नेपालमा क्यान्सर बढ्दै



नेपाल समाचारपत्र
काठमाडौं
नेपालमा पछिल्लो समय क्यान्सर लगायत नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। हालसम्म क्यान्सर हुनुको प्रमुख कारण के हो भन्नेबारेमा विश्वमै खोजको विषय भइरहेको अवस्थामा क्यान्सरको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।

क्यान्सर निकै महँगो र जटिल स्वास्थ्य समस्या हो। कतै तपाईंको बुद्धि बंगारा आउने बेलामा भएको घाउ निको नभएर क्यान्सरको रूप त लिएको छैन? क्यान्सर लागिसकेपछि यसका सेलहरू निर्मूल नहुने सम्भावना धेरै नै भएको क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरे बताउनुहुन्छ। क्यान्सर रोग लागिसकेपछि जरैदेखि उखेलेर फाल्ने या काटेर फालेपछि पलाउँदैन भन्ने सोच्नु गलत हो। क्यान्सर र आफ्नो शरीरको आफैंले पहिचान गरेर समयमै उपचार विधि अपनाउनुपर्ने उहाँको धारणा छ।

डा. घिमिरेका अनुसार क्यान्सर लाग्नाको खासै कारण अहिलेसम्म पत्ता लागेको छैन। तर पनि धूमपान, बोसोयुक्त पोलेको मासु, सेकुवा, सुकुटी, वातावरणीय प्रभाव, वंशाणुगत कारणले क्यान्सर गराउन मद्दत गरिरहेको पाइन्छ। क्यान्सर छिटो फैलने र एक ठाउँबाट अर्को ठाउँमा सर्ने रोग हो। मानव शरीरको नङ र कपालबाहेक सबै अंगमा क्यान्सर हुन्छ।

नेपालका कुनै पनि प्रयोगशाला (ल्याब) हरू क्यान्सर परीक्षणका लागि उपयोगी तथा गुणस्तरीय नभएकै कारण समयमै रोग पहिचान नहुने र पहिचान हुँदासम्म बिरामीको तेस्रो–चौथो स्टेजमा पुग्ने गरेको पाइएको डा. घिमिरे बताउनुहुन्छ। सन् २००३ देखि भरतपुर क्यान्सर अस्पताल हुँदै भक्तपुर क्यान्सर अस्पतालसम्म पुगी सयौं महिलाको क्यान्सरको शल्यक्रिया गरिसक्नुभएका डा. घिमिरे आफूले घण्टौं लगाएर शल्यक्रिया गरेका बिरामीको हेरविचार तथा फलोअपमा आफन्तले ध्यान दिन नसक्दा धेरैको ज्यान जाने गरेको सुन्दा दुःख लाग्ने बताउनुहुन्छ।

क्रियाशील महिला पत्रकारहरूको समूह डब्ल्यूडब्ल्यूजे र नेपाल क्यान्सर केयर फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा. घिमिरेले उक्त भनाइ राख्नुभएको हो। क्यान्सरका लागि गरिँदै आएको प्याप स्मेयर क्याम्प पूर्ण रूपमा रोक्नुपर्छ यो परीक्षणबाट सही रिपोट नै आउँदैन, त्यसैले गाउँ–गाउँमा परीक्षण शिविर सञ्चालन गर्ने समय र खर्चको नास गर्नु मात्र हो डा. घिमिरेले बताउनुभयो।

नेपालका महिलाहरूमा हुने क्यान्सरमा ब्रेस्ट क्यान्सर र पाठेघरको मुखको क्यान्सर धेरै भएको पनि डा. घिमिरेले जानकारी गराउनुभयो। यसको रोकथामका लागि सबैको एकता हुनुका साथै जनचेतनाको खाँचो रहेको कुरा उहाँले औंल्याउनुभयो। बे्रस्ट क्यान्सर हो वा होइन भन्ने कुरा महिनावारी भएको ४ देखि ५ दिनमा ऐनामा हेरेर या ओछ्यानमा सुतेर एउटा हात टाउकोको पछाडि राखेर, हात माथि उठाएर औंला र हत्केलाले दबाएर छामी पहिचान गर्न सकिने बताउनुभयो। उहाँले आफ्नो ब्रेस्ट आफैंले जाँचौं गाइनोकोलोजिस्टकोमा हैन सर्जनकोमा जाऊँ भन्नुभयो। आमाको दूध बच्चालाई नचुसाएकै कारण एक समय धेरै महिलामा बे्रस्ट क्यान्सर भएको पनि उहाँले बताउनुभयो।

सोही अवसरमा सांसद सीता गुरुङले पहिला पहिला डा. घिमिरेले पाठेघरको क्यान्सरको कुरा पुरुषको अगाडि गर्दा लाजले भुतुक्कै हुन्थे भन्दै छलफल त गर्न नसक्ने अवस्थामा निःशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालयले बजेट तय गर्ने त कुरै थिएन भन्नुभयो। यो जटिल समस्या हो भनी आफूहरूले बुझेर विगत ३ वर्षदेखि सांसद विकास कोषबाट तेह्रथुममा जनचेतनामूलक कार्यक्रमका साथै १ हजार जनामा भीआईए परीक्षण गरिसकेको बताउनुभयो। पाठेघरको क्यान्सर भएका कतिपय महिलाको पाठेघर खस्ने समस्या विकराल रहेको पनि उहाँले बताउनुभयो। यता स्वास्थ्यमन्त्रीले भने यो सेवा निःशुल्क र उ सेवा निःशुल्क भनिरहनुभएको छ खोई कहाँ छन् जनशक्ति र सेवा? अब यी विषयमा संसद्मै आवाज उठाउँछु, उहाँले भन्नुभयो।

डब्ल्यूडब्ल्यूजेका अध्यक्ष सुभेच्छा विन्दु तुलाधरले नेपाली महिलाहरूको स्वास्थ्य समस्या र क्यान्सर रोगका बारेमा जति सक्दो सबैले मिलेर जनचेतना जगाई समयमै उपचारको पहुँचमा पुग्न सघाउ पुर्याउनुपर्ने आजको आवश्यकता भएको कुरा औंल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्