इन्धन अभाव हुन नदेऊ



राजधानीका पेट्रोल पम्पहरूमा केही दिनयता इन्धन भर्नका लागि सवारीसाधनको भीड लाग्ने गरेको देखिन्छ । उता खाना पकाउने एलपी ग्यासको पनि अभाव हुने हल्लाले उपभोक्ताहरू चिन्तित देखिएका छन् । ट्याङ्कर चालक र ढुवानी व्यवसायीले आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले हडताल गर्दा राजधानीका उपभोक्ताले सहजरूपमा इन्धन पाउन नसकेका हुन् ।

नियमितभन्दा दोब्बर आपूर्ति भइरहेको भनिए पनि इन्धनको अभाव हुनु सरकारको लाचारीपन हो । ट्याङ्कर ढुवानी व्यवसायीले दबाबस्वरूप इन्धन लोड नगरेका कारण बजारमा उपभोक्ताको लाइन देखिएको हो । ढुवानीकर्ताले अनावश्यक विवाद निकाल्दा पनि सरकार भने अझै रमिते मात्रै भइरेको छ । यसको मार भने उपभोक्तावर्गले खेप्नुपरेको छ ।

नेपाल आयल निगमले गत आइतबार ८ सय २५ किलोलिटर, सोमबार ७ सय २३ किलोलिटर र मंगलबार ८ सय ५० किलोलिटर पेट्रोल आपूर्ति गरेको थियो । यो परिमाण नियमित आपूर्तिभन्दा दोब्बर भएको जनाइएको छ । उपत्यकामा सामान्य अवस्थामा दैनिक ३ सयदेखि ४ सय किलोलिटरको माग रहेको समाचार छ । नियमितभन्दा दोब्बर आपूर्ति गरिरहँदा पनि राजधानीमा इन्धन अभावले पम्पमा उपभोक्ताको लाइन लामो देखिएको छ । बुधबार पनि इन्धनको सहज आपूर्ति भएको र ८ सय किलोलिटरभन्दा बढी खपत हुन सक्ने आंकलन गरिएको थियो । यी तथ्याङ्कलाई हेर्दा राजधानीमा इन्धनको छेलोखेलो हुनुपर्ने हो ।

आयल निगमले ढुवानी विनियमावलीमा संशोधन गर्दै व्यवसायीले कम्तीमा ५ वटा ट्याङ्कर चलाउनै पर्ने र प्रत्येक ट्याङ्करमा २ सय लिटर कम इन्धन देखिए दोब्बर कारबाही गर्ने व्यवस्था गरेपछि व्यवसायीले सहज आपूर्तिमा अवरोध गरेको समाचार प्रकाशमा आएको छ । चालक र व्यवसायीहरूले संशोधित विनियमावलीमा असहमति जनाउँदै प्रतिव्यक्ति एक ट्याङ्कर र प्रत्येक ट्याङ्करमा २ सय लिटरसम्म तेल कम देखिए दोब्बर जरिबाना गर्ने प्रावधान हटाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरूले त्यस्तो प्रावधान नहटाए १५ गतेबाट सम्पूर्ण ढुवानी ठप्प पार्ने चेतावनीसमेत दिएको समाचार छ । यस्तै हो भने अब पेट्रोलियम पदार्थको अभाव झनै बढ्ने देखिन्छ । इन्धन व्यावसायी र ट्याङ्कर चालकहरूले आफ्नो स्वार्थवश आपूर्तिमा अवरोध गर्दा त्यसको प्रत्यक्ष मार सर्वसाधारणमा परेको छ । त्यसैले सरकार एवं सम्बन्धित निकायहरूले इन्धन अभाव हुन नदिन बेलैमा पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्