जनतालाई अन्तिम फैसला गर्न देऊ



दुई दशकअघिदेखि हुन नसकिरहेको स्थानीय तहको चुनावको तिथी घोषणा भइसकेको छ । तर, त्यो चुनावको बारेमा अहिले सकारात्मक र नकारात्मक टिप्पणी पनि आइरहेका छन् । जनताको अभिमत लिन जाने कुरामा कसैले पनि विमति राख्नु जरुरी छैन । किनकि आफ्नो देशको बारेमा अन्तिम फैसला गर्ने भनेकै जनताले हो । त्यसैले चुनाव बिथोल्नेतिर कसैले पनि नलागी जनताबाट आ–आफूलाई अनुमोदन गर्नेतिर लागौं ।

लामो समयदेखि चुनाव हुन नसक्दा स्थानीय जनता अहिले कर्मचारीको भ्रष्टतन्त्रबाट आहत भएका छन् । कुनै पनि काम गर्नका लागि आजको कामलाई भोलि भन्ने गरिँदै आएको गुनासो सर्वत्रबाट आइरहेको छ । सेटिङ मिलाएर जनतालाई दुःख दिने प्रचलन तोड्नका लागि पनि सबै पक्ष चुनावमा जानु जरुरी हुन्छ । चुनावका लागि समय पुगेन भनेर यो वा त्यो पक्षले गुनासो गर्नुको पनि औचित्य देखिँदैन । किनकि दुई दशकको समय दिँदा पनि पुगेन भने कति समय दियो भनेचाहिँ पुग्ला ? यो आफैंमा गम्भीर प्रश्न हो । त्यसैले कामचोर कुरा गरेर पन्छिनेतर्फ नलागौं । जो पन्छिने र टार्ने कुरा गर्छन्, तिनलाई कारबाही गरौं ।

चुनावको मर्यादा कायम गर्नका लागि सबै पक्षले निर्वाचन आचारसंहिताको पालना गर्नु पनि उत्तिकै जरुरी रहेको छ । आचारसंहिता पालना नगर्ने पक्षलाई कानुनबमोजिम कारबाही गर्नका लागि निर्वाचन आयोग पछि पर्नुहुन्न । कारबाही गर्ने अवस्था नै आउन नदिनेतर्फ दलहरू लागिपर्नु झनै सुनमा सुगन्ध हुन सक्छ । चुनाव हुँदा र गाउँ–गाउँमा जनताले वास्तविकता बुझ्ने अवसर पाउँदा अनि मुलुकमा भएको परिवर्तन जरैदेखि संस्थागत हुँदा आफूलाई बेफाइदा हुने बुझेर कतिपय पक्षहरू भने यसको विरोधमा लागेको पनि पाइन्छ । तर, उनीहरू पनि वैध हुनको लागि निर्वाचनको प्रक्रियामा जाँचिनुपर्दछ ।

आफ्नो वास्तविक हैसियत प्रमाणित गर्ने अवसर पनि भएकोले कुनै पनि दलले चुनावको विरोध गर्न मिल्दैन । यदि कसैले विरोध गर्छ भने ऊ जनताले पत्याउँदैनन् भनेर भागेको सन्दर्भमा लिनुपर्ने हुन्छ । चुनावमा भाग लिन नचाहनु पनि अधिकारको कुरा हो । तर, आफ्नो अधिकार प्रयोग गर्दा भाग लिन चाहने अरुको अधिकारको भने जबर्जस्तीरूपमा हनन गर्न पाइँदैन । यसतर्फ पनि सम्बद्ध पक्षहरूले ध्यान दिँदै चुनावतर्फ आफूलाई होम्नु जरुरी रहेको छ ।

अहिले पक्ष र विपक्षमा भाला र डन्डा लिएर उत्रनुभन्दा पनि आफ्ना कुराहरू शान्तिपूर्ण माध्यमबाट जनतासमक्ष राखेर उनीहरूको मन जित्नेतर्फ लाग्नु सबैको कर्तव्य हो । यदि यसको पालना गरिँदैन र लिँडेढिपी गर्ने काम हुन्छ भने जनताले परेको बेलामा त्यसको जवाफ दिने कुरा प्रस्टै छ । त्यसैले सबै पक्ष यो महाअभियानमा विनाकुनै पूर्वाग्रह लागौं र जनतालाई अन्तिम फैसला गर्ने अधिकार दिऔं ।

प्रतिक्रिया दिनुहोस्