होटल व्यवसायमा लगानी बढ्दै



नेपालगन्ज, १४ चैत । मध्य तथा सुदूरपश्चिमाञ्चलको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज होटल व्यवसायका लागि उर्वरभूमि बन्दै गएको छ ।

द्वन्द्वकालीन अवस्थामा धर्मराएका यहाँका होटल व्यवसायमा यहाँका होटल व्यवसायमा पछिल्लो आँकडाअनुसार रु सात अर्बभन्दा बढी लगानी भएको छ ।
दैनिक करिब रु एक करोडभन्दा बढीको कारोबार हुने यस क्षेत्रका होटल व्यवसाय पर्यटन व्यवसायको आधारस्तम्भका रुपमा समेत विकसित हुदै गएको पाइन्छ ।

मध्य तथा सुदूरपश्चिमाञ्चलमा सञ्चालित करिब दुई हजार होटलमध्ये बाँके जिल्लामा मात्र साना–ठूला गरी ९०० भन्दा बढी होटल सञ्चालनमा रहेको र प्राय सबैले राम्रो कारोबार गरिरहेका छन् ।

होटल अर्गनाइजेसन, बाँके शाखाका अध्यक्ष निमबहादुर थापाका अनुसार शान्ति सुरक्षामा आएको सुधारले पर्यटकको वृद्धिसँगै यहाँ ठूला अनि सुविधासम्पन्न होटल निर्माणको क्रम पनि ह्वात्तै बढेको हो ।

यस क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि गर्न आकर्षक होटलमात्र पर्याप्त नभएकाले पर्यटनको सम्भावना रहेका स्थानलाई समेत व्यवस्थित बनाउनुपर्ने र सडक तथा यातायातलाई विस्तार गर्न सरकारी चाँसो हुनुपर्ने व्यवसायीको माग छ ।

अर्गनाइजेसनका अनुसार, द्वन्द्वका समयमा असुरक्षाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेपछि बन्द गरिएका होटल पनि अहिले धमाधम खुल्दै गएका छन् भने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।

यस क्षेत्रको पर्यटन व्यवसायमा सघाउ पु¥याउने उद्देश्यले पर्यटनको सम्भावना बोकेका, राष्ट्रिय निकुञ्ज, घोडाघोडी ताल, स्वर्गद्वारी, वाटरपार्क, महेन्द्रपार्क, रानीतलाउ, शुक्लाफाँटा वन्यजन्तु आरक्षणलगायत यस क्षेत्रमा सञ्चालिन पनि होमस्टेलाई व्यवस्थित गर्नुपर्नेमा व्यवसायीहरु जोड दिन्छन् ।

नेपालगन्जमा आउने भारतीयमध्ये केही बर्दिया राष्ट्रिय निकुञ्जलगायत पर्यटकीय क्षेत्रमा अवलोकन भ्रमणमा पनि जाने भएकाले पर्यटन व्यवसायलाई पनि टेवा पुगेको छ ।

नेपालगन्जमा अहिले उच्चस्तरका होटल पनि खुल्ने क्रम बढिरहेको छ । यहा सञ्चालितमध्ये स्नेह, बाटिका, पिस प्लाजा, सेन्टर प्लाजा, सिद्धार्थ भ्यू, किचनहट, मारती नन्दन, इन्द्रेणी, मयुर, दरबार होटल सुविधा सम्पन्नभित्र पर्छन् । अहिले यहाँ होटल सोल्टीसमेत निर्माण भइरहेको छ ।

“वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख आधार होटल व्यवसाय पनि भएकाले यहाँका होटललाई पर्यटकीय दृष्टिकोणले समेत व्यवस्थापन गर्दै लान सकियो भने होटल व्यवसायको भविष्य उज्ज्वल देखिन्छ” – होटल अर्गनाइजेसन बाँकेका अध्यक्ष थापाको तर्क छ । रासस

प्रतिक्रिया दिनुहोस्