म्यादीमा प्रहरीमा मधेशी युवाकै आर्कषण



कृष्णउदास खनाल, वीरगन्ज,

स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन पर्सा जिल्लाका युवाहरु आकर्षित भएका छन् । तराई–मधेसमा निर्वाचन हुने नहुने दोधार रहेकै बेला यहाका युवाहरूले म्यादी प्रहरी भर्नामा धमाधम आवेदन दिन थालेका हुन् ।

म्यादी प्रहरीका लागि गत शुक्रबार १३ गतेदेखि १७ चैतसम्म आवेदन बुझाउन प्रहरी प्रधान कार्यालयले दरखास्त आहवान गरेपछि चार दिनमा आज सोमबार साझसम्म पर्सामा २ सय ९९जनाले भर्ना हुन आवेदन दिएका छन् । आवेदन फारम करिब ६ सय जनाले लगिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रत्येक दिन विहानैदेखि जिल्ला प्रहरी कार्यालय पर्सामा आवेदन दिनेको भिड बढेको प्रहरी हवल्दार विकाउ यादवले जानकारी दिनुभयो ।
यसैगरी बारामा पनि २ सयभन्दा बढी मधेसी युवाले म्यादी प्रहरीमा आवेदन दिएका छन् । बारामा आइतबारसम्म २ सय १५ जनाको म्यादी प्रहरीमा आवेदन परेको छ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले दिएको जानकारीअनुसार ५ प्रतिशत पहाडी मूलका छन् भने बाँकी मधेसी मूलका युवाले म्यादी प्रहरीमा आवेदन दिएका छन् । मधेसवादी दलहरूले २ नम्बर प्रदेशका जिल्लामा निर्वाचन हुन नदिने घोषणा गरिरहेका बेला स्थानीय युवाहरू भने म्यादी प्रहरीमा भर्ना हुन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा आवेदन दिइरहेका छन् ।
संविधान संशोधन विना मधेशमा चुनाव हुन नदिने मधेसी मोर्चाले उदघोष गरेपनि मोर्चाका कार्यकर्ताले पर्सामा म्यादी प्रहरीमा जान युवाहरूलाई रोक लगाएका छैनन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनावलाई ‘बहिष्कार’ गर्ने रणनीति बनाइरहेको अवस्थामा मधेसमा म्यादी प्रहरी बन्नका लागि मधेसी सामुदायकै युवाहरूको लाम लागेको छ।तराई–मधेसका पर्सा,बारा ,रौटहट धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा पनि मधेसी युवाले म्यादी प्रहरीको लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालयहरूले प्रहरी प्रधान कार्यालयमा जानकारी दिइसकेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालका अनुसार पहाडी जिल्लामा भन्दा तराई–मधेसका जिल्लाहरूमा म्यादी प्रहरीको आवेदन फाराम बढी वितरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्