निषेधको राजनीति नगर



संविधान कार्यान्वयन र राष्ट्रिय एकताको नारासहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली अभियान शुरु गरेर राष्ट्रिय एकताको सन्देश दिन खोजेको छ । एमालेमाथि लागेको मधेस विरोधी आक्षेपलाई चिर्ने कोशिश यो अभियानबाट हुने दाबी एमालेले गरेको छ । मेची–महाकाली अभियानको सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले झापाको कांकडभिट्टाबाट शुरुवात गर्नुभएको छ । एमालेको उक्त अभियानलाई बिथोल्ने घोषणा गरेको मधेसवादी दलका कारण मध्यतराईमा दुई समूहबीच भिडन्त हुने सम्भावना पनि बढेको छ । यसले मुलुकको सुरक्षा चुनौती संवेदनशील बन्दै गएको छ । अभियान कसैको विरुद्ध नभएको बताउँदै आएको एमालेले यस अभियानलाई कसैले बिथोल्न खोजे जे पनि हुन सक्ने चेतावनी दिनुले मुलुक भिडन्ततर्फ जाने हो कि भन्ने आशंकासमेत पैदा गरेको छ ।

एमालेले आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन गर्न दबाब दिने उद्देश्य रहेको बताउँदै अभियान सञ्चलन गरे पनि सो क्षेत्रका जनताको लोभ लाग्दो उपस्थितिले मधेसी मोर्चाले चाहँदैमा उक्त अभियान भाँडिने अवस्था नदेखिएको बुद्धिजीविले बताएका छन् । झन्डै ८ किलोमिटरसम्म र्यालीमा स्थानीय जनता र पार्टी कार्यकर्ताको सहभागिता रहनुले पनि एमाले उत्साहित भएको पाइएको छ ।

एमालेले यो अभियान दोस्रो राष्ट्रिय एकीकरण अभियान भएको बताउँदै आएका कारण पनि तराई क्षेत्रका जनताको सहभागिता बढी रहेको आङ्कलन गरिएको छ । एमालेले यो अभियानलाई राष्ट्रिय एकताको अभियान भने पनि यसले कतै मुलुकको सुरक्षा चुनौतीलाई अझै संवेदनशील बनाउने हो कि भन्नेतर्फ भने ध्यान दिनु जरुरी छ । राष्ट्रियताको नाममा हुने यस प्रकारको अभियान मुलुकको लागि महँगो साबित भने हुनुहुँदैन । यसतर्फ एमालेजनहरूको ध्यान जान जरुरी छ ।

तराईमा एमालेलाई पस्न नदिने घोषणा गरेका मधेसवादी दलको निर्णय आत्मघाती मात्र होइन, मुलुक विरोधीसमेत भएको भन्दा अत्युक्ति नहोला । एकले अर्कालाई यस प्रकारको निषेधको राजनीति गर्ने हो भने मुलुकको अवस्था कहाँ पुग्ला ? यसमा मधेसी मोर्चाले पनि ध्यान दिनु जरुरी छ । आज एमालेलाई मधेस पस्न नदिने घोषणा गरेका मधेसी मोर्चालाई भोलि एमालेले काठमाडौं पस्न नदिने घोषणा गर्यो भने मुलुकको अवस्था के होला ? यसतर्फ पनि मोर्चाले ध्यान दिने कि ?

प्रतिक्रिया दिनुहोस्