कूटनीतिक सक्रियता बढाऊ



विश्वको महाशक्ति राष्ट्र अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि नेपाल र विश्वसँगको अमेरिकी सम्बन्धमा अब कस्तो असर पर्ला भन्ने बारेमा चर्चा हुन थालेको छ । अघिल्ला राष्ट्रपतिले नेपालको तयारी पोशाकलाई सहुलियत दिने खालको ऐनमा आफ्नो कार्यकालको अन्तिम समयमा हस्ताक्षर गर्नुभएको थियो । तर अहिलेका राष्ट्रपतिले आफ्नो कार्यकाल शुरु भएको दिन गर्नुभएको घोषणामा अब अमेरिकाका लागि अमेरिकाले नै सबै थोक गर्ने, अन्यत्र ध्यान नदिने प्रस्ट पार्नुभएको छ ।

अमेरिकी उत्पादनलाई नै पहिलो प्राथमिकता दिने कुरा गर्नुले कतिपय नेपाली व्यवसायी चिन्तित हुन थालेका छन् । उहाँले अब अमेरिकाले अरुको सीमारक्षा गर्दै नहिँड्ने र आफ्नै सीमा मजबुत पार्ने बताउँदै आउनुभएको छ । कार्यभार सम्हालेपछि उहाँले दिनुभएको मन्तव्यमा पनि यही कुरा उल्लेख गरिएको छ । साथै आप्रवासीको सन्दर्भमा पनि उहाँले पहिलादेखि नै कडा नीति लिइँने बताउँदै आउनुभएको छ । उहाँका कतिपय अभिव्यक्तिलाई लिएर अहिले पश्चिमा दुनियाँमा महिलाहरू आन्दोलनमा उत्रिएको अवस्था पनि छ । तथापि जनमतको प्रयोगबाट नै उहाँ पदमा पुग्नुभएकोले ती आन्दोलन बिस्तारै सेलाउने निश्चित प्राःय छ ।
यद्यपि उहाँले बोलेअनुसार नै आफ्नो नीति अघि बढाउनुभयो भने त्यसले नेपालसमेत बाँकी विश्वलाई सकारात्मक तथा नकारात्मक दुवै असर पार्नेछ । नेपालको हकमा भने धेरैजसो नकारात्मक नै असर पर्न सक्छ । त्यो नकारात्मक अवस्थाको मूल्यांकन र त्यसबाट जोगिने अवस्था सिर्जना गर्नका लागि त्यसको आँकलन गरेर हाम्रो कूटनीतिक क्षेत्रले बुद्धि पुर्याउनु जरुरी रहेको छ । जस्तो कि अमेरिकामा जाने नेपाली तयारी पोशाकको बजारलाई त्यहाँको नयाँ नीतिले असर गर्यो भने त्यसको सट्टामा युरोपका कुनै देशमा त्यही अनुपातमा हामीले तयारी पोशाक पठाउने वातावरण बनाउन सकिन्छ कि सकिँदैन ? नेपालको विकासमा अमेरिकाले गर्दै आएको सहयोग रोकियो भने त्यसको के–कस्तो असर पर्छ र क्षतिपूर्तिका लागि के गर्न सकिन्छ ? त्यसबारेमा अहिले नै बेलैमा सचेत भएर कदम नचालिए पछि अप्ठेरो अवस्था सिर्जना हुनसक्छ । नेपालका दूतावास विश्वका केही दर्जन मुलुकमा रहे पनि त्यहाँ के भइरहेको छ भन्ने कुरा कसैलाई पनि जानकारी हुनसकेको छैन ।

केही मुलुकमा अझै राजदूत पद खाली छ भने भएका ठाउँमा पनि राजदूतहरूका गतिविधि शून्यप्रायः छन् । उनीहरूको मूल्यांकन गर्ने परिपाटी बनाइएको छैन । कुन राजदूतले कुन उच्चस्तरीय भ्रमण गराउन सक्यो, नेपालीलाई कति रोजगारी प्रवद्र्धन गर्न सक्यो, कति दुई पक्षीय सम्झौता गराउन सक्यो, भूकम्पपीडितका लागि कति सहयोग उठाउन सक्यो वा दुरूपयोग गर्यो ? नेपालको बारेमा प्रचारप्रसार गरेर कति पर्यटक भित्र्याउन सक्यो वा नेपाललाई कालो सूचीमा राख्नुपर्ने अवस्थामा पुर्यायो भन्ने बारेमा परराष्ट्र मन्त्रालयले मूल्यांकन गरी गलत काम गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने हो, तर त्यसो भएको पाइएको छैन । त्यसैले अन्य कुराका बाबजुद यस्ता कुराहरूलाई पनि ध्यान दिँदै कूटनीतिक गतिविधिलाई सक्रिय पारिएमा केही उपलब्धि हुनसक्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्