फोहर पुनर्प्रयोगका लागि पहिलो प्रयास



हेटौंडा,(नेस) ।

शून्य फोहरको अवस्था निर्माणका लागि हेटौंडा उपनगरपालिकाले आइतबारदेखि अर्को महत्वपूर्ण अभियान थालेको छ ।
जैविक तथा अजैविक फोहरजन्य वस्तुहरुलाई स्रोतमा नै छुट्याउने र जैविक फोहरबाट कम्पोष्ट मल, अजैविक वस्तुहरुको पुनर्प्रयोग र रिसाइकलको माध्यमबाट शून्य फोहरको अवस्था निर्माणका लागि नगरपालिकाले अभियान थालेको हो । मानिसको खानेबानी र व्यस्तताका कारण घरघरबाट संकलन हुँदै आएको फोहरको परिमाणमा अजैविक फोहरको परिमाण करिब ५० प्रतिशत पुगेपछि नगरपालिका नया“ सोचमा पुगेको थियो ।
हरियो, निलो र रातो रङ अभियान अन्य नगरमा चर्चाको विषय र अनुकरण गरिएको बेला हेटौंडाले नेपालमा पहिलोपटक सफल परीक्षण गरेको हो । उक्त कार्य सफल बनाउन आआफ्नो घर तथा ब्यवसायबाट निस्कने जैविक र आजैविक फोहरजन्य वस्तु अलगअलग वर्गीकरण गरी सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ ।
नगरपालिकाले हेटौंडा–१०, सिसौघारीमा रहेको सार्वजनिक क्षेत्रमा आधुनिक प्रविधिको हपर जडान गरेको छ । घरबाट छुट्टिएर संकलन हुँदै आएका अजैविक फोहरलाई त्यहाँ पुनर्प्रशोधन गरी औद्योगिक प्रतिष्ठानलाई कच्चापदार्थका रुपमा बिक्री गर्ने लक्ष्य छ । त्यहाँ अजैविक फोहर पुनः छुट्याउन कन्भर्टर जडान गरिएको छ । जैविक फोहर बिक्री गरी नगरपालिकाले यस वर्ष करिब १८ लाख आम्दानी गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाका शहरी योजना, अनुसन्धान तथा वातावरण महाशाखा प्रमुख बीके महर्जनका अनुसार अजैविक फोहरलाई सोलीमा हालेर ६ मिटर र १४ मिटर लामो दुई वटा भाइब्रेटरमार्फत् मानिसले छुट्याउने छन् । यसरी छुट्याइएको फोहरलाई बिक्री गरिने उनले बताए ।
नेपालम पहिलो पटक परीक्षण गर्न लागिएको यस कार्य सफल बनाउन आआफ्नो घर तथा ब्यवसायबाट निस्कने जैविक र आजैविक फोहरजन्य बस्तु अलगअलग वर्गीकरण गरी सहयोग गरिदिन उनले अपिल गरेका छन् ।
नगरपालिकाले गरेको प्रस्तावअनुसार सरकारले यसका लागि ४५ लाख सहयोग गरेको छ । ग्रीन एण्ड क्लिनस“गको सहकार्यमा समेत गरी ५९ लाख लागतमा यस्तो प्रविधि जडान गरिएको हो । त्यहाँ करिब २० जनाले रोजगारी पाएका छन् । माघ १५ देखि उक्त प्रविधि सञ्चालनमा ल्याउने लक्ष्य रहे पनि विभिन्न समस्याका कारण केही ढिलो हुन पुगेको महर्जनले बताए ।

कृषि तथा बनविज्ञान विश्वविद्यालय बन संकायका डिन डा. बलराम भट्टले यसलाई देशको महत्वपूर्ण प्रविधि भन्दै निरन्तरतामा जोड दिएका छन् ।

हाल हेटौंडाको वडा नं २ र ३ बाट मंगलबार र बिहीबार गरी सातामा करिब १० टन तथा वडा नं ४ बाट साताको करिब १४ टन अजैविक फोहर संकलन हुँदै आएको छ । महर्जनले हेटौंडालाई भावी दिनमा इकोटाउन मोडल प्रोजेक्ट सञ्चालनबारे विचार राखेका छन् ।
सबै वडाबाट संकलन भएका फोहोर हेटौंडा–१०, राप्तीतटस्थित फोहर संकलन केन्द्रमा संकलन गरिन्छ । त्यहाँ कुहिने र नकुहिने फोहरलाई छुट्याइन्छ । कुहिने फोहरलाई केन्द्रनजिक स्थापना गरिएको कम्पोष्ट प्लान्टमा राखेर मल बनाउने गरिन्छ । त्यहाँबाट उत्पादन भएका कम्पोष्ट मल बिक्री हुन थालेको छ । यदि पुनर्प्रयोगमा आउन नसक्ने फोहोर भए त्यसलाई डम्पिङ साइटमा गाडेर नष्ट गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्