फिल्ममा फागुन २४



२०१० सालमा प्यूठानमा भएको किसान आन्दोलनलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म फाल्गुन २४ को राजधानीमा विशेष शो गरिएको छ। नेपाली कम्युनिष्ट आन्दोलनका नेता मोहनविक्रम सिंहद्वारा लिखित फिल्म राजधानीको विश्वज्योती हलमा विशेष शो गरिएको हो।

रक्तिम सांस्कृतिक अभियान काठमाडौंले आयोजना गरेको विशेष शोमा राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीलगायतका नेता तथा बुद्धिजिवी सहभागी भएका थिए। फिल्मका निर्देशक हेमराज आश्रमका अनुसार यो फिल्म सिंहद्वारा लिखित फाल्गुन २४विजयको विहान नाटकमा आधारित छ। रक्तिम सांस्कृतिक अभियान काठमाडौ महानगरपालिका समितिको पहलमा निर्माण भएको फिल्मले २०१० सालमा प्युठानमा भएको किसान आन्दोलनलाई प्रस्तुत गरेको छ। निर्देशक आश्रमले फिल्मको उद्देश्य सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउनु रहेको बताए।

फिल्म हेरेपछि नेता केसीले वर्ग संघर्षमा आधारित रहेर बनेको फिल्म आफुले पहिलोपटक हेरेको जनाउँदै फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य अनिल किशोरले फिल्मलाई देशव्यापी रुपमा प्रदर्शन गरेपछि मात्र व्यावसायिक किसिमले प्रदर्शनमा ल्याइने बताए। फिल्ममा निर्देशक आश्रमका साथ नारायण योगी, रेम राना, विष्णु शर्मा, शुप्रभा थापा, प्रतिभा शर्मालगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्