निर्वाचनमा जान को डराउँदै ?



अहिले जताततै निर्वाचनको चर्चा रहेको पाइन्छ तर तिथी घोषणा भने भइरहेको छैन । आखिर किन होला ? यसको जवाफ पनि आफूलाई अनुकूल हुने गरी सबैले व्याख्या गरिरहेका छन् । जस्तो– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाको मागअनुसार निर्वाचन घोषणा नगरिएको बताउँदै आउनुभएको छ । उता सत्तारुढ दल नेपाली कांग्रेसका बहुसंख्यक नेता भने संविधान संशोधन र निर्वाचनको कुनै सम्बन्ध नभएकोले पहिला निर्वाचन घोषणा गर्नुपर्ने बताउँदै आएका छन् ।

मधेसी मोर्चाले भने पहिला संविधान संशोधन गरेपछि मात्रै निर्वाचनमा जान सकिने बताउँदै आएको छ । तर, एउटा प्रणालीमा चल्नुपर्ने मुलुक यसै खालको गोलचक्करमा लामो समयदेखि रुमल्लिदै आएको छ । जबकि संविधानले तोकेअनुसार अर्को वर्षको माघ ७ गतेभित्रमा तीनवटा निर्वाचन गराइसक्नुपर्दछ । तर, त्यसका लागि काम हुन सकेको छैन । प्रधानमन्त्री निर्वाचनका लागि चिठी लेख्ने र नमुना मत हाल्ने काम मात्रै गर्दै आउनुभएको छ । यसले गर्दा सबैमा शंकाको अवस्था सिर्जना भएको छ ।

राज्य भनेको कसैको धाकधम्कीबाट चल्ने निकाय होइन, एउटा प्रणालीबाट चल्ने हो । प्रणाली भनेको मुलुकको संविधान र कानुनअनुसार चल्ने हो । तर, सरकारले त्यसो गरेको पाइएको छैन । गरेको भए यति बेला निर्वाचनको तिथी होइन निर्वाचन नै भइसक्ने थियो । उता सत्तामै रहेको कांग्रेस पार्टीको घुर्की पनि त्यति जायज देखि“दैन । यदि निर्वाचन गराउन सक्दैन सरकारले भने उसले सत्ताबाट हट्ने नैतिकता देखाइसक्ने थियो, त्यो पनि भइरहेको छैन ।

अर्कातर्फ मधेसवादी दलका नेताहरूको कुरा पनि जायज मान्न सकिँदैन । किनकि संविधान संशोधन नगरे आन्दोलन वा संविधान संशोधन गरे पनि वा नगरे पनि आन्दोलन भन्ने खालका बहुरुपी कुराहरू गरिरहेको अवस्था विद्यमान छ । संविधान आफू अनुकुल संशोधन गर्ने हो भने पनि पहिला त निर्वाचनमा नै जानुपर्छ । निर्वाचनमा दुई तिहाइ मत ल्याएर संविधान संशोधन गर्ने हो भने कसैले पनि उनीहरूको अजेन्डामा टाउको दुखाउने अवस्था आउ“दैन ।

त्यसैले सबै पक्ष एउटा प्रणालीगत र सर्वस्वीकार्य मान्यताबाट अघि बढ्नु जरुरी रहेको छ । निर्वाचनलाई खेलाँचीको रुपमा व्यवहार गर्ने काम नगरौं । जसरी हुन्छ पहिलो प्राथमिकता निर्वाचनलाई दिएर अघि बढ्नु जरुरी रहेको छ । यदि अब पनि निर्वाचनको तिथी घोषणा गरि“दैन भने सत्तामा रहेका दलहरू निर्वाचनमा जान डराइरहेको अर्थमा सबैले बुझ्नुपर्ने हुन्छ । को जनतास“ग जान डराइरहेको छ र किन डराइरहेको छ भन्ने कुराको हिसाबकिताब जनताले राखिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्