुवाहक गाडी चलाउने गरेको पाइन्छ । यस्ता सडक साँघुरा र कच्ची भएकाले बढी नै जोखिम हुने गर्दछ । त्यसैले सडकको क्षमता हेरेर मात्र यात्रुवाहक गाडी चलाउन अनुमति दिनुपर्ने हुन्छ । त्यस्तै सडकको अवस्था कस्तो छ भन्ने कुरा रिजर्भमा गएका नयाँ चालकलाई् जानकारी नहुँदा पनि दुर्घटना निम्तिन सक्छ । त्यसैले गाडी रिजर्भ गर्नेले पनि सकेसम्म सोही रुटमा चलिरहेको गाडी रिजर्भ गर्नु बुद्धिमानी हुन्छ । साथै चालकले पनि सडकको अवस्था हेरेर मात्र सवारी चलाउनुपर्छ । जबरजस्ती गर्नुहुँदैन ।

स्तरहीन सडक, ओभर कन्फिडेन्स, सवारी साधनको अवस्था नाजुक, क्षमताभन्दा बढी भार, अरु सवारीसाधनसँग प्रतिस्पर्धा गर्ने प्रवृत्ति नै सडक दुर्घटनाका मुख्य कारणहरू मानिन्छन् । बढी कमाउने लोभले जस्तोसुकै सडकमा पनि गाडी लान तयार हुनु, अर्काले पो यात्रु टिपिहाल्छ कि भनेर ओभरटेक गर्नु, पेसेन्जर देख्यो कि अटुन्जेल गाडीमा कोच्नु र अट्न छोडेपछि छतमा हालेर भए पनि गन्तव्यमा लाग्नुजस्ता प्रवृत्ति पनि प्रायजसो यातायात व्यवसायीमा पाइन्छ । त्यसैले सडक दुर्घटना न्यून गर्न चालकको ठूलो हात हुन्छ । यातायातसँग सम्बन्धित सरकारी निकायले पनि प्रभावकारीरूपमा अनुगमन गरी नियमभन्दा बाहिर गएर सवारीसाधन चलाउनेलाई कडाभन्दा कडा कारबाही गर्न पछि हट्नुहुँदैन । यसका साथै सडक सुधारका कार्यलाई पनि निरन्तरता दिनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्