उपचार सहज बनाऊ



क्यान्सर एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने प्रकारको रोग हो । एक–आपसमा नसर्ने रोग भए पनि पछिल्लो समयमा नेपालसहित विश्वभर क्यान्सर रोगीको संख्या थपिँदै गएको छ । उपचारका लागि अस्पताल पुग्नेमध्ये धेरै महिलालाई स्तन र पाठेघर तथा पुरुषलाई फोक्सो, पेट र मुखको क्यान्सरको समस्या दोहोरिने गरेको चिकित्सकहरू बताउँछन् ।

मानव शरीरको केश र नङबाहेक अन्य सबै अंगमा क्यान्सर रोग संक्रमण फैलने जानकारहरूको भनाइ छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वार्षिक करिब साढे दुई करोड मानिसलाई क्यान्सर रोग संक्रमण देखिने गरेको छ भने करिब ८० लाख मानिसले क्यान्सर रोगकै कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ ।

नेपाल क्यान्सर रिलिफ सोसाइटीका अनुसार नेपालमा वार्षिक ३० हजारका हाराहारीमा क्यान्सरका नयाँ बिरामी थपिने क्रममा छन् । तथ्यांक यस्तो भयावह रहेका बेला शनिबार ‘हामी सक्छौं, म सक्छु’ भन्ने नाराका साथ विश्वभर सचेतनामूलक र अन्य कार्यक्रम गर्दै विश्व क्यान्सर दिवस मनाइएको छ । रोग पहिचान भएलगत्तै समयमा उपचार गरिएको अवस्थामा क्यान्सर रोगको निदान गरेर रोग संक्रमित व्यक्ति पूर्ववत् अवस्थामा फर्कन सक्ने चिकित्सकहरू दाबी गर्छन् । तर, नेपालको सन्दर्भ नियाल्नेहरू भने धेरै व्यक्तिले ढिलै गरी मात्र क्यान्सर संक्रमित भएको थाहा पाउने अवस्था छ ।

सूर्तिजन्य पदार्थ सेवन, बढ्दो आधुनिकता र आधुनिकताको देखावटीमा फेरिएको अन्सन्तुलित आहार, वातावरणीय प्रभाव, फलफूल र तरकारीमा बढ्दो विषादिको प्रयोग, वंशाणुगत प्रभाव जस्ता कारणले क्यान्सर रोगीको संख्या बढ्दो अवस्थामा रहेको चिकित्सकहरूको तर्क छ । स्वस्थ एवं सन्तुलित खानपान र नियमित शारीरिक अभ्यासलाई जोड दिइएमा क्यान्सर रोगथाम गर्न सकिने विज्ञहरूको सुझाव छ । तर, नेपालमा यस्तो रोगबारेको सचेतनामूलक कार्यक्रम ज्यादै न्यून हुने गरेको र भएका कार्यक्रम पनि दिवस आसपासमा मात्रै दोहोरिने गरेको यथार्थ हाम्रासामु छ ।

क्यान्सर रोगको निदान निकै जटिल र महँगो मानिन्छ । सेवाग्राहीको पहुँचमा स्रोत साधन सम्पन्न अस्पताल नहुँदा र भएका अस्पतालमा गुणस्तरीय प्रयोगशाला तथा दक्ष जनशक्ति नहुँदा धेरै सेवाग्राहीले समयमा समस्या थाहा नपाउने बाध्यता छ । रोगको निदानका लागि नेपालमा औषधी उत्पादन र यसबारेको पर्याप्त अध्ययन अनुसन्धान नहुँदा नेपाली सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने अवस्था छ ।

पाठेघर क्यान्सर लाग्नुअघि नै रोग संक्रमण फैलन नदिन कास्की र चितवनमा १५ वर्षभन्दा मुनिका किशोरीलाई लगाउन शुरू गरिएको भ्याक्सिन निष्प्रभावी भइरहेको छ । सो अभियानलाई देशव्यापी बनाउँदै सचेतनामूलक कार्यक्रम नियमित र प्रभावकारी बनाइयो भने पनि धेरैलाई राहत मिल्नेमा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्