ईपीजी सुस्त बैठक बस्नै सकेन



काठमाडौं, (नेस)
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)का पछिल्ला गतिविधि सुस्ताएका छन्। नेपालमा हुने तय भएको ईपीजीको तेस्रो बैठक स्थगित भएसँगै समूह सुस्ताएको हो।

गत पुस ७ र ८ गते पोखरामा हुने भनी तय भएको बैठक भारतीय पक्षले फागुन पहिलो साता हुने उत्तर प्रदेशको चुनावलाई मुख्य कारण देखाउँदै स्थगित भएपछि बैठकको अर्को मिति अझै तय हुन सकेको छैन।

तेस्रो बैठकका लागि भारतीय पक्षबाट अझै खबर नआएको समूहको नेपालतर्फका सचिवालय सचिव यादव खनालले बताउनुभयो।

‘द्विपक्षीय सल्लाह र सहमतिबाट बैठकको नयाँ मिति टुङ्गो लाग्ने हो, तर अहिलेसम्म खबर आएको छैन, खबर आएको भए हामीलाई तयारीमा जुट्न सजिलो हुने थियो।’ –उहाँले भन्नुभयो।

बैठकको नयाँ मिति तय नभए पनि द्विपक्षीय सम्बन्धसँग जोडिएका विविध विषय र विषयका जानकारहरूसँग परामर्श र राय सुझाव लिने काम जारी राखेकाले नेपाली पक्ष सुस्ताएको भन्न नमिल्ने समूहका पदाधिकारीहरूको तर्क छ। तेस्रो बैठकको तयारी र एजेन्डाका सम्बन्धमा समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ब्रिफिङ गर्ने तयारी गरेको समूहका एक सदस्यले बताए।

दुवै मुलुकबीच विगतमा भएका सन्धि, सम्झौता र सहमतिहरूको पुनरवलोकन गर्दै समयसापेक्ष सुधार परिमार्जन र सहकार्य गर्नका लागि राय तथा सुझाव दिन गत वर्ष गठन भएको समूहको कार्य अवधि २ वर्षको छ। समूहको पहिलो बैठक गत असार पहिलो साता काठमाडौंमा सम्पन्न भएको थियो भने दोस्रो बैठक असोज तेस्रो साता दिल्लीमा भएको थियो।

समूहमा नेपालका तर्फबाट पूर्वपरराष्ट्र मन्त्री डा. भेषबहादुर थापा संयोजक रहनुभएको छ। त्यसै गरी सदस्यहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय, पूर्वमन्त्री निलाम्बर आचार्य र नेकपा एमालेका सांसद डा. राजन भट्टराई सदस्य हुनुहुन्छ। भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी भारतीय पक्षका संयोजक हुनुहुन्छ भने सदस्यहरूमा नेपालका लागि भारतीय पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय बिसी उप्रेती र महेन्द्र पी लामा सदस्य हुनुहुन्छ।

नेपाली पक्षले आफ्नो काम कामकारबाही र गतिविधि जारी राखेकाले पोखरामा बैठक हुने गरी नेपाली पक्ष तयार रहेको र नेपालका तर्फबाट कुनै समस्या नभएको समूहका सदस्य निलाम्बर आचार्यले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्