धुलोले मन्द विषमा राजधानीबासी



पीएम २ दशमलव ५ भन्दा मसिनो धुलोको कणले सीधै मानिसको फोक्सो र रक्तनलीलाई प्रभावित पार्न सक्ने।

टीका बन्धन, काठमाडौं
काठमाडौं उपत्यकामा बिहान घरबाट निस्किएको जोकोही सुकिलो अवस्थामा घर फर्किने वातावरण छैन। एक दिन लगाएको कपडा नधोईकन लाउन मिल्ने अवस्था छैन। यद्यपि केही दिनयता वर्षाका कारण धुलो कम भए पनि राजधानीबासी हिलोले हैरान भएका छन्।

कलंकी–नागढुंगा सडक, कलंकी–कोटेश्वर सडकसहित गौशाला, चावहिल, पूरै चक्रपथ र चक्रपथभित्रका सडक सहज रूपमा ओहोरदोहोर गर्ने कल्पनासमेत गर्न सकिँदैन। विगतका वर्षमा प्रदूषणको मुख्य कारण सवारीसाधनलाई मान्ने गरिए पनि पछिल्लो समयमा सडकसहित पूर्वाधार विकास, इँटाभट्टा, अन्य कलकारखाना, सडकको धुलो र घरायसी गतिविधिले समस्या बढिरहेको विज्ञहरूको तर्क छ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा सरकारले तोकेको मापदण्डभन्दा कैयौं गुणा बढी प्रदूषणको मात्रा बढेको विज्ञहरू बताउँछन्। सरकारले तोकेको मापदण्डअनुसार २४ घण्टाका लागि पार्टिकुलेट म्याटर (पीएम) १० का लागि १ सय २० माइक्रोग्राम प्रति मिटर क्युब व्यावहारिक हुने बताइएको छ। त्यसै गरी पीएम २ दशमलव ५ (२४ घण्टाका लागि) ४० माइक्रोग्राम प्रति मिटर क्युब तोकिएको छ। पीएम धुलो र धुलोको कणको मात्रा मापन गर्ने आधार हो। सडक विस्तार र मेलम्ची खानीपानीको पाइप विस्तारका क्रममा सडक भत्काइँदा बढेको धुलोले प्रदूषणको मात्रा उच्च रहेको वातावरण मन्त्रालय मातहतको वातावरण विभागका केमिस्ट शंकरप्रसाद पौडेल बताउनुहुन्छ।

‘उपत्यकाका अधिकांश ठाउँमा प्रदूषणको औषत मात्रा बढी छ’, उहाँले भन्नुभयो– ‘धेरै ठाउँमा पीएम २ दशमलव ५ को तह नाघेको छ, ४० माइक्रोग्राम मिटर क्युबिक तोकिएका स्थानमा प्रदूषणको मात्रा बढेर ५५, ५६ र कतै ६० समेत पुगेको छ।’ एक महिनायता सो विभाग, राष्ट्रिय योजना आयोग, सडक विभागलगायतका निकायका पदाधिकारी संलग्न टोलीले उपत्यकाका धूवाँ–धुलो प्रदूषित क्षेत्रको अनुगमन गरिरहेको छ। उपत्यकामा ३० देखि ३५ प्रतिशत वायु प्रदूषण सडकबाट निस्किने धुलोको कारणले फैलिने गरेको वातावरणविद् नवराज पोखरेलको तर्क छ। ‘अहिले बढेको प्रदूषणको मुख्य कारण सडक नै देखिएको छ, त्यसपछि सवारीसाधनले फाल्ने धूवाँ, इँटाभट्टा र अन्य औद्योगिक प्रतिष्ठानसहित घरायसी प्रदूषणले समस्या थपिरहेको छ’ –उहाँले भन्नुभयो।

सडक विस्तारका कारण त्रिपुरेश्वर–कालिमाटी–कलंकी, कलंकी–नागढुंगा, कलंकी–बल्खु–सातदोवाटो–कोटेश्वर, जोरपाटी–साँखु सडक खण्ड अत्यधिक प्रदूषित बनेका छन्। यससँगै चक्रपथभित्रका अधिकांश सडक र आसपासका क्षेत्र मेलम्ची खानेपानी आयोजनाको पाइप पुर्ने क्रममा धुलाम्य बनेका छन्। त्यसै गरी पुल्चोक–कुपण्डोल, थापाथली–माइतीघर, जमल–कान्तिपथ–लैनचौर–शीतल निवास खण्ड, नारायण गोपाल चोक–बाँसबारी, महाराजगन्जदेखि गोपीकृष्ण–चावहिल चोक, मित्रपार्क–जयवागेश्वरी–गौशाला, गौशाला–पुरानो बानेश्वर सडक खण्डको अवस्था पनि उस्तै छ। उल्लेखित सडक खण्डमा प्रदूषणको मात्रा औषतभन्दा माथि रहेको वातावरण विभागका केमिस्ट पौडेलले जानकारी दिनुभयो।

अदृश्य रूपमा फैलिने धुलो स्वास्थ्यका दृष्टिकोषले मन्द विषका रूपमा फैलिइरहेको चिकित्सकहरू बताउँछन्। खास गरी पीएम २ दशमलव ५ भन्दा मसिनो धुलोको कणले सिधै मानिसको फोक्सो र रक्तनलीलाई प्रभावित बनाउन सक्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. खेमबहादुर कार्की बताउनुहुन्छ। उपत्यकाको प्रदूषणलाई बजारमा उपलब्ध हुने साधारण प्रकृतिका कपडा र मास्कले छेक्न नसक्ने दाबी गर्दै कार्की भन्नुहुन्छ– ‘साधारण प्रकृतिका मास्क लगाए पनि नलगाए पनि धुलोको मसिनो कणले सोझै मानिसको मुख, घाँटी, फोक्सो र रक्तनलीलाई समेत असर पुर्याउने जोखिम छ।’ धुलोकै कारण आँखा र छालाका रोग संक्रमितहरूसहित वर्षेनी दम र मुटुरोगीको संख्या थपिइरहेको उहाँले बताउनुभयो। कचौरा आकारमा रहेको काठमाडौं उपत्यकाबाट रहज रूपमा प्रदूषित वायु अन्यत्र जान नसक्ने अवस्था रहेकाले पनि वायुको गुणस्तरमा सुधार आउन समय लाग्ने डा. कार्कीको तर्क छ।

छैनन् मापन केन्द्र
काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानमा सन् २००२ मा पहिलोपटक वायु तथा प्रदूषण मापन केन्द्र जडान गरिएको थियो। डेनिस सरकारको अनुदान सहयोगमा पुतलीसडक, पाटन, मच्छेगाउँ, भक्तपुरलगायतका स्थानमा केन्द्र स्थापना गरेर वायुको गुणस्तर मापन गर्न शुरु भएको थियो। करिब ७ वर्ष सञ्चालनमा रहेका केन्द्र हाल पूर्ण रूपमा बन्द छन्। डेनिस सरकारले सन् २००६मा नेपाललाई हस्तान्तरण गरेको केन्द्रको मर्मत संभारका लागि सरकारले खर्च र प्राविधिक जुटाउन नसक्दा केन्द्र निष्प्रभावी बन्न पुगेको छ। अहिले प्रदूषणको समस्या झनै बढिरहेको अवस्थामा वातावरण विभाग र अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसीमोड)को संयुक्त पहलमा मुलुकका विभिन्न ५६ स्थानमा प्रदूषण मापन केन्द्र जडान गर्ने तयारी अघि बढाइएको छ।

उपत्यकाका विभिन्न १३ स्थान र धुलिखेलमा समेत कूल १४ वायुमापन केन्द्र र प्रदूषण मापनका लागि ‘मोबाइल भेन’ समेत सञ्चालन गर्ने तयारी भइरहेको इसीमोडले जनाएको छ। केही महिनाअघि रत्नपार्क, पुल्चोक र धुलिखेलमा स्टेसन जडान भए पनि रत्नपार्कको स्टेसनमा रानीपोखरी मर्मतका क्रममा विद्युत आपूर्ति हुन सकेको छैन। ‘रानीपोखरी मर्मतका क्रममा डोजरले तार चुडाएपछि रत्नपार्कको स्टेसनमा विद्युत् आपूर्ति हुन सकेको छैन, एक हप्ता नाघिसक्यो बत्ति नभएपछि त्यहाँको स्टेसनले काम गरेको छैन’ –विभागका एक अधिकारीले भने।

रत्नपार्कमा अदृश्य धुलोको प्रभाव बढी देखिएको उनले बताए। अहिले पहिचान भएका ५६ स्थानमा स्टेसन स्थापना गर्न अझै १० वर्ष लाग्न सक्ने विभागका पदाधिकारीहरूको अनुमान छ। ‘एउटा पूर्ण क्षमताको मेसिन स्थापना गर्न ५ करोडको हाराहारी खर्च हुने प्रारम्भिक अनुमान छ, पर्याप्त बजेट नभएसम्म एक दुई वर्षभित्रैमा सबै ठाउँमा स्टेसन तयार हुन असम्भव छ,’ –वातावरण मन्त्रालयका एक उच्च अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्