फुटकर अपराधले प्रहरी हैरान



नेपाल समाचारपत्र
बाँके
बाँके प्रहरी फुटकर अपराधले हैरान भएको छ। लागूऔषधको दुव्र्यसनमा फसेका किशोर⁄युवाहरू चोरी, लुटपाट, तस्करमा लागेको प्रहरीको ठम्याइ रहेको छ।

बसपार्कमा रोकिराखेको बसको ब्याट्री चोर्नेदेखि घुम्तीपसल, घर, पसल फोर्ने र भारतबाट सामान तस्कर गर्नेमा यस्ता किशोर⁄युवाहरूको समूह सक्रिय रहेको छ। वडा प्रहरी कार्यालय, नेपालगन्जको पछिल्लो एकमहिने प्रतिवेदनमा पनि फुटकर अपराधमा ठूलो समूह सक्रिय रहेको देखिएको छ।

लामो समय रोकिएको साइकलगस्तीलाई पुनः शुरू गरेको वडा प्रहरीले गाउँगाउँमा गएर सोध्दा सबैजसोले गाउँमा लागूऔषध प्रयोगकर्ता किशोर⁄युवाहरूले होहल्ला गर्ने भएकाले प्रहरी बिटको माग गरेका छन्। प्रहरीले भरेको फारममा स्थानीयले प्रहरीको सक्रियता हुन सकेमा त्यस्ता किशोर⁄युवाहरू भाग्ने बताए।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी टेकप्रसाद राईको उपस्थितिमा एकमहिने कार्य समीक्षा गर्दै वडाका इन्चार्ज प्रहरी निरीक्षक राजन गौतमले फुटकर अपराधीको समूह ठूलो रहेकाले त्यसलाई नियन्त्रण गर्न लागिपरेको बताउनुभयो। भारतबाट ‘क्यारियर’ मार्फत् कपडालगायतका सामान मगाउने र नेपालगन्जमा सस्तोमा किनेर महँगोमा बेच्ने व्यापारीको समेत प्रहरीले खोजतलास शुरू गरेको छ। ‘क्यारियरहरूलाई समातेर किन्ने मान्छे पत्ता लगाउँदै छौं’, प्रहरी निरीक्षक गौतमले भन्नुभयो– ‘अब क्यारियरसँगै किन्ने व्यापारीलाई समेत कारबाही गर्छौं।’

विद्युत् चुहावट, जाँडरक्सी खाएर होहल्ला गर्ने, काठ तस्करी, गुण्डागर्दी, प्रतिबन्धित बोइलर कुखुरा आयात, कागजातबिना ट्याक्टर चलाउने र ओभरलोड बालुवा ल्याउनेसँगै नगर सरसफाइमा नगर प्रहरी जुटेको गौतमले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्