क्रिकेट टिमको आध्यात्मिक गुरुसँग आशीर्वाद



नेपाल समाचारपत्र
काठमाडौं
नेपालले आगामी फागुन २८ र ३० गते आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्यासँग खेल्न मिति नजिकिएको अवस्थामा नेपाली टोलीले आध्यात्मिक गुरू रवि शंकरसँग आशिर्वाद लिएको छ। ४ महिनाको नेपाल भ्रमणमा आउनुभएको रवि शंकरसँग नेपाली टोलीले केही क्षण बिताएको थियो। द आर्ट अफ लिभिङद्वारा आयोजित कार्यक्रममा रवि शंकरले नेपाली टोलीलाई एकाग्रता हुन र मनोबल बढाएमा खेलमा सफलता प्राप्त हुने बताउनुभयो। उहाँले ह्यापिनेस प्रोगाममा नियमित सहभागी जनाएमा नेपाली टोलीले विश्वकप खेल्न र राम्रो प्रदर्शन गर्न सक्ने बताउनुभयो।

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कासहित सबै खेलाडीले द आर्ट अफ लिभिङको ह्यापिनेस प्रोग्रामअन्तर्गत कोर्ष गरेका छन्। क्रिकेटरहरुले सुदर्शन क्रिया भन्ने योग पनि सिकेका छन्। यही आर्ट अफ लिभिङमा गरेको कोर्षकै कारण गत २०१४ को विश्व टी–२० क्रिकेटमा राम्रो प्रदर्शन गर्न सकेको पारसले बताएका थिए। सो कार्यक्रममा आध्यात्मिक गुरू रवि शंकरले खेलाडीसँग अन्तरक्रिया पनि गर्नुभयो भने खेलाडीकोतर्फबाट पारसले आध्यात्मिक गुरूलाई नेपालको जर्सी चिनोको रूपमा प्रदान गरे। त्यस्तै आध्यात्मिक गुरूसँग शरद भेसवाकरले आफ्नो ब्याटमा अटोग्राफ लिएका थिए।

अहिले नेपाली टोलीमाथि केन्यासँग दुवै खेल जित्नै पर्ने दबाब छ। यसैले पनि मन एकाग्रता बनाउन र मनोबल बढाउन नेपाली टोलीले द आर्ट अफ लिभिङमा जानुपर्ने पारसले बताए। उनले भने– ‘यसले हामीलाई खेल्न ऊर्जा दिन्छ। हाम्रो ध्यान एकाग्रता बनाउँछ। त्यस्तै ह्यापिनेस प्रोगामबाट आवश्यक मनोबल बढाउन पनि सहयोग गरेको छ।’

८ टिम सहभागी आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल ६ अंकसहित छैटो स्थानमा रहेको छ। केन्या ८ अंकसहित पाँचौं स्थानमा छ। शीर्ष स्थानमा रहेको न्युजिल्यान्डको १६ अंक, पपुआ न्युगिनीको १२ अंक तथा हङकङ र स्कटल्यान्डसँग ११⁄११ अंक रहेको छ। नेपालले आफ्नै घरेलु मैदानमा खेल्ने केन्याविरुद्धको दुवै खेल जितेमा १० अंकसहित पाँचौं स्थानमा उक्लिनेछ। जितले नेपालका लागि शीर्ष चारमा रहँदै सन् २०१८ मा बंगलादेशमा हुने आईसीसी वानडे विश्वकप क्वालिफायरमा छनोट हुनका लागि आशा बन्नेछ।

प्रतिक्रिया दिनुहोस्