‘लाभकर टेलिया सोनेराबाटै असुल गर्नुपर्छ’



नेपाल समाचारपत्र
काठमाडौं
मोबाइल सेवाप्रदायक कम्पनी एनसेल बिक्रीपछिको लाभकर विक्रेता कम्पनीबाटै असुल गर्नुपर्ने विज्ञहरूको सुझाव छ। नेपालको कानुनअनुसार स्थापित कम्पनीले यहाँ व्यापार व्यवसाय गर्दा प्रचलित कानुनअनुसार नै कर तिर्नुपर्ने उनीहरूको भनाइ छ।

एनसेलको बिक्रीका सम्बन्धमा संसद्को सार्वजनिक लेखा समितिले यसअघि नै एनसेलको शेयर खरिद बिक्रीमा नेपालको आयकर कानुनअनुसार पुँजीगत लाभकर विक्रेता कम्पनी टेलिया सोनेरा कम्पनीबाट नै असुल गर्न सरकारलाई निर्देशन दिइसकेको हुँदा टेलिया सोनेराबाट नै पुँजीगत लाभकर असुल गर्नुपर्ने विज्ञहरूले बताएका छन्।

समितिको गत जेठ १६ गते बसेको बैठक र अर्थ समितिको जेठ २१ गते बसेको बैठकले विक्रेता कम्पनी टेलिया सोनेरासँग पुँजीगत लाभकर लिनुपर्ने निर्णय गरेको हुँदा सरकारले अघिल्लो साता विक्रेता कम्पनी टेलिया सोनेरासँग पुँजीगत लाभकर उठाउन गरेको निर्णय सही भएको उनीहरूको तर्क छ।

स्विडेनमा मुख्य कार्यालय रहेको टेलिया सोनेराले एनसेलमा आफ्नो स्वामित्व रहेको ८० प्रतिशत शेयर गत वर्ष मलेसियन कम्पनी एक्जियाटालाई १ खर्ब ४३ अर्ब रुपियाँमा बिक्री गरेको थियो। कम्पनी बिक्री गर्दा प्राप्त भएको रकमको २५ प्रतिशत पुँजीगत लाभकर लाग्ने कानुनी व्यवस्था भए पनि टेलिया सोनेराले पुँजीगत लाभ कर तिर्न आनाकानी गर्दै आएको छ। हाल टेलिया सोनेराले नेपाल छोडिसकेको हुँदा उक्त कम्पनीबाट पुँजीगत लाभकर उठाउन समस्या देखिएको छ।

तथापि, सरकारले कूटनीतिक पहलबाट कर उठाउनुपर्ने विज्ञहरूको सुझाव छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै पूर्वमुख्यसचिव डा. विमल कोइरालाले नेपालमा आएर व्यापार व्यवसाय गर्ने र नाफा आर्जन गरेपछि नेपालको नियमअनुसार कर तिर्नुपर्ने बताउनुभयो। आफूले यो विषय पहिलेदेखि नै उठान गर्दै आएको डा. कोइरालाको भनाइ छ। नेपालमा कारोबार गर्ने तर छोडेर जाँदा लाभकर नतिर्नु गलत भएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्