बन्ने नै भो त वन्यजन्तु उद्धार केन्द्र ?



टीका बन्धन
वन्यजन्तु उद्धार केन्द्रको आवश्यकता खट्किएको लामो समयपछि बल्ल केन्द्र निर्माण हुने टुङ्गो लागेको छ । भक्तपुरमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यान परिसरसँगै उद्धार केन्द्रसमेत निर्माण हुने भएको हो ।

निर्माणाधीन उद्यानको २ सय ४५ दशमलव १६५ हेक्टर क्षेत्रफलमध्ये १४ दशमलव २९ हेक्टर क्षेत्रफल वन्यजन्तु उद्धार केन्द्रका लागि छुट्याइएको वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ । भक्तपुरको सूर्यविनायक आसपासका सूर्यविनायक, सेतीदेवी, मन्थली, गौरादेवी, बालकुमारी, लिखानारायण, सञ्जिवनी सामुदायिक वनको जग्गा समेटेर प्राणी उद्यान निर्माण कार्य अघि बढाइएको छ । गत शुक्रबार मन्त्रालयले केन्द्रका लागि जग्गा छुट्याउने निर्णय गरेसँगै केन्द्र निर्माण हुने टुङ्गो लागेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त पहलमा केन्द्र स्थापना र सञ्चालन गर्ने बताइएको छ । विभागसँग प्राविधिक जनशक्ति र उद्धार कार्यमा प्रयोग हुने उपकरण नभएकाले कोषसँगको सहकार्य जरुरी भएको विभागका उप–महानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका र आसपासका मानव वस्ती र प्राकृतिक वासस्थानमा फेला परेका अपाङ्ग, घाइते, टुहुरा तथा समस्याग्रस्त वन्यजन्तु उद्धार गरी उपचार गर्ने, हुर्काउने र प्राकृतिक वासस्थानमा छोड्ने लक्ष्यका साथ केन्द्र स्थापनाको पहल अघि बढेको उहाँले बताउनुभयो । केन्द्र स्थापनाका लागि तत्काल ३० लाख रुपियाँ हाराहारीको बजेट विनियोजन भएको भट्टराईले जानकारी दिनुभयो ।

केन्द्रको अभावमा सदर चिडियाखानाका प्राविधिकले वन्यजन्तुको उद्धार र उपचार गर्दै आएका छन् । वन्यजन्तु प्राविधिकहरूको निगरानीमा राखिनुपर्ने, हेरचाह गर्ने अवस्थाका धेरै जीवजन्तु जावलाखेल नै पुर्याइन्छ । यसअघि सन् १९८९ मा राष्ट्रिय संरक्षण कार्यविधि तयार भएपछि मुलुकका विभिन्न स्थानलाई समेट्ने गरी राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा केन्द्र स्थापना गर्ने चर्चा धेरैपटक भए पनि कार्यान्वयन हुन सकेको थिएन ।

ललितपुरको गोदावरी, चितवनको कसरा, बाराको पर्सालगायतका स्थानमा केन्द्र स्थापना गर्नेबारे पटक–पटक सम्भाव्यता अध्ययनसमेत भएको थियो । ६ महिना अघि वन मन्त्रालयको सचिवस्तरीय निर्णयपश्चात गोदावरीको राष्ट्रिय मृग अनुसन्धान केन्द्रमा उद्धार केन्द्र स्थापनाको पहल अघि बढाइएको थियो ।

कूल १० हेक्टरका हाराहारीमा फैलिएको मृग अनुसन्धान केन्द्रको क्षेत्रफल साँघुरो हुने प्राविधिकहरूको ठहरपछि भक्तपुर रोजिएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले बताउनुभयो । ‘प्राणी उद्यान एकतिर उद्धार केन्द्र अर्कोतिर हुँदा व्यवहारिक हुँदैन भन्ने विज्ञहरूको सुझावसमेत आएकाले एकै ठाउँमा उद्यान र केन्द्र बनाउने टुङ्गो लागेको हो’ –उहाँले भन्नुभयो ।

विगतमा वन्यजन्तु उद्धार केन्द्र सञ्चालनका लागि आवश्यक कार्यविधि तयार नभएकाले पनि यसबारेको काम कारवाही अघि बढ््न सकेको थिएन । मन्त्री परिषद्को गत असोज तेस्रो साताको बैठकले वन्यजन्तु उद्धार एवं उद्धार केन्द्र व्यवस्थापन कार्यविधि स्वीकृत गरेसँगै ढिलै भए पनि केन्द्र स्थापनाको पहल अघि बढेको जानकारहरू बताउँछन् । केन्द्र सञ्चालनका लागि अल्पकालीन र दीर्घकालीन गुरुयोजना तयार गरेर काम कारबाही अघि बढाउने गृहकार्य भइरहेको प्रकृति संरक्षण कोषका सदस्य–सचिव गोविन्द गजुरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्