स्ववियु निर्वाचनमा ढंग पुर्याऊ



त्रिभुवन विश्वविद्यालय आबद्ध क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फेरि अन्यौलमा परेको समाचार प्रकाशित भइरहेको छ । निर्वाचन गर्नुपर्ने पक्षमा एकथरी विद्यार्थी संगठन देखिएका छन् भने अर्को थरी निर्वाचन स्थगित गर्नुपर्ने पक्षमा रहेका छन् ।

नेकपा माओवादी विप्लव समूहको विद्यार्थी भ्रातृ संगठनले आइतबार थुप्रै कलेजमा ताला लगाएकोमा सोमबार त्रिवि सम्बद्ध उच्च अधिकारीको गाडीमा आगजनी गर्ने र हुलहुज्जत गर्ने कामसमेत गरेको पाइएको छ । यस खालका हिंस्रक गतिविधि निश्चितरूपमा निन्दनीय रहेका छन् । राज्यले यस्ता गतिविधि रोक्न नसक्नु अझै खेदको कुरा हो । सो संगठनले आफ्नो पार्टीको महाधिवेशन रहेकाले केही दिनलाई स्ववियु निर्वाचन सार्न विगतमा माग गर्दैै आएको तर त्रिवि प्रशासनले नमानेका कारण पछिल्लो विवाद उत्पन्न भएको बताइएको छ ।

कुनै संगठनको इच्छाबमोजिम त्रिविले कदम चाल्ने भन्दा पनि त्रिविको प्रणालीअनुसार विद्यार्थी संगठन चल्नुपर्छ । त्यसमा कुनै विवाद हुन सक्दैन । तर, हप्ता वा १० दिन निर्वाचन सार्दा सबै विद्यार्थी संगठनलाई अनुकूल हुन्थ्यो भने सहमतिमा नै केही दिन निर्वाचन सारेको भए पनि फरक पर्ने थिएन । थप जनधनको क्षतिभन्दा पनि सबैको सहमतिमा काम गरेको भए राम्रो हुने थियो । तर, मेरो गोरुको बाह्रै टक्का गर्ने शैलीका कारण समस्या झन् बल्झेर निकै लामो समयसम्म स्ववियु निर्वाचन नै हुन नसक्ने जस्तो अवस्था सिर्जना भएको छ । राष्ट्रिय निर्वाचनमा जस्तै यसमा पनि कतिपय संगठनलाई निर्वाचनमा जाँदा हारिने डरले सताएको पनि देखिएको छ । निर्वाचनमै नगए सधैँ दादागिरी देखाउन पाइने र निर्वाचनमा गएमा मतपरिणामको आधारमा खुम्चनुपर्ने डर धेरैलाई रहँदै आएको छ ।
त्यसैले, त्रिविले पनि धनजनको क्षति नहुँदै आवश्यक सोचविचार गरेर कदम चाल्नु जरुरी रहेको छ । यदि सक्ने हो भने तोकेको समयमा निर्वाचन गर्नुपर्यो र त्यसमा विमति राख्दै तोडफोडमा उत्रनेहरूलाई कारबाही गर्नुपर्यो । विधिको माध्यमबाट अघि बढ्नुपर्यो । यदि सकिँदैन भने सहमतिमा आएर स्ववियु निर्वाचन गर्नेतर्फ लाग्नुपर्दछ । फागुन १४ गतेको स्ववियु निर्वाचनलाई भन्दै विद्यार्थीले पढाइ छोडेको लामो समय भइसकेको छ ।

अहिले आएर स्ववियु निर्वाचन हुने कि नहुने भन्ने अन्यौलको अवस्थामा पुग्नुले फेरि अप्ठेरो अवस्था सिर्जना भएको छ । त्यसैले स्ववियु निर्वाचन कसरी निर्बाधरूपमा गर्न सकिन्छ, त्यसको निक्र्योल गरी ढंग पुर्याएर काम अघि बढाउनु जरुरी रहेको छ । यसतर्फ सम्बद्ध सबैको ध्यान जाओस् । सरकारले पनि आवश्यक कदम चालोस् ।

प्रतिक्रिया दिनुहोस्